– प्रमिला कार्की,

ल्याटिन भाषाबाट उत्पत्ति भएको ‘नर्स’ शब्दको अर्थ ‘न्युट्रायर’ हुन्छ । शाब्दिक अर्थमा ‘नर्सिङ’ भनेको कुनै पनि अशक्त वा बिरामीको रेखदेख र स्याहार गर्ने पेसा हो । विश्वव्यापी रूपमा नर्सिङ पेसा अस्पतालमा मात्र सीमित नभई यो पेसा जनस्वास्थ्य स्तरमा पनि एक अपरिहार्य पेसा हो । अन्तर्राष्ट्रियस्तरमा महिला तथा पुरुष दुवैकोे सक्रिय सहभागिता रहे तापनि हालसम्म नेपालमा नर्सिङ पेसामा महिलाको मात्र संलग्नता रहेको पाइन्छ ।

विगत केही वर्षदेखि भने पुरुषले पनि औपचारिक रूपमा नर्सिङलाई पेसाको रूपमा अँगाल्न पाउने भएको छ । डाक्टरको सहयोगीको भूमिका निभाउनेदेखि लिएर अस्पताल प्रशासनिक कार्य तथा अन्य कार्यमा पनि नर्सले उत्तिकै दक्षताका साथ काम गरेको देखिन्छ । आफंै तनावमा रहेर पनि उच्चकोटीको स्याहार र अनुहारमा मधुर मुस्कानका साथ बिरामीका अगाडि प्रस्तुत भएर बिरामीको तनाव तथा पीडालाई कम गर्न सक्ने क्षमता भएका व्यक्ति हुन्छन्, नर्स ।

इतिहास नै कोट्याउने हो भने डाक्टर, वैद्यभन्दा पुरानो इतिहास बोकेको पेसा हो, नर्सिङ । १९औं शताब्दीपछि बल्ल नर्सिङ सुरु भएको अभिलेख भए तापनि यो पेसा अझै पुरानो रहेको कुरामा दुईमत भने छैन । ईसापूर्व फोब भन्ने क्रिश्चियन नर्सलाई विश्वको प्रथम नर्सको रूपमा चिनिन्छ । तथापि, इटालीकी फ्लोरेन्स नाइटिंगेलले यो पेसालाई सुव्यवस्थित बनाएको र डाक्टर नर्सबीचको पेसागत जिम्मेवारीको भिन्नतालाई उजागर गरेको श्रेय जान्छ ।

नेपालको परिवेशमा नर्सिङको इतिहास पश्चिमी इतिहासभन्दा नयाँ रहेको छ । प्रथम नेपाली नर्स, श्रद्घेय ल्हामु अमात्यले सन् १९५६ देखि नर्सिङ सुरु गर्नुभएको अभिलेख छ । ५० वर्षको यो अन्तरालमा नेपालमा नर्सिङ पेसाले ठूलै फड्को मारेको छ भने ५० वर्षमै अन्तर्राष्ट्रियस्तरको परिपक्वता पनि हासिल गरिसकेको छ । अहिलेको अवस्थामा स्वदेशमै अन्तराष्ट्रियस्तरको नर्सिङ शिक्षाको अवसर छ । प्रवीणता प्रमाण पत्रतहदेखि लिएर स्नाकोत्तर तहसम्म नर्सिङ अध्ययन अध्यापन हुँदै आएको छ । विगतमा औंलामा गन्ती गर्न सकिने नर्स जनशक्ति अहिले ४० हजारभन्दा माथि छन् । देशविदेशमा नेपाली नर्सको उल्लेखनीय रूपमा उपस्थिति रहेको छ । कतिपय विदेशी स्याहार केन्द्रमा नेपाली नर्सको नै सक्रिय सहभागिता छ ।

मानव समाजले कैयौंपटक महामारीको चपेटा भोग्नुपरेको इतिहास साक्षी छ । क्षयरोग, कुष्टरोगजस्ता त्यति बेलाका भयानक सरुवा रोगको सामना गर्नुपर्दा पनि मात्र नर्सले आफ्नो ज्यान जोखिममा राखेर त्यस्ता बिरामीको स्याहारमा लागि परेका थिए । समाजमा त्यस्ता रोगीलाई छुन पनि घिनाउने अवस्था थियो र उनीहरूलाई सामाजिक बहिष्कार गरिन्थ्यो । सन् १९१८ को स्प्यानिस् फ्लु भन्ने महामारीमा पनि नर्सको नै अग्रसरता रहेको थियो । महामारीको नियन्त्रण गर्ने योजना बनाउनेदेखि लिएर अग्रपंक्तिमा डटेर काम गर्नेमा पनि नर्सकै भूमिका थियो । त्यस्तै अनेकौं उदाहरणमा सार्स र मर्सजस्ता महाभारीमा समेत नर्सिङको उल्लेखनीय भूमिका थियो ।

कोरोना महामारीले अस्तव्यस्त बनाएको जनजीवनमा पनि नर्सको प्रशंसनीय योगदान रहेको छ । चीनबाट सुरु भई हाल विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीबाट नेपाल पनि अछुतो रहेन । तथ्यांकअनुसार नेपालमा हालसम्म ३० जनाभन्दा बढिले ज्यान गुमाइसकेका र १५ हजारभन्दा माथि संक्रमित रहको अवस्था छ । नेपालमा पृथक् रूपमा देखापरेको कोरोना संक्रमणले रोकथाम र व्यवस्थापनमा चुनौती नै खडा गरेको छ । सामान्यतया लक्षण नै देखानपर्ने भएकाले संक्रमणको जोखिम अति उच्च रहेको छ । नेपाली सामाजिक बनावट, कोरोनाप्रतिको न्यून जागरण र केही मात्रामा गलत धारणाले गर्दा यो संक्रमणलाई बढावा नै दिइएको हो । यसबेला स्वास्थ्यकर्मीमा पनि संक्रमणको दर उच्च रहेको छ । त्यसैले दक्ष जनशक्तिको अभाव हुन सक्ने परिस्थिति अवश्यंभावी देखिन्छ ।

त्यसैले, नर्सको भूमिका नेपालमा अपरिहार्य नै छ । कोरोना महामारीको व्यवस्थापनसम्बन्धी विशेष तालिमप्राप्त नर्सको आवश्यकता छ । कोरोना रोगकै उपचार अहिलेसम्म नभेटिएको अवस्थामा रोकथाम, रोग लागिसकेको बेला नर्सिङ सेवा नै अति उत्तम र एक मात्र उपाय देखिन्छ ।

नर्सिङ सेवाको जति व्याख्या गरे पनि अपुग नै महसुस हुन्छ । जनस्वास्थ्यका अभिन्न अंगका रूपमा उभिएको यो पेसा अहिलेको महामारीको व्यवस्थापनमा पनि उत्तिकै आवश्यक पेसा बनेको छ । तसर्थ, सरकारले नर्स जनशक्तिलाई विभिन्न किसिमको तालिम र सुविधा उपलब्ध गराई पूर्ण उपयोगमा ल्याउनु समय सान्दर्भिक देखिन्छ ।
(लेखक पेसाले नर्स हुन् ।)


तपाईको प्रतिक्रिया