– डा. भेषराज अधिकारी, 
मुलुकमा हुने राजनीतिक स्थायित्व र आर्थिक विकासका बीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ भन्ने कुरा राजनीतिक दलका भेला तथा बैठकहरू, राजनीतिक नेतृत्वका वाणीहरू, विकास एवं राजनीतिक अनुसन्धानका निष्कर्ष र सार्वजनिक सञ्चार माध्यममा निरन्तर दोहोरिइरहने विषय हो । एकदल वा निर्दलको नाममा निरंकुशता लादिएको परिवेशमा पनि राजनीतिक स्थिरता देखिन्छ र त्यहाँ विकासका गतिविधिहरू तीब्ररूपमा भइरहेका हुन्छन् । तर त्यहाँ विस्तारै खुल्ला समाजप्रति जनचाहना तीब्र बनेको, राजनीतिक असन्तुष्टि चुलिएको र विद्रोह भएको देख्न वा सुन्न पाइन्छ । त्यसलाई राजनीतिक व्यवस्थापन गर्न नसक्दा समाज नै छिन्न भिन्न भएको, जातीय हिंसा भड्केको र विभिन्न नाममा हिंसात्मक गतिविधिहरू तीब्र बनेको देखिन्छ । फलतः त्यस प्रकारको असामान्य अवस्थाले विकासको प्रतिफल उपभोग गर्नबाट जनता बञ्चित हुन्छ ।

आफ्नो देशको विशिष्टतामा बहुदलीयता र बहुलवादलाई आत्मसात गर्दै लोकतान्त्रिक विधि र प्रक्रियालाई अवलम्बन गरेर आर्थिक गतिलाई तीब्रता दिन नै राष्ट्रहरू अग्रसर हुने प्रवृत्ति भू–मण्डलीकरणको वर्तमान परिवेशमा देखिएको छ । नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । त्यसो त यहाँ प्रजातन्त्रको विजारोपण भएको सत्तरी वर्ष वितिसकेको छ । यस बीचमा तीस वर्ष निरंकुशता लादियो र संयुक्त जन–आन्दोलनको परिणामस्वरूप बहुदलीय राजनीतिक व्यवस्था लागू भयो र निकट विगतमा संघीय लोकतान्त्रिक गणतन्त्र पदार्पण भएर त्यसको सुदृढीकरण अभियान जारी छ । पछिल्लो पटक नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अपनाएर विकासको पथलाई सहज, सरल र सुन्दर बनाउने जायज आकांक्षा सँगालेको हो ।

हाम्रो देशमा अभूतपूर्व जनसहभागितामा सम्पन्न शान्तिपूर्ण आन्दोलनले ठूलो राजनीतिक परिवर्तनतर्फको गन्तव्यलाई हौसला प्रदान गरेको थियो । जननिर्वाचित संविधान सभाद्वारा निर्मित संविधान जारी भएपछि संघीय लोकतान्त्रिक गणतन्त्र संवैधानिक रूपमा संस्थागत भई विभिन्न तहका जनप्रतिनिधिमूलक संस्थाहरू गठन भइसकेका छन् । केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को करिब दुई तिहाई बहुमत नजिकको सरकार गठन भएको छ भने ७ मध्ये ६ वटा प्रदेशमा उसकै नेतृत्वमा बनेका सरकारहरू सञ्चालित छन् । विकास निर्माणको आधारको रूपमा रहेको र लोकतन्त्रको जग ठानिएको बोलिचालीमा घरदैलोको सरकार भनिने स्थानीय तहमा समेत सोही दलका जनप्रतिनिधिको बाहुल्यता रहेको छ । अर्थात् निर्वाचन भएका सबै प्रतिनिधिमूलक निकायमा नेकपाको सघन र बलियो उपस्थिति छ । शिशु अवस्थामा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सृदृढ बनाउने र विकास निर्माण प्रक्रियालाई सशक्त तुल्याउने गहन परीक्षामा नेकपा अग्रसर बनिरहेको छ । यस्तो युगीन जिम्मेवारी र दायित्वलाई उक्त पार्टीले कसरी सम्पादन गर्दछ त्यसैमा उसको भविष्य निर्भर हुनेछ भन्दा अतिशयोक्ति हुँदैन ।

पट्यारलाग्दो राजनीतिक संक्रमणकाल र त्रासदीयुक्त हिंसात्मक द्वन्द्वले आजित भएका नेपाली जनताले दिगो शान्ति, स्थिरता र आर्थिक समृद्धि चाहेका छन् । यसमा कहि कतैबाट पनि तुषारापात हुन नदिनु राजनीतिक दलहरूको दायित्व हुनआएको छ । लोकतन्त्रमा प्राप्त हुने राजनीतिक स्थिरतामा विकासको गतिलाई तीब्रता दिनसक्ने क्षमता हुने भएकाले आर्थिक समृद्धिप्रति जनअपेक्षा स्वाभाविक पनि हो । जनचाहनाप्रतिको उपेक्षा र उदासिनताले राजनीतिक दलको लोकप्रियतामा मात्र कमि ल्याउँदैन कि समग्र राजनीतिक प्रणलीप्रति नै वितृष्ण फैलिने संभावना रहन्छ । यस पक्षलाई गहिरोसँग आत्मसात गरी राष्ट्रिय राजनीतिका चालक शक्ति राजनीतिक दलहरूले आ–आफ्नो गच्छेअनुसार चुनावका बेला गरेका बाचा र आश्वासनलाई पूरा गर्न भरमग्दुर कोशिस गर्नु नै परिवर्तनप्रतिको गहिरो स्वीकारोक्ती हो । यसप्रति अझ बढि दायित्व सत्तारुढ नेकपाको हुनु स्वाभाविक हो ।

राजनीतिक अस्थिरता भनेको विभिन्न राजनीतिक दलहरूको द्वन्द्व र अस्वस्थ प्रतिस्पर्धाले अवधि नपुगी निर्वाचित सरकार ढल्ने वा नियमित काम गर्न नसक्ने अवस्था उत्पन्न भएको परिवेश हो । आर्थिक समृद्धि र राजनीतिक स्थायित्वबीच गहिरो अन्तरसम्बन्ध हुने भएकाले असहजरुपमा सरकार परिवर्तन हुनासाथ विकास प्रक्रियामा धक्का पुग्दछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहको लगानीमैत्री वातावरण खलबलिन्छ । तर राजनीतिक स्थायित्वले पूँजी निर्माण, श्रम, बचत र लगानीको अवसर सिर्जना गर्ने भएकाले विकासले गति लिन्छ ।

राजनीतिक स्थायित्वले शक्ति पृथकीकरणको सिद्धान्तलाई व्यावहारिक रूपमा सुदृढ पार्दै राज्यका तीन वटै अङ्गहरू व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाबीचको सम्बन्धलाई सुमधुर तुल्याउँछ । राजनीतिक अस्थिरताले स्वतन्त्रता र सिर्जनात्मकतालाई निरुत्साहित गर्दछ । यसबाट राज्यको शक्ति सन्तुलनमा नै प्रतिकूल प्रभाव पर्दछ । राजनीतिक अस्थिरताको एउटा ठूलो दुर्गुण भनेको भ्रष्ट्राचार मौलाउने अवस्था उत्पन्न हुनु पनि हो । यसबाट सुशासनमा प्रतिकूलता थपिन्छ र विभिन्न निकायमा ढिलासुस्ती र सार्वजनिक सेवाप्रवाहमा बाधा अवरोध उत्पन्न भएर जनआक्रोस सघन हुन्छ । राजनीतिक अस्थिरताले समाजमा अनुशासनहिनता बढाउने र नैतिकतामा ह्रास ल्याउने भएकाले सार्वजनिक प्रशासनका कामकारवाहीहरूमा प्रतिकूल प्रभाव पार्दछ ।

राजनीतिक दलहरू लोकतन्त्रका आभुषण मात्र होइनन् ती सक्रियता, सिर्जना र संकल्पका पथप्रदर्शक हुन् । दार्शनिक र सैद्धान्तिक आधारमा स्थापित र विकसित हुने राजनीतिक दलले सिङ्गो पार्टीगत संरचनालाई वैचारिक मार्गदर्शनमा हिँडाउन सक्दा नै नेता तथा कार्यकर्तामा असल आचरण र नैतिकता अभिबृद्धि गर्दै निर्दिष्ट लक्ष्य हासिल गर्न मद्दत पुग्दछ । अन्यथा दलको पंक्तिले बाटो बिराउँछ र अराजक झुण्डमा परिणत हुन्छ । यस प्रवृत्तिले मुलुकको राजनीतिक स्थायित्वमा नै गंभीर नकारात्मक असर पुर्याउँछ । त्यसैले पार्टीले नियमितरूपमा प्रशिक्षण तथा तालिम दिएर कार्यकर्तालाई अनुशासित र आदर्शयुक्त बनाउने निरन्तर प्रयास गरिरहनु पर्दछ । दलका नीतिलाई नवीकृत गर्न नियमित अधिवेशन तथा महाधिवेशनहरू आयोजना गर्नुपर्ने हुन्छ ।

देशको राजनीतिक पद्धति र प्रक्रियाको प्रतिविम्ब अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र मामिलामा पनि पर्दछ । अस्थिर राजनीतिक अवस्थाले राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामाथि नै चुनौति थपिदिन्छ । यस देशले क्रमशः अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो भूमिकालाई विस्तारित तुल्याउँदै लगेको छ । अहिले नै विश्व परिदृष्यमा निर्णायक प्रभाव पार्नेगरी भूमिका निर्वाह गर्न सक्नेगरी नै त यसले आफूलाई विकसित गर्न सकेको छैन । तर यो भूमि दुई ठूला र शक्तिशाली देशहरूबीच एउटा रणनीतिक महत्वको स्थानमा रहेकाले यहाँको राजनीतिक अस्थितरताको मौका छोपेर हाम्रो देशका वैदेशिक तथा अन्तर्राष्ट्रिय मामिलाका नीतिहरूलाई कमजोर पार्ने प्रयासहरू हुन सक्दछन् । त्यसैले राजनीतिक स्थिरता कायम गर्दै असंलग्न परराष्ट्र नीतिको मार्गदर्शनमा अघि बढ्नु नै सधैँ यस देशको हितमा हुनेछ । कहिल्यै पराधीन बन्नु नपरेको सार्वभौमसत्ता सम्पन्न राष्ट्रको नाताले पारस्परिक हितका आधारमा विकासका साझा प्रयासहरू अगाडि बढाउन अग्रसर हुनु हाम्रो परराष्ट्र नीतिको मर्म हुनु पर्दछ । राजनीतिक स्थायित्वबाट त्यस दिशामा हिँड्न मद्दत पुग्दछ ।

बहुदलीय परिपाटी र बहुलतामा दलहरूबीच स्वस्थ्य प्रतिस्पर्धा गर्दै विकासको गतिलाई तीब्रता दिने ढंगले कार्य गर्नु राजनीतिक दलको जिम्मेवारी हो । दलहरूबीच विकासप्रतिका विविध दृष्टिकोण हुँदा हुँदै पनि आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रका साझा विषयहरू पहिल्याएर त्यसका आधारमा आर्थिक समृद्धिको यात्रालाई चलायमान बनाउनु सबै दलहरूको दायित्व हो । एउटा दलको असफलताले अर्को दलको सफलता हुन्छ भन्ने ठान्नु गलत दृष्टिकोण हो । सत्तारुढ दलको सफलतामा विपक्षी दलहरूको अझ बढि सफलता जोडिएको हुन्छ भन्ने धारणा विकास हुन सक्दा नै राजनीतिक स्थिरतातर्फको यात्रा अगाडि बढ्छ । यसै देशको दृष्टान्त हेर्ने हो भने पनि एउटा दलको असफलताले अर्को दललाई फाइदा पुगेको छैन बरु लोकतान्त्रिक प्रणालीमाथि नै प्रहार भएको छ र बहुदलीयता खोसिएको छ । मुुुलुकको आर्थिक विकासको सापेक्षतामा नै सत्तारुढ दल मात्र होइन सबै दलको सफलता खोज्नु पर्ने मान्यतालाई आत्मसात गर्दै अघि बढ्नु आवश्यक छ । राजनीतिक अस्थिरताले दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी भड्कावलाई मलजल पुग्ने भएकाले प्राप्त उपलब्धीलाई रक्षा र थप सुदृढ तुल्याउन सबै राजनीतिक दलहरूले राजनीतिक स्थिरता कायम गर्न पहल गर्नु पर्दछ ।

मुलुकमा राज्य पुनःसंरचनासहित संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानले आत्मसात गर्दै समाजवादउन्मूख अर्थतन्त्र निर्माण गर्ने परिकल्पना गरेको छ । यसलाई साकार तुल्याउनु नेपालका सबै राजनीतिक दलहरूको गहन जिम्मेवारी हो । समाजवादउन्मूख अर्थतन्त्र निर्माण संवैधानिक मार्गदर्शन भएकाले त्यो पूरा गर्न राजनीतिक स्थिरता आवश्यक रहेको छ । यो महान दायित्व हासिल गर्न मुलुकमा राजनीतिक स्थायित्व कायम नभई संभव छैन । बलिदानीपूर्ण संघर्षद्वारा हासिल भएको ऐतिहासिक राजनीतिक उपलब्धीलाई सुदृढ पार्न न्याय र समानतामा आधारित राष्ट्रिय पूँजीको विकास गर्नु अपरिहार्य छ । यसबाट नै मुलुकलाई समाजवादी दिशामा परिचालित गर्न सकिन्छ । मुलुक यसै दिशातर्फ जुर्मुराएको बेला अप्रत्याशितरूपमा विश्वव्यापि कोरोना महामारीको संक्रमणले हाम्रो देश पनि प्रभावित बनेको छ । कृषि, उद्योग, वाणिज्य तथा व्यापारजस्ता अर्थतन्त्रका विविध आयामहरू साँघुरिका छन् र यस महामारीको पीडाबाट मुक्त हुन समेत सबै राजनीतिक दलहरू दिगो राजनीतिक स्थायित्व हासिल गर्न दत्तचित्त बन्नु पर्दछ । विनासकारी भूकम्पले थङ्थिलो पारेको यस देशलाई कोरोना सरुवा रोगले समेत प्रताडित पार्दा ठूलो धनराशी र जनशक्ति विपत्ति र संकटमा खन्याउनु परेको छ । यसबाट पार पाउन पनि दलहरूका बीचमा साझा सहमति कायम गर्दै राजनीतिक स्थायित्व सुदृढ पार्न अग्रसर बन्नु पर्दछ ।

राजनीतिक अस्थिरता यस्तो पासो हो जसले राजनीतिक जीवन र वातावरणलाई नराम्ररी प्रभावित तुल्याउँछ । दलका नेता तथा कार्यकर्ताको श्रम र सिर्जना अनुत्पादक क्षेत्रमा खर्च हुन्छ । तनाव र दबावमै नेता तथा कार्यकर्ताको दैनिकी चल्दछ । राजनीतिक संस्कृति निर्माणमा समेत प्रतिकूलता खडा हुन्छ । अस्थिरताले मुलुकलाई असफलताको दिशातर्फ धकेल्छ । त्यसैले मुलुक सफल हुने दिशामा पहलकदमी लिनु नै सबै दल, नेता र कार्यकर्ताको साझा दायित्व हो ।


तपाईको प्रतिक्रिया