काभ्रे (धुलिखेल) – भूकम्प गएको पाँच वर्षमा जिल्लामा ६२ प्रतिशतले निजि आवास पुन निर्माण सम्पन्न गरेको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन कार्यालय काभ्रेले जनाएको छ ।

इकाईका अनुसार अब जिल्लामा ३८ प्रतिशत निजि आवास पुनःनिर्माण हुन बाँकी रहेको छ । निजि आवास पुनःनिर्माण हुन बाँकी रहेका भूकम्प प्रभावित लाभग्राहीहरुलाई चाँडै निर्माण सम्पन्न गराउन इकाईले आग्रह गरेको छ । आवास पुनःनिमार्णका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिएको समय सिमा सकिन लागेकाले लाभग्राहीहरुलाई समयमा नै आवास पुनःनिर्माण सम्पन्न गर्न आग्रह गरिएको इकाईका सूचना अधिकारी गणेश घिमिरेले बताए ।

भूकम्प प्रभावित लाभाग्राहीलाई समय सिमामा नै आवास पुनःनिर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘छुट तथा पुनःनिर्माण जाँच सर्वेक्षण २०७५/०७६ बाट लाभग्राही कायम भएकाहरुले २०७६ चैत्र मसान्त सम्ममा अनुदान सम्झौता गरी पहिलो किस्ता लिइसक्नुपर्ने, २०७६ को माघ मसान्तमा पहिलो किस्ता लिएका लाभग्राहीले २०७७ असार मसान्त सम्ममा दोस्रो किस्ता लिइ सक्नुपर्ने र सम्पूर्ण लाभग्राहीले निजी आवास पुननिर्माणको तेस्रो किस्ता २०७७ मसिंर मसान्तसम्म लिइ सक्नुपर्नेछ ।’

अहिलेको समयमा लकडाउनले गर्दा लाभग्राहीलाई आवास पुनःनिर्माणमा समस्या देखिएको इकाईका सूचना अधिकारी गणेश घिमिरेले बताए । उनका अनुसार यो समस्या सहरमा देखिएपनि गाउँघरमा भने अझै पनि निर्माण कार्य जारी नै छ । तुुलानात्मक रुपमा गाउँमा पुनःनिर्माण धेरै सम्पन्न भएका छन् । ‘हाल यो समस्या देशभर नै छ,’ उनले भने, ‘तरपनि लाभग्राहीले समय सिमामा नै पुनःनिर्माण सम्पन्न गर्नुपर्ने हुन्छ ।’
जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेले सार्वजनिक गरेको पछिल्लो तथ्याङक अनुसार जिल्लामा अहिले ८४ हजार ४ सय ८६ भूकम्प पीडित लाभग्राहीको सूचीमा परेका छन् । जसमध्ये ७७ हजार २ सय ५ अर्थात ९१ प्रतिशत भूकम्प पीडितले नेपाल सरकारले प्रदान गरेको अनुदान स्वरुप पहिलो किस्ताको अनुदान प्राप्त गरेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेले जनाएको छ ।

इकाईका अनुसार जिल्लाका भूकम्प पीडितको लाभग्राहीमध्ये ६२ हजार १ सय ६५ अर्थात ७४ प्रतिशतले दोस्रो किस्ताको रकम लिएर आवास पुर्ननिमार्णको काम अगाडी बढाएका छन् । त्यस्तै ५३ हजार २ सय ९ लाभग्राही अर्थात ६२ प्रतिशतले अनुदानको तेस्रो किस्ता लिई आवास पुर्न निर्माण सम्पन्न गरेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

 

२०७२को भूकम्पले काभ्रेको मण्डन देउपुर नगरपालिकामा सबैभन्दा धेरै क्षति गराएको थियो । जहाँ ७४ प्रतिशतले तेस्रो किस्ताको रकम लिएर पुर्न निर्माणलाई सम्पन्न गराएको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेले जनाएको छ । आवास पुनःनिर्माणमा जिल्लाका दुई स्थानीय तह, भुम्लु र महाभारत गाउँपालिका अग्र स्थानमा रहेका छन् । दुवै स्थानीय तहमा ८१ प्रतिशत आवास पुनः निर्माणको काम सम्मपन्न भएको छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेको अहिलेसम्मको तथ्याङकलाई हेर्दा नमोबुद्ध नगरपालिकामा आवास पुर्न निर्माणले गति लिन सकेको छैन । जहाँ हालसम्म जम्मा ५० प्रतिशतले मात्र पुनःनिर्माण सम्पन्न गरेका छन् । त्यस्तै जिल्लाको धुलिखेल, बनेपा र पनौती नगरपालिका पनि आवास पुनःनिर्माणमा पछि परेको इकाईको तथ्याङ्कले देखाउँछ । धुलिखेल नगरपालिकामा ५२ प्रतिशत, बनेपा नगरपालिकामा ५४ प्रतिशत र पनौतीमा ५५ प्रतिशतले मात्र तेस्रो किस्ता लिई निर्माण सम्पन्न गरेको तथ्याङकमा उल्लेख छ ।

त्यस्तै तेमाल गाउँपालिकामा ६५ प्रतिशत, बेथानचोक गाउँपालिकामा ६२ प्रतिशत, चौरीदेउराली गाउँपालिकामा ६७ प्रतिशत , खानीखोला गाउँपालिकामा ६८ प्रतिशत, पाँचखाल नगरपालिकामा ६४ प्रतिशत र रोशी गाउँपालिकामा ६० प्रतिशत आवास पुनःनिर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेले जनाएको छ ।


तपाईको प्रतिक्रिया