काभ्रे (बनेपा) – ट्राफिक नियम उल्लंघन गर्दै अव्यवस्थित पार्किङ गरेका सवारीलाई जिल्ला ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सोमबार बनेपाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरि अव्यवस्थित पार्किङ गरेका चार पाङग्रे १० वटा सवारीलाई नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।

अव्यवस्थित पार्किङ गरिएका सवारीसाधनले सडकमा आवतजावत गर्न समस्या भएको भन्दै सर्वसाधरणले गुनासो गरेपछि सोमबारबाट कार्वाही गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बिशाल तामाङले बताए । उनका अनुसार यससँगै लकडाउनको समयमा निजी सवारी साधनले चर्को शुल्कमा यात्रु ओसारपसार गरेको जानकारी पाएपछि, ती सवारीलाई पनि नियन्त्रणमा लिएका छौँ ।

अव्यवस्थित पार्किङ गरिएका सवारीलाई २ घण्टा होल्ड गरी चालकलाई २० मिनेट ट्राफिक नियम सम्बन्धि कक्षामा सामेल गराइएको कार्यालय प्रमुख तामाङले जानकारी दिए । ‘पहिलो चरणका लागि नियन्त्रणमा लिएका सवारीलाई १ हजार रुपैँया जरिवाना गराएका छौँ,’ उनले भने, ‘ट्राफिक नियम उल्लंघन गर्दै फेरि पनि अव्यवस्थित सवारी पार्किङ गरेको पाइएमा थप कडा कावार्ही गरिनेछ ।’ त्यस्तै, निजि सवारीले चर्को भाडामा यात्रु ओसारपसार गरेको पाइएमा पनि त्यस्ता सवारीलाई पनि कडा कावार्ही गरिने कार्यालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया