काभ्रे (धुलिखेल) – यस वर्ष धान दिवस अघि नै जिल्लाका ४० प्रतिशत किसानले रोपाइँ सकेको कृषि ज्ञान केन्द्र काभ्रेले जनाएको छ ।

यस वर्ष समयमा नै वर्षात भएकाले अघिल्लो वर्षको तुलनामा १० प्रतिशत रोपाइँ चाँडै सकिएको केन्द्रका सूचना अधिकारी थर्क जि.सीले बताए ।

उनका अनुसार दुई बाली लगाउने किसानले बाली भित्र्याउन नभ्याएका किसान र समयमा नै वर्षा भएपनि बिउ ढिला राखेका किसानको मात्रै रोपाइँ गर्न ढिला भएको हो ।

आउँदो सातासम्ममा जिल्लामा ६० प्रतिशत रोपाइँ सकिने अनुमान गरिएको सूचना अधिकारी जि.सीले जानकारी दिए । जिल्लाको कुल क्षेत्रफलको १ लाख ४० हजार ४ सय ८६ हेक्टर क्षेत्रफलमध्ये ६१ हजार ५ सय ९४ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको छ ।

कुलक्षेत्रफलको ११ हजार ५ सय हेक्टर मध्ये असार १५ गतेसम्ममा ५ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार विशेष गरेर जिल्लामा मकवानपुर–१, खुमल – ४, खुमल – १०, खुमल –११, खुमल –१३, सावित्री लगायतका प्रजातिका धान लगाइने गरिन्छ ।


तपाईको प्रतिक्रिया