काठमाडौं – नेपाली आकाशमा आज खण्डग्रास सूर्यग्रहण देखिनेछ । आज लाग्नेग्रहण वलय सूर्यग्रहण भए तापनि नेपालबाट खण्डग्रास मात्र देख्न सकिनेछ ।

कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादून, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिन्छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिनेछ । नेपालकै भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिन्छ भने काठमाडौंबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने खगोलविद्को भनाइ छ ।

चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन भने सूर्य ग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्ने हुन्छ । यदि मानिसको आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन सक्छ । त्यसैले सूर्यग्रहणलाइ नांगो आखाले हेर्न नहुने वैज्ञानिकहरुको भनाइ छ ।

सूर्यग्रहण नेपालबाट बिहान १० बजेर ५५ मिनेटबाट शुरु भई अपरान्ह २ बजेर २३ मिनेटमा समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । मध्यान्हको १२ बजेर ३८ मिनेटमा ग्रहणको मध्य हुँदा सूर्यलाई करिव ८८ प्रतिशत ढाकेको देखिने छ भने वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुनेछ । संपूर्ण ग्रहण अवधि ३ घण्टा ३३ मिनेटको रहने छ ।


तपाईको प्रतिक्रिया