– केशवराज पौडेल, काभ्रेपलाञ्चोक

आँखाकै अगाडी स्काभेटर र डोजरले
निर्लज रुपमा खोला र पहाड माथि कोपरी रहँदा
न म बोल्न सक्छु न त खबरदारीनै ।

किसानले दश नंग्रा खियाउँदै
आफ्नै रगत सिंचित गरेर उमारेको तरकारी
नबिकेर खेतमै कुहिदाँ
मेरा ओठहरु मौन हुन्छन् ।

जंगलमा बन्दुक बोकेर अमूल्य जनावर
मार्न जाँदै गरेको सिकारीलाई मेरो हातले रोक्न सक्दैन ।
मेरो मुखले पख भनेर भन्न चाहदैन ।

अखबारका पहिलो पानामा आफ्नौ छोरीलाई
बलात्कार गरेको भन्दै समाचार छापिदा
मेरो मनले त्यो बालिकामाथि कस्तो असर पारेको
छ भनेर एक चिम्टी पनि सोच्दैन ।

एउटा सन्काहले सनकै भरमा
पाँचजनाकै एउटै चिहान बनाउँदा
मेरो मनले एक पटक पनि
बिचरा भनेर सोच्दैन ।

किन सोचेन मेरो मनले, यो प्रश्न म आफैलाई बारम्बार
सोधिरहन्छु ।
मैले कालो धन लुकाएर स्काभेटर र क्रसरमा लगानी गरेको छु
त्यसैले मेरो खोला पुरिदा
डाडाँ हराउँदा मलाई चिन्ता छैन ।

पैसाको आडम्बरले मेरो आँखा पुरिएका छन् ।
किसानको दश नङ्ग्रा खियाएको मलाई वास्तानै छैन ।
सिकारीले सिकार गर्न जाँदा जंगली जनावरको सार्पाको
स्वाद मेरो जिब्रोमा गाडिएका छन् ।

अखबारको पानामा मैले त्यो बालिकालाई
मेरो आफन्तसँग जोडेको छैन ।
त्यो सन्काहलाई मैले उसकै समस्याको रुपमा हेर्न थालेको छु ।

त्यति मात्रै कहाँ हो र ?
सबै घटनालाई मैले मेरो थरसँग जोड्न थालेको छु
रंङ्गसँग जोड् थालेको छु, भुगोलसँग जोड्न थालेको छु ।
त्यतिमात्रै नभएर दलसँग जोड्न थालेको छु ।
तब त म क्रमिक रुपमा स्खलित हुँदै मानवबाट क्रमशः झोलेको रुपान्तरण हुन थालेको छु ।


तपाईको प्रतिक्रिया