काभ्रे (बनेपा) – लकडाउनको अवधिमा निर्माण ढुवानी सवारी सञ्चालनमा आएसँगै जिल्लामा ट्रिपर आतंक फेरि मच्चिएको छ ।

ट्रिपर चालकको लापरवाहीले गर्दा स्थानीयमा फेरि उस्तै त्रास भएको छ । सरकारले ट्रिपर सञ्चालनको लागि रातको ८ दखि बिहानको ५ बजेको समय निर्धारण गरेको छ । रातको समयमा ट्रिपर चालकले अनावश्यक रुपमा प्रेसर हर्न बजाएर निदाउन नदिएको राजमार्ग आसपास बसोबास गर्नेहरुले गुनासो गरेका छन् । दिउँसो तिब्र गतिमा गुड्ने र रातमा प्रेसर हर्न बजाएर दुःख दिएको स्थानीयको गुनासो छ ।

जनस्तरबाट यस्ता गुनासो आएसँगै जिल्ला ट्राफिक प्रहरीले सवारी चेकजाँच कडाई गर्नुको साथै प्रेसर हर्न बजाउने सावरीलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बिशाल तामाङले बताए । उनका अनुसार लक डाउन अघिदेखि नै त्यस्ता सवारीको अनुगमन भइरहेको र प्रेसर हर्न राखिएका सवारीको हर्न निकालिएका थियौँ । तर अहिले गुनासो बढेपछि अनुगमनमा कडा गरेका छौँ ।

स्थानीयको गुनासो बढेसँगै हिजोबाट सवारीको प्रेसर हर्न निकाल्ने कार्य भइरहेको उनले जानकारी दिए । ‘हिजो राती मात्र हामीले ९५ वटा ट्रिपरलाई नियन्त्रणमा लिएका थियौँ,’ उनले भने, ‘नियन्त्रणमा लिएका सबै ट्रिपरको प्रेसर हर्न निकाल्नुको साथै ट्राफिक नियम अनुसार कारवाही गरेका छौँ ।’ अहिले प्रेसर हर्न अनुगमनको लागि जिल्लाको प्रमुख नाका मंगलटार, भकुण्डे, काभ्रे भञ्ज्याङ, दोलालघाट, पाँचखालमा चेकजाँच कडाइ गरेको प्रमुख तामाङले बताए ।


तपाईको प्रतिक्रिया