• सबिन अधिकारी, बनेपा

कुनै पनि अवस्था बाट विचार पैदा हुन्छ । त्यो अवस्थाले नकारात्मक र सकारात्मक प्रभाव पार्छ । निरासावादी व्यक्ति हरेक अवसरमा समस्या देख्छ, तर आसावादी व्यक्ति भने हरेक समस्यामा अवसर देख्छ । यो कुराले समस्या र अवसर भन्ने कुरा पनि अरू केही नभएर मानिसको सोचाइ मात्र हो भन्ने कुरा देखिन्छ । भनिन्छ नि समस्या मान्छेलाई लडाउन होइन, बरु उठाउन आउँछ । त्यसैले समस्या आउँदा खुट्टा लुलो होइन, दह्रो बनाउनुपर्छ ।जसले सकारात्मक सोच राख्दछ ।उसले कुनै पनि अवस्थालाई सहस्र स्विकार गर्छ त्यस अवस्थाप्रति सन्तुलित रहन्छ । समस्यालाई सानो देखेर आफुलाई त्यसप्रति ठूलो वनाइयो भने सबै भन्दा सजिलो सकारात्मक हुने उपाय रहन्छ ।

एउटा नेपालीमा उत्ति छ ,”जस्तो अन्न त्यस्तै मन । जस्तो मन त्यस्तैे तन ।”यसबाट के प्रष्ट हुन्छ भने हामीले खाएको खाना जस्तो छ ।हाम्रो विचार वा मन पनि त्यस्तै हुन्छ । हाम्रो विचार जस्तो बन्छ । त्यहि अनुरुपको शरीर बन्छ । खप्पतड बाबाले भनेका छन् -“विचार बाण सरह हुन्छ ।” जोसँग सकारात्मक सोच छ । ऊ नै सफलताको शिखर चुम्दछ । जोसँग सकारात्मक सोच छैन, ऊ भाग्यलाई दोष दिएर टाउकोमा हात लाएर दिन गुजार्छ । एउटै विद्यालयमा एउटै कक्षामा पढेका सकारात्मक सोच भएका विद्यार्थीहरू भविष्यमा नेतृत्वको चुलीमा पुगेका र नकारात्मक सोच भएकाहरु परिवारको भार बनेका उदाहरण हाम्रै वरिपरि बग्रेल्ती छन् । खेलहरुमा पनि खेलाडीलाई सकारात्मक हौसला दिँदा सोचेभन्दा राम्रो परिणाम ल्याएका उदाहरण प्रसस्तै छन् ।

व्यापार व्यवसायमा त झन् सकारात्मक सोचको ज्यादै महत्त्व छ । जति सकारात्मक सोच उति उच्च आर्थिक प्रगति हुन्छ । नकारात्मक सोच भएका व्यक्तिभन्दा सकारात्मक सोच भएका व्यक्तिहरू कयौँ गुणा छिटो आफ्नो लक्षित गन्तव्यमा पुग्दछन्। सफलताको मूल सूत्र नै सकारात्मक सोच हो । त्यसैले सफलताको लागि सकारात्मक कुरा खोज्नु आवश्यक छ । जीवनका बाटाहरुमा समस्या देखे समस्या नै समस्याको पहाड भेटिन्छ । समाधान र सफलता देखे जताततै सफलता नै सफलता हात लाग्छ । हरेक व्यक्तिको सफलता अरूको हातमा छैन, आफ्नै मनमष्तिष्कमा छ । मात्र मन र मष्तिष्क सकारात्मक हुुनुपर्छ । सकारात्मक सोच कसैबाट मागेर लिनुपर्दैन, न त यसलाई पैसा हालेर किन्नु नै पर्छ । यो त जति सकारात्मक सोच्दै गइन्छ त्यति नै बढ्रदै जान्छ । दिन दोगुना, रात चौगुना । सकारात्मक सोचको मुहान हामी आफैँ हौँ । मात्र आफैँ । त्यसैले हरेक व्यक्तिले आफूलाई सकारात्मक सोचको महान् समुन्द्र बनाउँ ।

डा. योगी विकाशानन्द भन्छन्– “संसारलाई बदल्नु छ भने सुरुवात आफैँबाट गर्नुपर्छ ।” हामीमा पछिल्लो समय सबै काम अरूले नै गरिदिनुपर्ने र आलोचना खेती चाहिँ आफूले गर्न पाउनुपर्ने दाबी बढ्दो छ । यो बिलकुल गलत हो । अरूले यो गरेन त्यो गरेन भनिरहँदा मैले चाहिँ के गरेँ त भन्ने ठाउँबाट प्रश्न सुरु गर्नुपर्छ । डा. म्याक ओडेलका अनुसार “एउटा महान् कार्यको थालनी गर्ने दिन आजै हो ।” रत्तिभर ढिला नगर्नुस्, अरूको आलोचना गरेर समय बर्बाद गर्ने होइन, आफ्नो काम गरेर समय सदुपयोग गर्नुहोस् । सबैप्रति सकारात्मक धारणा बनाउनुस् । जीवन र जगतलाई सुन्दर देख्नुस् । सकारात्क सोच घर, संस्था, सङ्गठन, कार्यालय, समाज सबैमा प्रयोग गर्नुस् । याद राख्नुहोस् सकारात्मक सोचको सुरुवात आफैँबाट गर्नुहोस्, अहिले नै गर्नुहोस्, अनि मात्र अरूमा पनि सकारात्मक सोच आउने छ ।

बिश्व कोरोनाको महामारीबाट आक्रान्त छ । नेपालमा पनि संक्रमितको संख्या बढी रहेको छ । यो आलेख तयार पार्दासम्म १४३ जना संक्रमित भएको जानकारी सार्वजनिक भएको छ । सरकारले बन्दाबन्दीको अवधि बढाएको छ । आशा गरौँ, महामारी नियन्त्रणका लागि निकट भविष्यमै खोप तयार हुनेछ । महामारीबाट धेरैको रोजगारी गुमिसकेको छ र गुम्दै छ । आउदा दिन अझ भयावह हुनेछन् । यो संकटले राजनीतिक, आर्थिक, सामाजिक अनि सांस्कृतिकरूपमा समेत असर गरिसकेको छ । महामारीसँगै हाम्रोजस्तो कृषिमा आधारित अर्थतन्त्र भएको देशलाई चुनौती दिएकाले विकाश नीतिको समीक्षा गरेर दिगो विकासको खाका कोर्न पनि यो संकटले बाध्य पारेको छ ।

हामीले आफूलाई कतिसम्म यान्त्रिक बनाइरहेका थियौं भने आफ्नै परिबारसँग मज्जाले गफ गर्न हामीहरूलाई फुर्सद थिएन । आफ्नै बुबाआमासँग भलाकुसारी गर्ने फुर्सद हामीलाई थिएन । आफ्नै भान्साको खाना खाने मेसो समेत हामीहरूलाई मिल्दैनथ्यो । बालबच्चा एकातिर, आमाबुबा एकातिर । यसले पारिवारिक मूल्यलाई खुम्च्याउँदै लगेको थियो । कोरोना भाइरसको संक्रमण फैलिएपछि भने सबैजना घरभित्र बस्ने, पारिवारिक वातावरणमा रमाउने, भलाकुसारी गर्ने र एकअर्काको कुरा सुन्ने अबस्थामा पुग्यौं ।

वर्तमान युगका लागि कोरोना त संक्रमित रोग मात्र नभएर एक सन्देशवाहक वा शिक्षक जस्तो पनि पो भइदियो । जस्तो कि यसले शारीरिक सरसफाइको पाठ सिकाउनेदेखि प्रकृतिप्रति मानव हस्तक्षेप कुन रुपमा बढिरहेको थियो भन्ने सन्देश समेत दिन भ्याए । आमाबुबाले भने, ‘सफा हुनुपर्छ ।’ विद्यालयमा सिकाइयो, ‘यसरी हात धुनुपर्छ, यसरी सरसफाइ गर्नुपर्छ ।’ त्यतिले मात्र कहाँ पुग्नु, सरकारी, गैर-सरकारी संघ-संस्था घरदैलोमा, टोलमा आएर भन्यो, ‘शारीरिक स्वास्थ्यका लागि यसरी सरसफाइ गर्नुपर्छ ।’ हामीले टेरे पो ?

कोरोनाले भने एकै झड्कामा विश्वका मानव-जातिलाई सरसफाइप्रति जागरुक गराइदियो । सर्तक गराइदियो । भिडभाडमा हिँड्दा मास्क लगाउनुपर्छ । घरमा प्रवेश गर्नुअघि साबुन पानीले राम्ररी हात धुनुपर्छ । एउटा टोल वा गाउँ मात्र होइन, मुलुक मात्र होइन, विश्वलाई नै सरसफाइप्रति जागरुक गराइदियो कोरोनाले । सम्भवत: कोरोना भाइरसको संक्रमण नफैलिएको भय सरसफाइप्रतिको यस्तो सचेतना फैलाउन सरकारी/गैरसरकारी निकायले अर्बौं अर्ब खर्च गरेर पनि यति शीघ्र नतिजा आउने थिएन होला।

हामीकहाँ आमा, श्रीमती, बुहारी, भाउजु वा छोरीले भात भान्सको काम सम्हाल्ने गर्छन् । त्यसैगरी बगैँचाको गोडमेल, फूल रोप्ने, सरसफाइ गर्ने, लुगा धुने इत्यादि काम महिलाको पेवा जस्तै हुन्छ । लकडाउनको कारण सबैजना घरमै बस्नु परेपछि भने कामको यो स्वरुपमा परिवर्तन आएको हुनुपर्छ। श्रीमान्, छोरा, देवर, दाजुभाइ आदिले भात पकाउन सिके होलान् । कुचो लगाउने, बगैँचा बनाउने काम गरे होलान् । करेसाबारी वा छतमा सागसब्जी रोप्ने जाँगर पनि चल्यो होला । कोरोना भाइरस नफैलिएको भए यस्तो माहोल कसरी बन्थ्यो होला ? महिला अधिकारकर्मीहरू जतिसुकै उफ्रिएपनि कसैले टेरपुच्छर लगाएको भए पो ? कोरोनाले भने भान्सा एवं घरायसी कामकाज कस्तो हुन्छ ? श्रीमतीले यी सबै काम कसरी चुपचाप गरिरहेका छन् भन्ने पाठ सिकाइदियो ।


तपाईको प्रतिक्रिया