काभ्रे – काभ्रेमा कोरोना संक्रमित नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले काभ्रे जिल्लामा एक जना कोरोना सङ्क्रमित रहेको तथ्याङ्क प्रकाशन गरेको भएपनि उनी काभ्रेको नरहेको भन्दै सच्याएको हो । मन्त्रालयका अनुसार कोरोना संक्रमित काठमाण्डौ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका निवासी, महोत्तरीमा कार्यरत राष्ट्रसेवक हुन् ।

जेठ ३ गते धुलिखेल सामुदायिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा पोजेटिभ देखिएका मध्यपूर्वी पृतना महोत्तरीका कार्यरत नेपाली सेनाका जवान काभ्रेका सङक्रमित भनेर मन्त्रालयले भनेको भएपनि अहिले सच्याएको छ । मन्त्रालयले हाल सम्म काभ्रेमा कुनै संक्रमित व्यक्ति नरहेको बताएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख एवम् जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव नरेन्द्रकुमार झाले अहिलेसम्म काभ्रे जिल्लामा कसैलाई पनि कोरोना नभएको जानकारी दिए । काभ्रे प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जिल्लामा अहिलेसम्म कसैमा पनि कोरोना सङक्रमण नभएको जानकारी मन्त्रालयलाई गराइएको र मन्त्रालयले यस अघिको रेकर्ड सच्याएको बताए ।

धुलिखेल अस्पतालमा चैत २३ गतेदेखी अहिलेसम्म एक हजार नौ सय जनाको पिसीआर परीक्षण गरिएको छ । परीक्षण भएकामध्ये एक हजार ७०८ जना शुक्रराज ट्रपिकल अस्पताल टेकुबाट, १७२ काभ्रेपलाञ्चोक जिल्ला र २० जना अन्य जिल्लाबाट रहेका छन् ।


तपाईको प्रतिक्रिया