बार्सिलोनाका प्रशिक्षक क्विक सेटिनले फुटबल खेलाउने आफ्नो रणनीतिक दर्शनको बचाउ गरेका छन् । च्याम्पियन्स लिगको बिषयलाई लिएर लियोनल मेस्सीले गरेको आलोचनाको प्रतिरक्षा गर्दै सेटिनले आफुले खेलाउने रणनीतिले च्याम्पियन्स लिगको उपाधि जित्न सकिने बताएका हुन् ।

मेस्सीले प्रशिक्षकको खेलाउने शैलीको आलोचना गर्दै च्याम्पियन्स लिग जित्न नसकिने बताएका थिए । मेस्सीको भनाईलाई लिएर क्याटलान क्लब तरंगित बनेको थियो । मेस्सीले यस सिजन क्लबका बिषयमा खुलेर आलोचना गर्ने गरेका छन् । केही समय अघि क्लब निर्देशक ईरिक एबिडालको आलोचनामा उत्रिएका मेस्सीले लगत्तै प्रशिक्षकको समेत खुलेर आलोचना गरेका थिए ।

‘जसरी हामी खेलिरहेका छौ । त्यसरी खेलेर जित्न सम्भव छैन । मेरो राय तथ्यमा आधारित छ किनकी हरेक बर्ष च्याम्पियन्स लिग खेल्न पाउने म भाग्यशाली थिए ।’ अर्जेन्टिनी फरवार्डले भनेका थिए । इर्नेस्टो भाल्भर्डे बर्खास्तमा परेपछि सेटिन क्लबको मुख्य प्रशिक्षकमा आएका थिए । बार्सिलोना लिगको शीर्ष स्थानमा रहदै आएको छ । च्याम्पियन्स लिगको पहिलो लेगको खेलमा सेटिनको नेतृत्वमा बार्सिलोनाले नापोलीसंग १–१ गोलको बराबरी खेलेको थियो ।

खेलाडी र प्रशंसकको आशंकाका बाबजुत सेटिन सन् २०१५ पछि बार्सिलोनालाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जिताउने आफ्नो शैलीको समर्थन गरिरहेका छन् । ‘मेस्सीको भनाईले मलाई लाग्छ एउटा ठुलो विवाद सिर्जना गरेको छ ।’ सेटिनले भनेका छन् । ‘हामी सहमत छौ, हामी च्याम्पियन्स लिग जित्न सक्छौ । हामीले केही सुधार गर्नुपर्नेछ । तर विवाद रहित रुपमा भन्दा च्याम्पियन्स लिग जित्ने हामीसंग क्षमता छ ।’ सेटिनले भने ।

‘हामी जित्न सक्छौ । हामी सहमत छौ, हामी च्याम्पियन्स लिग जित्न सक्छौ । पक्कैपनि हामी जित्न सक्छौ ।’ उनले थपे । बार्सिलोना तेस्रो घरेलु उपाधिको खोजीमा रहेको छ । रियल मड्रिडले सन् २०१५ पछि तीन पटक लगातार च्याम्पियन्स लिगको उपाधि जितेको थियो । लिभरपुलले सन् २०१९ मा उपाधि जित्दै जिनेदिन जिदानको प्रभुत्य समाप्त गरेको थियो ।

सन् २००६ देखि २०११ सम्म ६ पटक च्याम्पियन्स लिग खेल्दा बार्सिलोनाले ३ पटक उपाधि जितेको थियो । लिभरपुलसंग सन् २०१९ मा सेमिफाईनलमा पराजित भएको बार्सिलोना त्यसअघिका संस्करणमा क्वार्टरफाईनल भन्दा अगाडी बढ्न सकेको थिएन ।


तपाईको प्रतिक्रिया