काभ्रे (धुलिखेल) – सेवाग्राहीलाई छिटोछरितो ढङ्गले बेलैमा सेवा प्रदान गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीको आयोजना र जिल्ला एम्बुलेन्स सञ्चालन समितिको समन्वयमा काभ्रे जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्समा जिपीएस जडान गरिएको छ ।

कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टका संयोजक तथा जिल्ला एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षसमेत रहेका काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना नेतृत्वको समितिले जिल्लामा सञ्चालित सबै एम्बुलेन्सलाई ‘पार्टेशन’ गरेर कोभिड–१९ फ्रेण्डली बनाउनुका साथै जिपीएस जडान गरेर सेवाग्रहीलाई बेलैमा सेवा प्रदान गर्न सहयोग पु¥याउने उद्देश्यले सो अभियानलाई तीव्रता दिएको हो ।

नेपाल रेडक्रस सोसाइटीका अस्पताल पूर्वसेवा प्रमुख भोजराज ओझाले अहिलेसम्ममा काभ्रेका १७ र सिन्धुपाल्चोकका १४ एम्बुलेन्समा जिपीएस प्रविधि जडान गरिसकेको बताए । अहिले जिल्लामा सञ्चालित ३५ मध्ये पाँच एम्बुलेन्स सञ्चालनमा आएको भए पनि एम्बुलेन्स सञ्चालन समितिमा दर्ता नभएको पाइएको छ । त्यसका लागि विधानसहित निवेदन दिन आउन आग्रह गरेको समितिले जनाएको छ । सिन्धुपाल्चोकमा २७ एम्बुलेन्स छन् । प्रविधि जडान गर्ने क्रम बन्दाबन्दीका कारण निरन्तरता दिन नसकेको ओझाले बताए ।

जिल्ला एम्बुलेन्स सञ्चालन समितिको समन्वयमा काभ्रे जिल्लाभर सञ्चालनमा रहेका ३० एम्बुलेन्समा कोभिड–१९ फ्रेण्डली बनाउनुका साथै ती सबैमा जिपीएस प्रविधि जडान गर्ने काम भइरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाले बताए ।


तपाईको प्रतिक्रिया