काभ्रे (धुलिखेल) – केही दिन अगाडि सम्म खाली रहेका काभ्रे जिल्लाका क्वारेन्टाइनका वेड विस्तारै भरिन थालेका छन् ।

जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रका सदस्य सचिव नरेन्द्रकुमार झाले भारत लगायत विभिन्न जिल्लाबाट मानिस आउने क्रम बढेसँगै क्वारेन्टाइनमा चाप बढ्दै गएको जानकारी दिए । उनका अनुसार ३९ जना क्वारेन्टाइनमा बसेका छन ।

धुलिखेल नगरपालिकाको सञ्जिवनी मा. विमा रहेको क्वारेन्टाइनमा २७ जना रहेका छन । त्यस्तै धुलिखेल अस्पतालमा ७ जना, पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा दुई÷दुई जना र पनौती नगरपालिकामा एक जना रहेका छन । जिल्लाका १३ वटा स्थानीय तहमा ३४२ वेडको क्वारेन्टाइन रहेका छन ।

जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले धुलिखेलमा तीन सय र बनेपामा तीन सय गरी ६ सय बेड क्षमताको जिल्लास्तरीय क्वारेन्टाइन निर्माण गर्ने पनि निर्णय गरेको छ । विभिन्न जिल्ला तथा विदेशबाट आएकालाई स्वास्थ्य परीक्षण रिपोर्ट नआएसम्म राख्न क्वारेन्टाइन निर्माण गर्न लागिएको समितिले जनाएको छ ।

अहिले धुलिखेल नगरपालिकास्थित सञ्जीवनी माविमा ६५ बेडको क्वारेन्टाइन रहेको छ । त्यसैलाई बढाएर तीन सय बेड क्षमताको बनाइने र बनेपा नगरपालिकास्थित बनेपा प्राविधिक विद्यालयमा तीन सय बेडको क्वारेन्टाइन निर्माण गर्ने निर्णय भएको हो । बैठकले क्वारेन्टाइन निर्माणका लागि नगरपालिकाबाट पाँच लाख र गाउँपालिकाबाट तीन लाख रकम संकलन गर्ने पनि निर्णय गरेको छ ।


तपाईको प्रतिक्रिया