काभ्रे (तेमाल) – विश्वभर फैलिरहेको नोभेल कोरोना भाईरसका कारण देश लकडाउन छ । सरकारले थप कडाई गर्नका निमित्त बैशाख २५ गते सम्म लकडाउनको समय अवधी थप गरेको छ । विभिन्न स्थानिय निकायले आफ्ना नागरिकहरुलाई उद्धार गरिरहेको अवस्थामा तेमाल गाउँपालिकाले पनि उद्धार गरेको छ । गाउँपालिकाले हालै १७ वटा गाडि मार्फत उपत्यकाका विभिन्न स्थानबाट आफ्ना नागरिकहरुलाई उद्धार गरेको हो ।

लक डाउनको अर्थ जो जहाँ छन्, त्यहिँ बस्नु भनिएको हो ताकि संक्रमण नफैलियोस् । तर विपन्न साथै मजदुर घर परिवार जो काम गरे पछि मात्रै घरमा चुल्हो बल्छ, उनिहरुलाई भने निकै समस्या परेको छ । भोक भोकै धेरै मानिसहरु हिँडेरै भए पनि गाउँ फर्किरहेको परिपेक्षमा गाउँपालिकाले उद्धार गरेको हो ।

तर गाउँमा विभिन्न माध्यमबाट आईपुगेका नागरिकहरुमा संक्रमणको जोखिम हुन सक्ने भन्दै तेमाल गाउँपालिकाले अब घर घरमा स्वास्थ्यकर्मीहरु परिचालन गरी स्वास्थ्य जाँच गर्ने भएको छ । गाउँपालिकाले आज देखि सबै वडाका घर–घरमा स्वास्थ्य जाँच सुरु गरेको प्रवक्ता ज्ञान बहादुर तामाङले जानकारी दिए । गाउँमा प्रवेश गरेका मानिसहरु स्वस्थ र सुरक्षित छन् भन्ने सुनिश्चित गर्नका निमित्त साथै गाउँबासीलाई भय र त्रासको वातावरण सिर्जना हुन नदिनका निमित्त यस्तो कदम चालिएको उनले बताए । सात दिनभित्र सबै घरका स्थानीयका स्वास्थ्य जाँच गरिसक्ने योजना बनाएको उनको भनाई छ ।

गाउँपालिकामा ९ वडा छन् । ११ वटा स्वास्थ्य संस्था रहेको गाउँपालिकामा ५७ जना स्वास्थ्यकर्मी कार्यरत रहेको स्वास्थ्य शाखा संयोजक शिवहरी पाठकले जानकारी दिए । स्वास्थ्यकर्मीको टोलीले हरेक घरघरमा गएर स्वास्थ्य परिक्षण गर्नेछन् र कोरोना भाइरस सँग संभावित लक्षण भेटिए तत्काल परिक्षण गरीने उनले बताए । स्वास्थ्य जाँच मात्र नभई रोगको प्रकृति अनुसार सरकारले प्रदान गर्ने निःशुल्क औषधि समेत उपलब्ध गराउने छन् । साथै स्वास्थ्य कर्मीले ज्वरो, रुघाखोकीको अवस्था हेरेर होम क्वारेन्टाइन वा अस्पताल पठाउनेसम्मको निर्णय नि गर्ने स्वास्थ्य संयोजक पाठकले बताए ।


तपाईको प्रतिक्रिया