• उत्तमप्रसाद सिलवाल

कोरोना भाइरसले निम्त्याएको वर्तमान विषम परिस्थितिमा विशेषगरी धेरै अभिभावकहरू चिन्तित हुनुहुन्छ । विद्यालय जान नपाएर लामो समय घरभित्रै थुनिनु पर्दा अझ कोरोना भाइरसले पारेको प्रभावका बारेको डरलाग्दो चित्रण गरिएको समाचाहरू मात्र सुन्नु पर्दा धेरै बालबालिकाहरूमा विभिन्न प्रकारका मानसिक समस्याहरू उत्पन्न हुन सक्ने सम्भावना पनि उत्तिकै छ । तसर्थ यस अवस्थामा अभिभावकहरूले आफ्ना बालबालिकाहरूको विशेष ख्याल राख्नु अत्यन्तै जरुरी छ ।

यस्तै समयमा बालबालिकाहरूलाई घरभित्रै खेल्न सकिने प्रकारका विविध खेलहरू खेलाउँदै, गीत गाउने, नाच्ने जस्ता अतिरिक्त क्रियाकलापहरूमा पनि उनीहरूलाई भरपुर प्रोत्साहित गर्दै त्यसमा आफू पनि सहभागी भई दिने, उमेर र रुची अनुसारका विविध ज्ञानवद्र्धक पुस्तकहरू पढ्ने रुची जगाउने, खानाहरू पकाउँदा सकेसम्म उनीहरूलाई सहभागी गराउने जस्ता कार्य गर्नु उपयुक्त हुन्छ ।

आफ्ना बालबालिकाहरू भविष्यमा राष्ट्रको सफल नागरिक भएको हेर्ने रहर सबै आमा बाबुलाई हुने गर्छ । त्यसका लागि प्रत्यक आमाबाबुले सुरुदेखि नै आफ्ना बच्चाहरूलाई सही कार्यमा हिड्न प्रेरित पनि गर्न सक्नु पर्दछ । तल उल्लेखित केही कुराहरूमा ध्यान पु¥यान सके प्रत्येक आमाबाबुले आफ्ना छोराछोरीको निमित्त देखेको भविष्यको सपना पुरा हुन सघाउ पुग्दछ ।

– जतिसुकै ब्यस्त भए पनि प्रत्येक दिन आफ्ना छोराछोरीहरूको साथमा बसेर केही समय स्थगित गर्ने गर्नुहोस्, ताकि उनीहरूले एक्लोपनको अनुभव कहिल्यै नगरुन् ।
– बच्चाहरूले राखेका प्रश्न अथवा जिज्ञासाहरू ध्यान पूर्वक सुनेर उचित र सही जवाफ दिने गर्नुहोस् ।
– बच्चाहरूको उमेर अनुसार आवश्यक माया, ममता दिने गर्नुहोस् ।
– दुई वा दुई भन्दा बढी बच्चाहरू छन् भने अनावश्यक रुपमा प्रत्येक कुरामा तुलना गर्ने बानी नगर्नुहोस् ।
– लोभ र लालच दिएर कुनै पनि काम उनीहरूबाट कहिल्यै नगराउनुहोस् ।
– गलत काम कुराहरूप्रति उनीहरू अग्रसर हुन थालेका छन् भने उचित तर्क दिएर राम्रोसँग सम्झाउने गर्नुहोस् । तर सही र राम्रा काम गरेका छन् भने कमसेकम ‘स्यावास’ भन्न नभुल्नुहोस् ।
– समय र परिस्थितिको अनावश्यक फाइदा उठाउने मौका नदिनुहोस्, साथै अनावश्यक रुपले टाउको माथि चढाउने काम पनि नगुर्नुहोस् ।
सुरुदेखि नै बच्चाहरूलाई शिष्ट शैलीमा मिठो बोल्न सिकाउनुहोस् ।
– ठीक काम कुराभन्दा गलत काम कुरा बच्चाहरूले चाँडै सिक्ने हुँदा त्यस्ता गलत कामकुरा सिक्ने र बोल्ने अवसर नदिनेतर्फ संचेष्ट गर्नुहोस् ।
– सुरुदेखिनै बच्चाहरूमा आत्म बिश्वासको भावना जगाउनुहोस्, जसले गर्दा उनीहरू गलत काम र बिचारप्रति अग्रसर हुन नसकून् ।
– आफ्नो देशको संस्कृति र सभ्यताको अर्थ सम्झाएर आनावश्यक बिदेशी तडक भडकको आकर्षबाट जोगाउनुहोस् ।
– बच्चाहरूलाई सम्भव भएसम्म सुरुदेखि नै अलग्गै सुताउने गर्नुहोस् र उनीहरूको मानसिकतामा असर पुग्ने कुनै पनि गलत काम उनीहरूको अगाडि नगर्नुस् ।
– उपेक्षापूर्ण र रुखो व्यवहार बच्चाहरूसँग बिर्सेर पनि कहित्यै नगर्नुहोस्, किनभने तपाईँको त्यस्तो ब्यवहारले बच्चाहरूको भर्खरै बिकसित हुन लागेको मानसिकतामै गहिरो आधात पुग्दछ ।
– उनीरूकै उमेरका अन्य बच्चाहरूसँग हास्ने खेल्ने प्रशस्त मौका दिँदै, पढाइका अलावा अन्य मानसिक र बौद्धिक विकासमा सधाउ पुग्ने क्रियाकलापमा रुचि देखाएका छन् भने त्यसलाई समेत भरपुर प्रोत्साहन दिनुहोस् ।
– भनिन्छ प्रत्येक बच्चाको पहिलो पाठशाला उनीहरूको घर हो र आमाबाबु गुरु हुन् ।

त्यसैले घर ब्यवहारमा आमाबाबुले गर्ने हरेक क्रियाकलाप आफ्ना छोराछोरीहरूको निमित्त अनुकरण योग्य हुनु जरुरी छ । अतः प्रत्येक आमाबाबु उनीहरूका निम्ति आदर्श र उदाहरण बन्न सक्नु पर्दछ । तर, अहिले कोरोना भाइरसका बारे पनि बालबालिकाहरूलाई आवश्यक सूचना मात्र दिने वातावरण सृजना गर्ने तर यसबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने बारेमा भने राम्रोसँग जानकारी दिनु आवश्यक छ ।

समयले भ्याएसम्म आफ्ना बालबालिकाहरूसँगै समय ब्यतित् गर्दै सकारात्मक सोचका साथ तनावमुक्त वातावरणमा उनीहरूसँग कुराकानी गर्नु अहिलेको अवस्थामा अत्यन्तै जरुरी छ । यति गर्न सक्यौं भने अहिलेको यो समय अधिकतम रुपमा बालबालिकाहरूको हितमा उपयोग गर्न हामी सफल हुन्छौं ।

इमिडेट पास्ट प्रेसिडेन्ट
किवानिज क्लव अफ कान्तिपुर काठमाडौँ
ज्ञानेश्वर।


तपाईको प्रतिक्रिया