कोरोनाबाट बच्नको लागि सरकारले आह्वान गरेको लकडाउनको समयमा चलचित्रजन्य क्रियाकलापहरू पूर्णत: रोकिएका छन् ।

कलाकार फुर्सदिला बनेका छन् । उनीहरू पनि घरमा थुनिएर बस्न बाध्य छन् । होम क्वारेन्टाइनमा नै बस्दै आएका हास्यकलाकार सन्दीप क्षेत्रीले भने एक छोटो चलचित्र तयार गरेका छन् । उनले घरमा बसेर नै विभिन्न कलाकारहरू अभिनय गराएर भिडियो तयार गरेका छन् ।

‘लकडाउन’ नाम दिइएको उक्त छोटो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, किरण केसी, निर्मल शर्मा, सञ्जय श्रेष्ठ लगायतलाई पनि फिचर छन् । उक्त भिडियो सन्दीपले सबै कलाकारलाई भेटेर तयार गरेका होइनन् ।

सबै कलाकारहरूलाई सन्दीपले उनीहरूको भूमिका पठाए । उनीहरूले बोल्नु पर्ने संवाद पठाए । सोही अनुरुप कलाकारहरू आफैँले उक्त भिडियो खिचेर सन्दीपलाई पठाएका हुन् । सन्दीप आफैँले लेखेको उक्त छोटो चलचित्रमा लकडाउनको बेला घर बाहिर निस्कन मन लागेको एक युवाको कथालाई प्रस्तुत गरिएको छ ।


तपाईको प्रतिक्रिया