डेविड बेकह्यामले आफ्नो अमेरिकी क्लब इन्टर मायमीमा रियल म्याड्रिडका कोलोम्बियन मिडफिल्डर हामेस रोड्रिग्वेजलाई अनुबन्ध गर्न चाहिरहेका छन् । त्यसका लागि उनले तयारी पनि गरिरहेका छन् । उनले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग समेत छलफल गरेको एजेन्सीहरूले बताएका छन् ।

रियल म्याड्रिडका पूर्वखेलाडीसमेत हुन् बेकह्याम । पेरेजकै कारण बेकह्याम करिअरको उच्च विन्दुमा रियल म्याड्रिडको जर्सीमा देखिएका थिए । अब बेकह्यामले छिट्टै हामेससँग यसबारे छलफल गर्ने तयारी गरेका छन् ।

दुई सिजन लोनमा बायर्न म्युनिखमा बिताएका हामेस यसै सिजन रियल म्याड्रिड फर्केका थिए । उनले यस सिजन जम्मा १३ खेल खेल्दै १ गोल गरेका छन् । उनी जिदानको रोजाइमा पर्न छाडेका छन् । रियलले उनलाई बेच्ने प्रयास गरे पनि कुनै पनि क्लबले उनको तलबका कारण अनुबन्ध गर्न चाहेन ।

बेकह्यामको टोली इन्टर मायमीले यसै सिजनदेखि अमेरिकी लिग मेजर लिग सकर खेल्न थालेको हो । लिगका साथसाथै टोलीको पनि चर्चा बढाउन हामेसलाई अनुबन्ध गर्न खोजिएको हो । हामेसको रियलसँगको सम्झौता २०२१ जुनमा समाप्त हुँदै छ । हाल उनको बजार मूल्य रियलले ३५ मिलियन युरो तोकेको छ ।

फिफा विश्वकप २०१४ मा प्रभावशाली प्रदर्शन गरेपछि हामेस रियल आएका थिए । त्यसबेला रियलले उनलाई अनुबन्ध गर्न ८० मिलियन युरो खर्चेको थियो । सुरुवाती दुई सिजन राम्रो प्रदर्शन गरे पनि उनले जिदानको टोलीमा पर्न निकै संघर्ष गर्नुप-यो ।


तपाईको प्रतिक्रिया