काठमाडौं – अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ५० हजारको नजिक पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अप्रिल महिनामा मात्र अमेरिकामा औसतमा दैनिक दुई हजार मानिसको मृत्यु भएको देखिएको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म ४९ हजार नौ सय ५४ पुगेको छ । तर, वर्ल्डओमिटरको तथ्यांकमा भने अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ५० हजार दुई सय ४३ पुगेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको कूल संख्या आठ लाख ६९ हजार एक सय ७१ पुगिसकेको छ ।

यसैबीच, अमेरिकामा पछिल्लो पाँच सातामा बेरोजगारी सुविधाको लागि आवेदन दिनेको संख्या पनि दुई करोड ६५ लाख नाघेको छ । कोरोना भाइरस नियन्त्रणको लागि अमेरिकाभर लगाइएको लकडाउनको असर बेरोजगारीको संख्यामा देखिएको हो। अमेरिकामा बढ्दो बेरोजगारीको कारण अर्थतन्त्रमा पनि ठूलो असर पर्न सक्ने अर्थशास्त्रीहरूले चेतावनी दिँदै आएका छन्।


तपाईको प्रतिक्रिया