• अम्बिका दुलाल (अधिकारी), काभ्रेपलान्चोक

बालबालिका काँचो माटाका भाँडाकुडा जस्तै हुन । उनिहरुलाई साँचोमा हालेर आकार प्रकार दिएर कस्तो रुपरङग वा ढाँचाको बनाउन खोजिएको हो त्यस्तै बनाउन सकिन्छ। बालबालिकाहरुमा ९०% मस्तिष्क बिकास ५ बर्ष भित्रमा नै भैसकेको हुन्छ , फरक यती हो कि हामी ठुलाहरुले आफुसँग दाँज्ने गर्छौं ।बालबालिकाहरु जति मायालु हुन्छन त्यतिनै नयाँ नयाँ कुराहरु जान्नका लागि प्रत्येक क्षण उत्सुक भैरहेका हुन्छन ।

एकातिर शैक्षिक सत्र (२०७६)को अन्त्य तिर नेपालमा पनि कोरोना भाईरस ( कोभिड- १९)ले प्रवेश गरेका कारण बालबालिकाहरुको मानसिक, शैक्षिक क्षेत्र र दैनिक जिबनलाई प्रभाव परेको कुरा हामी नकार्न सक्दैनौं । विशेषगरी एस इ इ परिक्षा दिनका लागि तयारी गरेर बसेका बिद्यार्थीहरुमा यो बन्दा बन्दिले एकदमै आघात पुगेको कुरा हामी सहजै महशुस गर्न सक्छौ ।आर्कोतिर सरकारले आफ्ना जनताहरुको स्वास्थको निम्ति अचानक गरेको निर्णयलाई पनि अस्वभाबिक मान्न मिल्दैन तर एस इ इ परिक्षाको अघिल्लो दिनमा निर्णयहुनुलाई चाँहि बिद्यार्थीहरुले त्यति रुचाएको मानिदैन। फलामेबारको रुपमा लिईएको एस इ इ परिक्षा जसलाई पार गर्नका निम्ति विद्यार्थीहरु रातदिन तयारी गरेर आफुले सोचेको ग्रेड ल्याउनभनी पढिरहेका थिए, त्यसलाई चाँहि यो बन्दा बन्दीले असर गरेको मान्नै पर्छ ।

बालबालिकाहरुमा बन्दा बन्दी अघि जति उत्सुकता, तयारी, लक्ष्य थियो अब भोलीका दिनमा एस इ इ परिक्षाको लागि पहिलेको जस्तै तयारी र लगाब चाँहि होला जस्तो लाग्दैन । किनकि बिश्वनै यो विषम परिस्थितिबाट गुज्रिएको अबस्थामा उनिहरुमा कोरोनाबाट मरिन्छ भन्ने डर भन्दा पनि आफुले गरेको तयारी अनुरुप नहुदा खिन्नता पैदा अवश्य गरेको छ ।
एस इ इ परिक्षाको तयारी र परिक्षा दिन भनेर ग्रामिण भेगबाट परिक्षा केन्द्र आसपासका क्षेत्रमा आई कोठा भाडामा बसेका ति बिद्यार्थीहरु जस्ले खान बस्नका लागि सिमित दिनका लागि सिमित रुपैयाँको जोहो गरेका थिए तर एस इ इ सुरु हुने अघिल्लो दिनको सरकारको आकस्मिक निर्णयले ती लाखौँ विद्यार्थीहरुको परिक्षा अन्योलमा परेको छ ।

अर्को दृष्टिकोणबाट सोच्दा यो माहामारिको विषम परिस्थितिमा आफ्ना प्रतिभा बौद्धिकतालाई अझ उजागर गर्ने अवसर पनि हो । जहाँ साना बालबालिकाहरुले आफुले जानेका कुराहरु बाहेक अन्य थुप्रै कुराहरु सिक्ने अवसर पनि हो । प्रत्येक बालबालिकाहरु नयाँ कुरा सिक्न र जान्न उत्सुक हुन्छन् । यो बन्दा बन्दिको समय पनि एउटा अवसर नै हो जसले बालबालिकाहरुलाइ स-साना कुराहरू आफै सिक्ने मौका मिलेको छ । उदाहरणका लागि स-साना नानिबाबुहरु लाइ आफ्ना किताबहरु र लुगाहरु मिलाएर राख्ने, तरकारी केलाउने, आफ्ना स-साना लुगाहरु धुने, आफै नुहाउने, फलफूलका बिरुवाहरु रोप्ने जस्ता कामहरू सिकाएर उनिहरुलाई ब्यस्त राख्न सकिन्छ । निमाबि र मा. बि स्तरका विद्यार्थीहरुको सन्दर्भमा उनिहरुका लागि पनि यो बन्दा बन्दिको समय तनाव नभई अवसर नै हो । उनिहरुले पनि आफू जुन विषयमा कमजोर छु जस्तो लाग्छ त्यही विषयको अध्ययन गर्ने साथ साथै ईन्टरनेटबाट समकालीन समाजका बारेमा अध्यन गर्न सक्छन् । आफुलाइ मन पर्ने साहित्य सम्बन्धि पुस्तक, लेख, रचना अध्ययन गर्न सक्छन् ।

एस इ इ दिने विद्यार्थीका लागि भनेर टेलीभिजन मार्फत पनि अङ्ग्रेजी, बिज्ञान, गणित विषयहरुको अध्यापन गराइने हुँदा यो समय यस्ता सामाग्रीबाट विद्यार्थीहरुले प्रशस्त फाइदा उठाउनु पर्दछ । यो समय एकदम अनुकुल मान्नु पर्दछ । यो प्रतिकुल समय भयो भनेर मानसिक रूपमा चिन्तित हुनु हुदैन । हामी ठुलाका लागि पनि यो एउटा यस्तो परिस्थिति हो जुन परिस्थितिबाट हामी भन्दा अघिल्लो पुस्ता पनि गुज्रिएको थिएन र सायदै आगामी पुस्ता पनि यस प्रकारको परिस्थितिबाट गुज्रने छन् । जीवन निर्वाहका लागि निरन्तर खटिरहेका मानिसहरु घर परिवारलाई पर्याप्त समय दिन नसकिरहेको अवस्थामा यस माहामारीले निम्त्याएको बन्दा बन्दीले गर्दा पर्याप्त समय घर परिवारका साथमा भरपुर समय बिताइरहेका छन र दुख सुख साटीरहेका छ्न । यो कोरोना माहामरिको सकारात्मक पाटो हो ।

२०१९ को डिसेम्बर महिनाबाट सुरु भएको यस कोरोना भाइरसले बिश्वका २१३ वटा राष्ट्रहरुमा असर देखा पर्न गयो । जसमा नेपाल पनि अछुतो रहन सकेन । कोरोना माहामारीबाट बच्न सरकारले गरेको बन्दा बन्दीको असर अब आउने शैक्षिक सत्रमा पनि पर्ने देखिन्छ । संसारलाइ नै स्तब्ध बनाउने गरि फैलिएको यस भाइरसको असर नेपालका बालबालिकाहरुमा प्रत्यक्ष रुपमा परेको छैन तर मानसिक रुपमा भने त्रासकै अवस्था छ ।

 


तपाईको प्रतिक्रिया