बार्सिलोनाले क्याम्प नोउको नाम बेच्ने भएको छ । क्याम्प नोउको नामाकरण अधिकार बेचेर आएको रकम क्लबले कोरोना भाइरस (काेभिड १९) विरुद्धको लडाइँमा खर्च गर्ने जनाएको छ ।

बार्सिलोनाले पहिलो पटक यो निर्णय गरेको हो । सन् १९५७ मा बनेको नोउ क्याम्पको नाम अहिलेसम्म बेचिएको थिएन । सन् २०२०–२१ सिजनमा प्रायोजक खोज्नका लागि क्लबले बार्सा फाउण्डेशनलाई अधिकार दिएको छ ।

‘प्रायोजनबाट उठेको रकम अनुसन्धान परियोजना र कोरोना भाइरसको विश्वव्यापी लडाइँमा प्रयोग गरिनेछ । ‘बार्सिलोना क्लब र बार्सा फाउण्डेशनले मानवीय सङ्कटका बेला सबै स्राेत र साधन जुटाउन आवश्यक देखेको छ,’ बार्सिलोनाले विज्ञप्तिमा लेखेको छ ।

कोरोना भाइरसका कारण स्पेनमा २० हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । बार्सिलोनाले जर्सीमा पनि सन् २०१० देखिमात्र प्रायोजक राख्न सुरु गरेको हो । तर सन् २००६ देखि युनिसेफको लाेगो राख्न थालेको थियो । युनिसेफसँगको सहकार्य च्यारिटीका लागि थियो ।


तपाईको प्रतिक्रिया