प्रशिक्षक रोर्बेटो मान्चिनीले स्विडिस फरवार्ड ज्लाटान इब्राहिमोभिच लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोकै स्तरका फरवार्ड रहेको जिकिर गरेका छन् ।

इब्राहिमोभिच स्विडेनका पूर्वकप्तान हुन् । उनले इन्टर मिलान, पेरिस सेन्ट जर्मेन, एसी मिलान, बार्सिलोना र म्यानचेस्टर युनाइटेडजस्ता प्रतिष्ठित क्लबबाट आफ्नो प्रतिभा देखाइसकेका छन् । इब्राहिमोभिचले फरक–फरक चार देशमा लिगको उपाधि चुमेका छन् । उनले आफ्नो खेल करियरमा ३३ उपाधि जितेको अनुभव बटुल्ने अवसर पाएका छन् । उनले देश र क्लबका लागि गरी कुल ९ सय १४ खेलबाट ५ सय ४० गोल गरेको तथ्यांकसमेत छ ।

इब्राहिमाभिच यति बेला एसी मिलानसँग आवद्ध छन् । उनी ३८ बर्षका भइसकेका छन् । मेस्सी र रोनाल्डोले युरोपियन फुटबलमा दबदबा कायम गरेका छन् । उनीहरू दुवैले गरेर ११ पटक बालोन डी ओर उपाधि जितेका छन् । मान्चिनीले इब्राहिमोभिच पनि मेसी र रोनाल्डोकै स्तरमा राख्न मिल्ने खेलाडी भएको दाबी गरे । ‘उनी पनि सर्वकालीन उत्कृष्ट फरवार्डका रूपमा भविष्यमा स्मरण गरिनेछन्,’ उनले भने , ‘म इब्राहिमोभिचलाई मेसी र रोनाल्डोकै स्तरमा राख्छु । उनी जहाँ गएका छन् त्यहाँ लिग जितेका छन् । गोल पनि त्यसरी नै गर्छन् ।’

यो सिजन मिलानमा पनि उनले राम्रो गरेका रोर्बेटोको दाबी छ । यो उमेरमा पनि उनले उच्चस्तरको फुटबललाई निरन्तरता दिएको भन्दै रोर्बेटोले इब्राहिमोभिचको प्रशंसा गरे । ‘तर, मलाई थाहा छैन भविष्यका बारेमा उनको के योजना छ ।’ प्रशिक्षक रार्बेेटोले भने ।

मेसी र रोनाल्डोले पछिल्लो दशक विश्व फुटबलमा दबदबा कायम गरेका छन् । इब्राहिमोभिच यसबीचमा एकपटक मात्र ब्यालोन डी ओरको शीर्ष ४ स्थानमा पर्न सफल रहेका छन् । सन् २०१३ मा उनी चौथो स्थानमा रहँदा रोनाल्डो, मेस्सी र फ्रान्क रिबेरीभन्दा पछि थिए । हाल मिलानमा ६ महिनाको सम्झौता गरेका इब्रहिमोभिच त्यसपछि कता जाने यकिन छैन । उनले मिलानमा १० खेलमा ४ गोल गर्नुका साथै १ एसिस्ट गरिसकेका छन् ।


तपाईको प्रतिक्रिया