वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत ४ जना कोभिड–१९ संक्रमितमध्ये ३ जनाको दोस्रो परीक्षणको रिपोर्ट पोजेटिभ नै देखिएको छ । एक जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । वीरगञ्ज–२ छपकैयास्थित मक्की जामे मस्जिदमा बस्दै आएका तीन जना भारतीय जमातीमा एक साताअघि कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो ।

रौतहटबाट पठाइएका संक्रमित एक युवकको उपचार पनि नारायणी अस्पतालमा नै भइरहेको छ । उनीहरुमध्ये कसको रिपोर्ट नेगेटिभ भन्ने खुलाइएको छैन । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको अस्पतालले जनाएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले तेस्रो चरणको परीक्षणका लागि आइतबार थ्रोट स्वाब नमुना संकलन गरेर प्रयोगशाला पठाइएको जानकारी दिए ।

वीरगञ्जमा पीसीआर मेसिन आइसकेको भए पनि आवश्यक अन्य समान नहुँदा ल्याब सञ्चालन हुन सकेको छैन । त्यसैले थ्रोट स्वाब संकलन गरेर प्रदेश नं ३ को राजधानी हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाउने गरिएको छ । संक्रमित भारतीय नागरिक पुगेको क्षेत्रमा आइतबार पनि र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोनाको एन्टीबडी परीक्षण गरिएको छ । आइतबार मात्रै सुगौलीमा ३ सय ४० जनाको आरडटि गरिएको छ । यसअघि वीरगञ्ज महानगरपालिका वडा नं १, २ र ३ वडा र २६ सुगौली क्षेत्रका मस्जिद आसपासमा १२ सय ५३ जनाको आरडीटी परीक्षण गरिएको थियो । सबैको एन्टीबडी नेगेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसियाले जानकारी दिए ।

‘संक्रमित जमाती पुगेको क्षेत्रमा र्‍यापिड डाइग्नोष्टिक टेष्ट गरिसकिएको छ । सबैको एन्टीबडी रिपोर्ट नेगेटिभ आएको छ’ उनले भने, ‘संक्रमण स्रोत पत्ता नलागे पनि हालसम्मको अध्ययनले स्थानीय संक्रमण नभएर यो आयातित संक्रमण हो भन्ने बुझिन्छ । अरुमा सरेको पनि देखिएको छैन ।’

भारतीयलाई आफन्तको जिम्मा लगाइयो

वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा राखिएका १ सय २ जना भारतीय नागरिकलाई आफन्तको जिम्मा लगाइएको छ । १४ दिनसम्म राखेर र्‍यापिड टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएपछि आफन्तको जिम्मा लगाइएको हो । नेपालका विभिन्न सहरमा कामको सिलसिलामा रहेका तर लकडाउनको समयमा घर जान हिँडेका १ सय ८९ जनालाई ठाकुरराम बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइन स्थलमा राखिएको थियो ।


तपाईको प्रतिक्रिया