काभ्रे (रोशी) – जिल्ला काभ्रेमा शनिबार राती विभिन्न स्थानबाट बि.पि. राजमार्ग हुँदै रोशी गाउँपालिका पुगेका ८१ जना सडकमा अलपत्र परेका मानिसहरुलाई सोही पालिकाको अध्यक्ष दल बहादुर (डि.बि.) लामाको पहलमा उद्धार गरिएको छ ।

सिन्धुली गोलन्जोर गाउँपालिका वडा नं ३ र ४ को ५६ जना, उदयपुरको ८ जना, रामेछाप खाडादेवी गाउँपालिकाका १० जना र बर्दिबासको ७ जना गरि जम्मा ८१ जना पालिकाको अध्यक्ष डि.बि. लामाको नेपालथोक प्रहरी पोस्ट सम्म पुर्याइएको थियो । नेपालथोक सम्म पुगेपछि यात्रुहरुलाई सुनकोसी गाउँपालिकाले सहयोग गरी उनिहरुलाई आ–आफ्नो स्थान सम्म पु्र्याएका छन् ।

रोशी गाउँपालिका अध्यक्ष डि.बि. लामाले अलपत्रमा परेकाहरुलाई उद्दार गर्न पाएकोमा सामाजिक संजाल मार्फत खुसी व्यक्त गरेका छन् । ‘अलपत्र परेका मानिसहरुको दुःख टुलुटुलु हेरेर बस्न पटक्कै सकिएन’ उनले भने । काठमाण्डौ लगायतका स्थानबाट धेरैको संख्यामा यहाँ आईपुग्ने गरेका छन्, छिमेकि नमोबुद्ध नगरपालिका र सुनकोशी गाउँपालिका सँग समन्वय गरेर अलपत्र परेका मानिसहरुलाई उद्दार गरेको पालिकाको अध्यक्ष डि.बि. लामाले बताए ।

के बाल बच्चा, के गर्भवति, के वृद्ध-वद्धा, के अपाङ्गता भएका व्यक्ति ! लामवद्ध भएर बि.पि. राजमार्गमा हिडिरहेका हुन्छन् । रोशी गाउँपालिका अध्यक्ष डि. बी. लामाले उनिहरुको दुख पिडा देख्न नसकेर यस अघि गाउँपालिका भवन अगाडि निर्मित चौतारामा जम्मा भएका कयौँ मानिसको उद्धार गरिसकेका छन् । उनिहरुलाई पानी, बिस्कुट, चाउचाउको व्यवस्था गर्छन् । गाउँपालिकाको गाडि नभएको खण्डमा उनि आफ्नै गाडि लिएर पनि मानिसहरुको उद्धार गर्ने गर्छन् ।


तपाईको प्रतिक्रिया