काभ्रे (खानिखोला) – खानीखोला गाउँपालिका वडा नं. ४ फुलडाँडामा माटोको ढिस्कोले पुरिँदा घाइते भएकामध्ये २४ वर्षिय एरिना गोलेको मृत्यु भएको छ । घर लिपपोतको लागि माटो लिन जाने क्रममा उनीहरुलाई ढिस्कोले आज दिउँसो पुरेको थियो ।

माटोको डिस्कोले पुर्दा तीन जना गम्भिर घाइते छन् भने एक जना सामान्य घाइते अवस्थामा रहेको नेकपाका जिल्ला सदस्य दैवलाल घिसिङले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते हुनेहरुमा सो वडाका धनबहादुर गोलेकी छोरीहरु, १९ वर्षिय सरिना गोले, ११ वर्षिय सनिसा गोले र ९ वर्षिय अनिसा गोले रहेका छन् । उनीहरु मध्ये अनिसा गोले भने सामान्य रहेको उनले जानकारी दिनुभयो ।

घाइतेहरुलाई तालढुंगा इलाका स्वास्थ्य कार्यालयमा उपचारको लागि लगिएको थियो । तालढुंगामा उपचार नहुने भएपछि गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले प्रतिनिधिसभा सदस्य सांसद गंगाबहादुर तामाङ र पूर्व मन्त्री एवं सांसद गोकुल बाँस्कोटालाई उद्धारको लागि अनुरोध गरेका थिए । सोही अनुसार सांसदद्वय बाँस्कोटा र तामाङको पहलमा हेलिकोटप्टर मार्फत अहिले उद्धार गरि बनेपाको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।


तपाईको प्रतिक्रिया