काठमाडौँ – कोभिड–१९ को जोखिम हुन नदिन जारी बन्दाबन्दी (लकडाउन)का कारण नेपालको पुनःनिर्माण सम्बन्धी आयोजना गर्न लागिएको राष्ट्रिय विचार गोष्ठी स्थगन गरिएको छ ।

पुनःनिर्माणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनको पूर्वतयारीका क्रममा यही वैशाख १० देखि १२ गतेसम्म राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यहाँ राष्ट्रियस्तरको गोष्ठी आयोजना गर्ने तयारी गरेको थियो । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण विषम परिस्थिति उत्पन्न भएकाले गोष्ठी स्थगन गरिएको सम्मेलन सचिवालयका सदस्य सचिव एवं प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो ।

विसं २०७७ मङ्सिर १२ देखि १४ (सन् २०२० नोभेम्बर २७ देखि २९) सम्म नेपालको पुनःनिर्माणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । गोष्ठी स्थगनबाट पर्न गएको असुविधाप्रति प्राधिकरणले दुःख व्यक्त गरेको छ । रासस


तपाईको प्रतिक्रिया