जुम्ला – जुम्लामा भारत तथा तेस्रो मुलुकबाट भित्रिएकाहरुको रेपिड डाइगोनोष्टिक टेष्ट गर्न स्वास्थ्यकर्मीको टोली खटिएको छ । यसअघि स्वाब लिन नसकेका र क्वारेन्टाइनमा नबसेका तथा विदेशबाट भित्रिएका सबैको कोरोना भाइरसको आरडिटी गर्न थालिएको हो ।

जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा नेतृत्वको टोली हरेक स्थानीय तहको पायक पर्ने स्थानमा पुगेर द्रुत निदानात्मक परीक्षण गर्न थालिएको हो । जिल्लामा विदेशबाट भित्रिएकाहरुका कारण गाउँमा त्रास सिर्जना भइरहेको छ । गाउँमा आएर स्वास्थ्यकर्मीको टोलीले परीक्षण गर्न थालेपछि स्थानीयवासीमा खुशी छाएको तिला गाउँपालिका वडा नं १ की उमाकला सार्कीले बताइन् ।

यसैबीच तातोपानी गाउँपालिकाका ६ स्वास्थ्य संस्थामा ६ –६ का दरले २४ थान पिपिई जनस्वास्थ्य कार्यालय जुम्लाले दिएकाले काम गर्न सजिलो हुने स्वास्थ्य शाखाले जनाएको छ ।

यसैबीच, जुम्लामा एक नगरपालिकासहित सात गाउँपालिकाले कोभिड–१९ सङ्क्रमितका लागि तयार गरिएका २६६ शय्याको क्वारेन्टाइन खाली हुँदै गएको छ । तातोपानी गाउँपालिकाले ६४ शय्याको क्वारेन्टाइनमा १२ र हिमा गाउँपालिकाले ३० शय्याको क्वारेन्टाइनमा २० जनालाई राखेको स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईँले बताए ।


तपाईको प्रतिक्रिया