काठमाण्डौ – लकडाउनको अवधिमा पास लिएर गुड्ने गाडीले पासको दुरुपयोग गरेको पाइएपछि ट्राफिक प्रहरीले त्यस्ता गाडीलाई कडाइ गर्ने भएको छ ।

सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समयका लागि भनि तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएको प्रहरीले जनाएको हो । त्यस्ता गाडीलाई ट्राफिक प्रहरीले कडाइका साथ जाँच गर्ने ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले बताउनु भयो ।

उहाँका अनुसार अत्यावश्यक कामबाहेक अन्य समयमा समेत घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यक बाहिरी अवस्था हेर्न त्यस्ता गाडीहरु गुडेको भेटिएका छन् । अब त्यस्ता गाडीलाई ट्राफिक प्रहरीले निगरानी बढाउनुको साथै दुरुपयोग गरेको पाइए कारबाही गरिने उहाँको भनाइ छ । यसैबीच अहिलेसम्म ट्राफिक प्रहरीले लकडाउन उल्लंघन गर्ने ८ हजार ९ सय ७४ गाडी होल्ड गरेको तथा १ हजार ८ सय ४६ वटा पासको दुरुपयोग गरी गुडेका गाडीको पास नियन्त्रणमा लिएको छ ।

त्यसैगरी लकडाउनको समयमा २१ जना जाँडरक्सी पिएर गाडी चलाउने चालकलाई समेत कारबाही गरिएको महाशाखाले जनाएको छ । उपत्यकमा दिनमा १ सय ५५  र रातमा ४५ ठाउँमा चेकप्वाइन्ट राखेर जाँचको व्यवस्था मिलाइएको छ ।


तपाईको प्रतिक्रिया