स्पेनिस क्लब बार्सिलोनाको एकेडेमीका हुर्किएका क्यामरुन तथा डच क्लब आयाक्सका गोलरक्षक आन्द्रे ओनानाले बार्सिलोना आफ्नो घर रहेको र क्लबले चाहेको अवस्थामा जुनसुकै बेला पनि फर्कन सक्ने बताएका छन् ।

२४ वर्षीय ओनानाले सन् २०१० देखि २०१५ मा बार्सिलोनाको युथ एकेडेमीमा आफ्नो प्रतिभा निखारेका थिए । त्यसपछि उनी नेदरल्यान्ड्सको आयाक्समा पुगेका थिए । ओनानालाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब चेल्सीले चासो देखाइरहे पनि उनले बार्सिलोना फर्कने मनसायमा छन् ।

बार्सिलोनाले ओनानालाई गत वर्ष अनुबन्धको प्रस्ताव गरे पनि उपयुक्त समय नभएको भन्दै प्रस्ताव अस्वीकार गरेका थिए । तर, अहिले ओनानाले आउदो समरमा बार्सिलोनाको प्रस्ताव आएको खण्डमा स्विकार्ने बताएको छ । ओनानाको क्लबका प्रशिक्षक जोसेप मारिया बार्टाेमेउ र प्रशिक्षकसँग उनको राम्रो सम्बन्ध रहेको बुझिएको छ । ‘मलाई यहाँ भन्न गाह्रो छैन । किनकि बार्सिलोनाको अध्यक्ष बार्टाेमेउ र प्रशिक्षकहरूसँग अझै राम्रो सम्वन्धमा छु । मैले भने बार्सिलोना मेरो घर हो । यदि मलाई फिर्ता जानुछ भने म जुनसुकै समयमा पनि जानेछु,’ ओनानाले भने, ‘तर, अहिले म आयाक्सको गोलरक्षक हुँ । आउँदो समरमा के हुनेछ । मेरो ध्यान खेल र मैदानमा केन्द्रित छ । बाँकी कुराहरू मेरो एजेन्टले गर्नेछन् ।’

आयाक्समा ओनानाको सम्झौता २०२२ सम्म रहेको छ । यद्यपि, ओनानाले आउँदो समरदेखि नै क्लब छाड्ने मनासयमा छन् । पछिल्लो समय क्लबका पहिलो रोजाइका गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनको खराब फर्मका कारण ओनानालाई बार्सिलोनाले ३० देखि ३५ मिलियन पाउन्डसम्ममा अनुबन्ध गर्न सक्नेछ । ओनानाले आयाक्सका लागि १ सय ७४ खेल खेल्दा ७४ क्लिन सिट राखेका छन् । ओनानाकै उच्च प्रदर्शनमा आयाक्सले गत सिजन यूईएफए च्याम्पियन्स लिगमा अविश्वनीय रूपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । उनी २०१९ को उत्कृष्ट गोलरक्षकसमेत चुनिएका थिए ।

यता, फ्रेन्च क्लब पीएसजीले पनि ओनानामाथि चासो देखाइरहेका छन् । पीएसजीले स्पेनिस क्लब रियल म्याड्रिडका पूर्वगोलरक्षक केलर नाभासाको विकल्प खोजिरहेका छन् । यस्तै, प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले पनि आफ्नो पहिलो रोजाइका तथा विश्वकै महँगा गोलरक्षक किपा एरिजाबालागाको विकल्पमा ओनानालाई अनुबन्ध गर्ने प्रयास गरिरहेको छ ।


तपाईको प्रतिक्रिया