काठमाडौं – सरकारले वितरण गरेको राहत पहुँचवालाको हातमा मात्रै पुग्ने गरेको छ । पीडित मजदुर र विद्यार्थी भने राहतबाट वञ्चित नै हुने गरेका छन् । यस्तै, राहत नपाउनेमा कैलाली घोडाघोडी नगरपालिकाका २३ वर्षीय विद्यार्थी नरेन्द्र उखेडा छन् । उनी मध्य बानेश्वरस्थित एउटा कोठा भाडामा बस्दै आएका छन् ।

उनी पढ्नकै लागि दुई वर्षअघि काठमाडौंमा आएका थिए । बीएमा पढ्दै गरेका उनले विश्वव्यापी कोरोना भाइरस संक्रमण फैलिइन नदिइन सरकारले गरेको लकडाउनले बिहान बेलुका छाक टार्न समस्या परेका बताउँछन् । उखेडा भन्छन, ‘किनेर खान पैसा छैन । घरबाट पैसा पठाउन सक्ने वातावरण छैन । घर जान सक्ने अवस्था पनि छैन ।’ यो पीडा उनको मात्रै होइन । उनीसँग बस्ने अन्य साथीको अवस्था पनि त्यस्तै छ । उखेडा भन्छन, ‘कञ्चपुरका सन्जीत तरुवा, वीरेन्द्र चँदरा, कैलालीकी आशा चँदरा र भुवन वड हामी कसैसँग अहिले खानका लागि न चामल छ न त आटा नै हामी सबै सुदूरपश्चिमका साथी छौं ।’

आफूसँग भएको सबै सामान सकिएपछि सय नम्बर डाइल गरेर प्रहरीलाई केही खाद्यान्नको व्यवस्था मिलाइन दिन गुहार माग्दा प्रहरीले पीडित विद्यार्थीलाई सरकारले स्थानीय तहमार्फत खाद्यान्न राहत वितरण गरिरहेकाले आफू बस्ने वडामा सम्पर्क गर्न भनेको उनले बताए । प्रहरीकै सल्लाहअनुसार काठमाडौं–१० वडा कार्यालयमा राहतका लागि सम्पर्क गरेको साता दिन बढी भइसकेको छ तर वडा कार्यालयले राहत नदिएको उनको भनाइ छ । तर, त्यही स्थितमा हाम्रो नजिक बस्ने स्थानीयले भने एउटै व्यक्तिले दुईपटक त्यसै वडाबाट राहत ल्याएको पनि उखेडा बताउँछन् ।

उखेडा निन्याउरो मुख लगाउँदैन भन्छन्, ‘लकडाउनले न घर जाने सक्छौं, न त खाद्यान्न छ न त पैसा ।’ यस्ता धेरै विद्यार्थी र मजदुरले राहत पाउन सकेका छैनन् । तीन साता लामो लकडाउनले काठमाडौंमा कोठा भाडामा बस्ने धेरै विद्यार्थीमा यस्तै समस्या रहेको छ । विद्यार्थी र मजदुरलाई बिहान बेलुकी छाक टार्न समस्या भए पनि त्यस्ता समस्या समाधान हुन सकेको छैन ।


तपाईको प्रतिक्रिया