काठमाडौं – नेपाली चलचित्र उद्योगका लागि २०७६ साल त्यति सुखद भएन । वर्षभरिमा जम्मा ५६ वटा नयाँ नेपाली चलचित्र रिलिज भए । तीमध्ये पनि आधा दर्जनले मात्र मुनाफा कमाए । हामी २०७७ सालमा प्रवेश गरेका छौं । यहाँ २०७७ सालमा आउने केही चलचित्रका बारेमा उल्लेख गर्दै छौं ।

नेपाली चलचित्रका महँगा अभिनेता अनमोल केसी र प्रदीप खड्काले २०७६ सालमा एउटा पनि चलचित्र दिन सकेनन् । यी दुवैको नयाँ चलचित्र २०७७ सालमा आउनेछन् । यीसहित अन्य कलाकारको पनि केही २०७७ मा आउने चलचित्रबारे यहाँ चर्चा गरिएको छ ।

प्रेमगीत ३
प्रदीपको नयाँ चलचित्र प्रेमगीत ३ चैतको अन्तिम सातामा आउने भनिए पनि विश्वव्यापी फैलिएको कोरोना संक्रमणका कारण यो चलचित्र आउन सकेन । यो चलचित्र अब २०७७ मा आउने भएको छ । साउनसम्म कोरोना संक्रमण पूर्ण साम्य भएमा यो चलचित्र भदौमा रिलिज हुँदै छ । सन्तोष सेन निर्मित निर्देशित यो चलचित्र २ सय वर्ष पुरानो प्रेम कथामा आधारित रहेको बताइएको छ । जसमा प्रदीप खड्कासँगै क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापासहितको मुख्य भूमिका छ ।

ए मेरो हजुर ४
२०७६ सालभरि अभिनेता अनमोल केसीको एउटा चलचित्र पनि रिलिज हुन सकेन । २०७७ मा उनको नयाँ चलचित्र ए मेरो हजुर ४ रिलिज हुने भएको छ । करिब २० प्रतिशत छायांकन सकिएको यो फिल्मको लकडाउन खुलेपछि बाँकी छायांकन हुने निर्देशक झरना थापाले बताएकी छन् । ए मेरो हजुरका विगतका शृंखलाजस्तै यो पनि प्रेम कथामा आधारित रहेको छ । यो चलचित्रलाई आगामी दसैंमा रिलिज गर्ने लक्ष्य निर्माता सुनिलकुमार थापाको छ । जसमा अनमोल केसी, सुहाना थापा, सलोना बस्नेतसहितको मुख्य भूमिका छ ।

म यस्तो गीत गाउँछु २
निर्देशक सुदर्शन थापाले म यस्तो गीत गाउँछुको सफलतापछि यो चलचित्रको प्रिक्वेलका रूपमा म यस्तो गीत गाउँछु २ निर्माण गरेको छन् । गत ३० फागुनमा रिलिज हुने भनिएको यो चलचित्र पनि कोरोना संक्रमण महामारीका कारण त्यो मितिमा आउन सकेन । अब यो चलचित्र भदौमा रिलिज हुने आशा गरिएको छ । पूर्ण प्रेम कथामा आधारित यो चलचित्रमा पल शाह, पूजा शर्मा, गणेश गिरीसहितको मुख्य भूमिका छ ।

चपली हाइट ३
२०७७ सालमा रिलिज हुने अर्को चलचित्र चपली हाइट ३ हो । यो चलचित्र यही नयाँ वर्षको अवसरमा २८ चैतमा रिलिज हुने भनिए पनि कोरोना संक्रमणका कारण हुन नसकेको यसका निर्माता अर्जुन कुमारले बताएका छन् । यो फिल्म एक्सन, थ्रिल लभस्टोरीमा आधारित रहेको छ । जसलाई निकेश खड्काले निर्देशन गरेका हुन् । चपली हाइटको यो तेस्रो शृंखला हो । जसमा स्वस्तिमा खड्का सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतमसहितको मुख्य भूमिका रहेको छ ।

लक्का जवान
यो हास्यप्रधान चलचित्र हो । यसलाई कलाकार शिवहरि पौडेलले निर्देशन गरेका हुन् । गएको २१ चैतमा रिलिज हुने भनिएको यो चलचित्र कोरोना संक्रमणले सिनेमा हल बन्द भएपछि रिलिज हुन सकेन । अब यो फिल्म आगामी भदौमा रिलिज गर्ने लक्ष्य रहेको निर्देशक पौडेलले बताएका छन् । मानिसहरू जति उमेर ढल्कँदै गयो उनी लक्का जवान देखिन खोज्न भन्ने सन्देश यो फिल्मले बोकेको छ । जसमा दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा शिवाकोटी, सलोन बस्नेत, शिवहरि पौडेल, किरण केसी, सरोज खनाल, राजाराम पौडेलसहितको मुख्य भूमिका छ ।

हिजोआजका कुरा
हास्य अभिनेता सन्तोष पन्तको एक समयको चर्चित हास्य टेली शृंखला हिजोआजका कुरा अब चलचित्रका रूपमा आउने भएको छ । यही वैशाखमा रिलिज हुने भनिएको यो चलचित्र अब भदौ वा असोजमा आउने बताइएको छ । साकार पन्तले निर्देशन गरेको यो चलचित्र पनि हास्यप्रधान जनरामा बनेको साकारले बताए । जसमा साकारसहित सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मालगायतको मुख्य भूमिका छ ।

नीरफूल
दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र नीरफूल पनि अब २०७७ सालमा रिलिज हुने भएको छ । यो चलचित्रलाई सञ्चारकर्मी फूलमान बलले निर्देशन गरेका हुन् । २०७२ सालको विनाशकारी भूकम्पले घर गुमाएपछि छिन्न भिन्न भएका परिवारको पीडामा यो फिल्म केन्द्रित छ । गएको ७ चैतमा रिलिज हुने भनिएको यो फिल्म पनि कोरोना संक्रमणकै कारण रिलिज भएन । अब यो चलचित्रलाई उचित समय हेरेर रिलिज गर्ने निर्देशक बलले बताए । जसमा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइबा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबालगायतको अभिनय छ ।

माइकल अधिकारी
चलचित्र माइकल अधिकारी पनि २०७७ साल दसैंसम्म रिलिज हुने नेपाली चलचित्र हो । सेरोगेसी (गर्व भाडामा लिएर बच्चा जन्माउने) कथामा यो चलचित्र आधारित हरेको छ । गोपीकृष्ण मुभिजको ब्यानरमा निर्मित यो चलचित्र सामाजिक विषयमा आधारित रहेको यसका निर्माता निरक पौडेलले बताएका छन् । चलचित्र माइकल अधिकारीलाई रञ्जित रौनियारले निर्देशन गरेका हुन् । जसमा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् ।

नाइ नभन्नु ल ६
२०७७ सालमा रिलिज हुने अर्को आशालाग्दो चलचित्र नाइ नभन्नु ल ६ हो । यो चलचित्रमा अनुभव रेग्मी, सेड्रिना, प्रियंका कार्की, वर्षा राउतसहितको मुख्य भूमिका छ । विगतको जस्तै यो फिल्म पनि पारिवारिक कथामा आधारित हुनेछ । यो चलचित्रको छायांकन लकडाउन खुलेपछि सुरु हुनेछ । यसलाई विकासराज आचार्यले निर्देशन गर्दै छन् ।

छक्कापन्जा ४
छक्कपन्जाको चौथो शृंखला निर्देश दीपाश्री निरौलाले २०७७ दसैंमा ल्याउने घोषणा गरेकी छन् । स्क्रिप्ट तयार भएको यो चलचित्रको छायांकन लकडाउन खुलेपछि सुरु गरिने भएको छ । जसमा दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरेसहितको मुख्य भूमिका हुनेछ ।

२ नम्बरी
दीपेन्द्र लामाले पछिल्लो चलचित्र ६ माया छपक्कैको सफलतापछि अर्को नयाँ चलचित्र २ नम्बरीको निर्देशन गरिरहेका छन् । २० प्रतिशत छायांकन सकिएको यो चलचित्रको बाँकी छायांकन लकडाउन खुलेपछि हुनेछ । यो हास्यप्रधान सामाजिक कथामा केन्द्रित रहने पनि निर्देशक लामाले बताए । यो चलचित्र आगामी तिहारमा रिलिज गर्ने लक्ष्य निर्माता किरण नेपालीको छ । जसमा दयाहाङ राई, उगेन छोदेन, पल शाह, वर्षा राउतसहितको मुख्य भूमिका छ ।

सम्हालिन्छ कहिले मन
निर्देशक सुदर्शन थापाको अर्को नयाँ चलचित्र सम्हालिन्छ कहिले मन पनि २०७७ सालमै रिलिज हुने भएको छ । बेलायतमा छायांकन गरिएको यो चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको निर्देशक थापाले जानकारी गराएका छन् । यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनाम तोप्देनसहितको मुख्य भूमिका छ । चलचित्रको निर्माण सम्पन्न भएर प्रदर्शनका लागि तयारी अवस्थामा रहेको छ ।

के घर के डेरा
दयाहाङ राई र विपिन कार्कीको संयुक्त अभिनय भएको चलचित्र के घर के डेरा २०७७ सालमा रिलिज हुनेछ । यो चलचित्रलाई सञ्चारकर्मी सुव्रतराज आचार्यले निर्देशन गर्दै छन् । यो चलचित्र कहिले रिलिज हुन्छ भन्ने तय भएको छैन । तर, यसको छायांकन भने यही जेठको मध्यबाट सुरु गरिने यसका निर्देशक आचार्यले बताएका छन् । यो चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउतसहितको मुख्य भूमिका हुनेछ । डेरा गरी बस्ने युवाहरूको संघर्षमा आधारित यो सामाजिक कथामा निर्माण हुने पनि निर्देशक आचार्यले बताएका छन् ।

परदेशी २
निर्देशक नारायण रायमाझीले लोक गायक प्रकाश सपूतलाई नायकका रूपमा लिएर नयाँ चलचित्र परदेशी २ निर्माण निर्देशन गरिरहेका छन् । परदेशीको सफलतपश्चात् उनले परदेशी २ निर्माण थालेका हुन् । वैदेशिक रोजगारीको समस्यामा केन्द्रित यो चलचित्रमा प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, प्रकाश सपूतसहितको मुख्य भूमिका हुनेछ । यो चलचित्रलाई आगामी दसैंमा रिलिज गरिने यसका निर्देशक रायमाझीले बताएका छन् ।

पानीफोटो
अभिनेता खगेन्द्र लामिछानेको नयाँ चलचित्र पानीफोटो पनि २०७७ मै रिलिज हुने भएको छ । उनले आफ्नो चर्चित नाटक पानीफोटोलाई चलचित्रका रूपमा निर्माण गरेका छन् । यो चलचित्रको निर्देशन आफैं गरेका लामिछाने भूमिकामा छन् । पानीफोटोमा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, बुद्धि तामाङ, कमलमणि नेपाल, श्यामकुमार खड्कासहितको अभिनय रहेको छ ।


तपाईको प्रतिक्रिया