काभ्रे (धुलिखेल) – कोरोना भाइरस (कोभिड १९)को संक्रमण छ कि छैन भनि कम समयमा नै पत्ता लगाउन गरिने जाँच रयापिट डाईग्नोस्टिक टेस्ट आरडिटि हो ।आइतबार जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले सबै स्थानिय तहहरुलाई आरडिटि किट वितरण गरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्रकुमार शाहले जानकारी दिनुभयो ।

काभ्रेको १३ वटा स्थानिय तहहरुमध्ये हामीले जिल्लामा रहेको ७ वटा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखहरु संग सम्पर्क गरि कुन गाउँपालिकामा कहिलेदेखि सुरु गर्ने तयारी बारे बुझेका छौ ।काभ्रेको दुई स्थानियतहहरु बेथानचोक र रोशी गाउँपालिकाले आजदेखि जाँच सुरु गरेकोे छ ।

बेथानचोक गाउँपालिका

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सीताराम तिमिल्सिनाका अनुसार चैत्र महिनामा २० जना मानिसहरु विदेशबाट आएका छन् । गाउँपालिकाले आज २० जना मध्ये २ जनाको जाँच गरेकोमा दुबैजनाको कोरोना भाइरस संक्रमण देखिएको छैन । बाँकी अठ्ठार जनाको परिक्षण मंगलबारसम्ममा सकाउने तयारी रहेको छ । चैत्र ११ गतेदेखि संचालन गरेको हेल्थ डेब्स अझै संचालनमा रहेकोमा अहिलेसम्ममा लगभग २५सय जनाको स्वास्थ्य जाँच गरेको छ ।

रोशी गाउँपालिका

रोशी गाउँपालिकामा चैत्र महिनामा १७ जना विदेशबाट फर्किएका मध्ये आइतबार ४ जनामा गरिएको जाँचमा चारै जनाको रिर्पोट नेगेटिभ अर्थात कोरोना भाइरसको संक्रमण नभएको पाएको र बाँकी १३ जनाको जाँच मंगलबारसम्ममा सकाउने तयारी रहेको स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले स्पष्ट पार्नुभयो ।

तेमाल गाउँपालिका

तेमाल गाउँपालिकामा चैत्र महिनामा विभिन्न देशहरुबाट आएका मानिसहरुको संख्या १० जना रहेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकका अनुसार आरडिटि अगामी वैशाख २ गतेदेखि सुरु गर्ने भएको छ । विदेशबाट आएका मानिसहरुमा कोरोना भाइरसको संक्रमणमा देखिने लक्षण कसैमा नदेखिएका पाठकले बताउनु भयो ।

महाभारत गाउँपालिका

महाभारत गाउँपालिकामा चैत्र महिनामा विदेशबाट फर्किएका मानिसहरु गाउँपालिका वडा नं.२, ३, ४ का एक एक जना र ७ नं. वडाको २ जना गरि ५ जना रहेको छ । उनीहरु सबै जना घरमै एकान्तबास बसेका र कम्तिमा दुई हप्ता पूरा गरिसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिसिं विष्टले जानकारी दिनुभयो । ति ५ जनाको आरडिटि भोलीदेखि हुनेछ ।

खानीखोला गाउँपालिका

खानीखोला गाउँपालिकामा चैत्र महिनामा विदेशबाट २ जना आएका छन् । गाउँपालिकामा प्रयोगशाला नभएकोले छिमेकी गाउँपालिका महाभारतसंग सहकार्य गर्दै अगामी वैशाख ४ गते र ९ गतेका आरडिटि गर्ने तयारी रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामपुकार यादवले जानकारी दिनुभयो ।खानीखोला गाउँपालिकाबासी विशेषगरि दक्षिणी भागहरु सिन्धुली, हेटौडामा व्यापारिक दृष्टिले आवतजावत रहने गर्दछ । आइतबार वीरगन्जमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै स्थानियहरुमा त्रास फैलिएको स्वास्थ्य शाखा प्रमुख यादवले बताउनु भयो ।

भुम्लु गाउँपालिका

यो गाउँपालिकामा फागुन र चैत्र महिनामा गरि २१ जना मानिसहरु विभिन्न देशबाट आएका छन् । चैत्र महिनामा २ जना आएकोमा वैशाख २ गते पाँचखाल नगरपालिकामा आरडिटि गर्ने तयारी रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुदर्शन भट्टराईले जानकारी दिनुभयो । गाउँपालिकाभित्र प्रयोगशाला नरहेकोले पाँचखाल नगरपालिकामा लानुपर्ने बाध्य रहेको भट्टराईले स्पष्ट पार्नुभयो । उहाँका अनुसार भुम्लु गाउँपालिकाले ३० बेडको क्वारेन्टाईन पनि तयारी गरेको छ ।

चौरी देउराली गाउँपालिका

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तेज बहादुर घिसिङका अनुसार गाउँपालिका अन्तर्गत २ वटा प्रयोगशाला रहेको छ । चैत्र महिनामा विदेशबाट चौरी देउराली गाउँपालिका वडा नं. ६ का तिनजना र वडा नं. १ को एकजना गरि ४ जना आएका छन् । उनीहरुको आरडिटि सोमबार गर्ने तयारी भएको स्वास्थ्य शाखा प्रमुख घिसिङले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया