भक्तपुर – भक्तपुर अस्पतालले कोरोना भाइरस (काेभिड १९) को परीक्षण गर्न सुरु गरेको छ । अस्पतालले विदेशबाट आएर घरमा एकान्तवासमा बसिरहेका र उनीहरुसँगको सम्पर्कमा रहेकाहरुको र्‍यापिड किट (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) मार्फत काेराेना परीक्षण सुरु गरेको हो ।

वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले तीन सय र्‍यापिड किट अस्पतालका लागि पठाएको थियो । विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेर घरमा एकान्तवास बसेका, चिकित्सककाे निर्देशन अनुसार १४ देखि २१ दिनसम्म क्वरेण्टीनमा बसेकाहरुकाे र्‍यापिड किटमार्फत परीक्षण गरिने भएको हो ।

परीक्षणमा रिपोर्ट पोजेटिभ आएमा आइसोलेशनमा राखेर उपचार गर्ने र थप परीक्षण एवम् उपचार आवश्यक परे काठमाण्डौको सरुवा रोग नियन्त्रण अस्पताल टेकु पठाइने मेडिकल सुपरिटेन्डेन्ट डा. गौतमले जानकारी दिनुभयो ।अस्पतालले अहिलेसम्म एक सय ५४ जनाको स्वाब नमुना सङ्कलन गरी राष्ट्रिय प्रयोगशाला टेकु पठाएकोमा ९० जनाको रिपोर्ट नेगेटिभ आएको र अन्यको रिपोर्ट आउनै बाँकी रहेको उहाँले बताउनुभयाे ।

साथै रुघाखोकी लागेर दैनिक २५ देखि ५० जनासम्म स्वास्थ्य परीक्षणका लागि आएको जानकारी दिँदै अस्पतालले चार शय्याकाे आइसोलेशनलाई बढाएर १० शय्यामा पुर्‍याएकाे उहाँले जानकारी दिनुभयो । आइतबार आठ जनाको आइसोलेशनमा उपचार भइरहेको जानकारी दिँदै उहाँले आइसोलेशनमा दैनिक बिरामी बढिरहेको बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले आजदेखि जिल्लाका अस्पतालको अनुगमन समेत सुरु गरेको छ ।

कार्यालयका प्रमुख कृष्ण मिजारले आइतबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य, सिद्धिस्मृति अस्पताल र डा. इवामुरा अस्पतालको अनुगमन गर्ने जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया