तनहुँ – अठार दिनयताको लकडाउनका कारण भानु नगरपालिका–१ को गन्धर्व बस्तीमा खाद्य वस्तु अभाव भए पनि अझै राहत पुग्न सकेको छैन । आर्थिक अवस्था कमजोर भएका सो समुदायका २५ घरपरिवार राहतको पर्खाइमा छन् । दिनभरि कमाएर बिहानबेलुकाको छाक टार्ने यहाँका अधिकांश गन्धर्व परिवारमा धेरै दिनका लागि खाद्य सामग्री राख्ने क्षमता हुँदैन ।

स्थानीयवासी सीता गन्धर्वले आफ्ना घरमा चुल्हो बल्न नसकेकाले रोगले भन्दा भोकले मरिने पो हो कि भनी आशंका गर्नुभयो । सारङ्गी रेटी गीत गाउँदै गाउँ, शहर र यात्रुबसमा डुलेर कमाएर खाने परिवार भएकाले खाद्यवस्तु जुटाउन समस्या परेको उहाँले बताउनुभयो । स्थानीयवासी शर्मिला गान्धारीले गन्धर्व बस्तीका सबै सुकुम्बासी रहेको बताउँदै भन्नुभयो, ‘ठाउँठाउँमा राहत बाँडेको खबर सुनिएको छ तर गन्धर्व बस्तीमा अझै आइपुगेको छैन ।’

दश वर्षका उमेरदेखि गीत गाएर परिवार पाल्दै आएका ५२ वर्षीय बुद्ध गन्धर्वका अनुसार उहाँको समुदायमा एकजना पनि सरकारी सेवामा रहेको व्यक्ति छैन । उहाँले केही व्यक्ति रेष्टुरेण्टमा गीत गाउने र सारङ्गी बजाउने पेशा गर्ने गरेको तर लकडाउनका कारण हाल उनीहरूको पनि रोजीरोटी र कमाइको बाटो रोकिएको बताउनुभयो । ‘सबैको जीवनयापन गर्ने साधन भनेको यही सारङ्गी नै हो’, उहाँले भन्नुभयो, ‘केही परिवारले विभिन्न ठाउँमा गएर सारङ्गी बिक्री गरी त्यसैको आर्जनबाट जीवन गुजार्दै आएका छन् ।’ गन्धर्व समुदायकै भवानी गन्धर्व प्रश्न गर्नुुहुन्छ, ‘हामी त आज ल्याएर आजै खाने हो, बच्चा भोक लाग्यो भन्छन्, के गर्नेे ?’

भानु नगरपालिकाका उपप्रमुख आशा थापाले राहतका लागि खाद्य सामग्री खरीद गर्ने प्रक्रियामा रहेकाले चाँडै राहत वितरण गरिने बताउनुभयो । थापाका अनुसार नगरपालिकाभर एक हजार ८२१ जनालाई राहत दिनुपर्ने सूची तयार भएको छ । ती सबैलाई राहत वितरण गर्ने तयारी भइरहेको छ । वडा नम्बर २, ३ र १० मा पनि गन्धर्व बस्तीका गरीब परिवारजनलाई राहत बाँड्नुपर्ने अवस्था रहेको नगरपालिकाले जनाएको छ ।

स्थानीय गन्धर्व समुदायका सदस्य विगत भूकम्पका बेला घरैपिच्छे राहत बाँडिएको सम्झिरहेका छन् र यसपटक पनि त्यस्तै अपेक्षा गरिरहेका छन् । रासस


तपाईको प्रतिक्रिया