दैलेख – गुराँस गाउँपालिकाले कामदार, मजदूर, गरीब र विपन्न समुदायको राहतका लागि पालिकाका तहमै सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

खाद्य पदार्थ महँगोमा खरीद गर्नुपर्ने बाध्यता भएको गुनासो बढेपछि नौ वटै वडामा यस्तो तयारी थालिएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिनुभयो । सुपथ मूल्य पसल सञ्चालन गरेर बजारको दरभन्दा कम मूल्यमा खाद्यान्न वितरण गर्ने र वडासम्मको ढुवानी खर्च पालिकाले बेहोर्ने गरी काम शुरु गरिएको ओलीले बताउनुभयो ।

खाद्यान्न व्यवस्थापनका लागि सामग्री लिनेहरुलाई पनि समय निर्धारण गरिने र दूरी कायम गरेर सुरक्षित रूपमा खाद्यान्न वितरण गरिने गाउँपालिकाले जानकारी दिएको छ । हरेक वडामा एक सय बोरा चामल, दुई क्विन्टल दाल, पाँच पेटी तेललगायत सामान पठाउने तयारी भएको गाउँपालिकाका अध्यक्ष ओलीले जानकारी दिनुभयो । रासस


तपाईको प्रतिक्रिया