काठमाडौं – रातो मच्छिन्द्रनाथको जात्रा स्थगित भएको छ । यो जात्रा ललितपुरमा गरिने सबैभन्दा लामो रथयात्रा हो । यो जात्राका लागि रथ निर्माणको काम शुक्रबारदेखि सुरु हुने थियो । बिहीबार विधिपूर्वक मच्छिन्द्रनाथलाई स्नान गराएर शुक्रबारदेखि रथ निर्माणको काम गर्नुपर्ने थियो ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण रथ निर्माणको काम स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले जनाएको छ । यी दुबै संस्थाले हाल सिर्जना भएको विषम परिस्थितिका कारण रथको जग राख्ने र निर्माण कार्य दुबै स्थगित गर्नु परेको जनाएको छ । अब रथ निर्माणको काम लकडाउन सकिएपछि क्षमा पूजा गरेर सुरु गरिने निर्णय भएको छ । दोस्रो चरणको लकडाउन ३ वैशाखमा समाप्त हुँदैछ ।

रातो मच्छिन्द्रनाथको जात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ । यो जात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । वैशाख कृष्ण पक्षको प्रतिपदादेखि यो जात्रा सुरु हुन्छ । वैशाख शुक्ल पक्षको प्रतिपदाको दिनदेखि रथयात्रा सुरु गर्ने चलन छ ।


तपाईको प्रतिक्रिया