काभ्रे (बनेपा) – बिहानीपखको सुनौलो किरणसँगै बनेपा नगरपालिकाको वडा नं १० स्थित जनागाल पुग्दा, घडीमा बिहानको ८ बज्दै थियो । लक डाउनले गर्दा सडक सुनसान भएपनि कोइलीको सुरिलो आवाजले मन नै आनन्द भइरहेको थियो । कोइलीले भनेको ‘को हो को हो ’ ले आफैलाई बोलाए झैँ लाग्दै थियो । कोइलीको आवाजलाई पछ्याउँदै सडक छेउ पार गरेर केही बेरमै दुई वटा स–साना टहराहरु देखिए । टहारको प्रवेशद्वारबाटै देखिएको दृश्यले मन फेरि आन्नदित भयो । ढकमक्क फुलेका रङ्गी–बिरङ्गी फूल देख्दा, फूल टहरामा होइन, मनमै फुले झैँ भयो । मुस्कुराइरहेको फूलले भन्दै थियो, ‘एक छिन तपाई पनि मुस्कुराउँनुहोस् !’

टहरामा फूलसँगै रुद्र बहादुर खड्का दम्पत्तिसँग भेट भयो । दम्पत्ति, टिप्नमै व्यस्त थिए । सँगै उनकी छोरीले पनि सघाइरहेकी छिन् । अहिले फूलको सिजन भएर होला, उनीहरु निकै व्यस्त देखिन्थे । अरु बेलामा फूलबारीमा काम गर्दा फूलसँगै मुस्कुराउने दम्पत्तिको मुहारमा अहिले खुशी छैन । कारण, कोरोना भाइरसले गर्दा सरकारले देश लक डाउन गरेको छ । लक डाउनले गर्दा ढकमक्कै फुलेका फूल बजार पुग्न पाएका छैनन् । मिहेनतको फल खेर गएकोमा खड्का निकै चिन्तित छन् ।

घर, उनको रामेछाप । १९ वर्षदेखि उनी जनागालमा बस्दै आएका छन् । स्वदेशमै केही गर्ने सोचले स्वदेश फर्केर खड्काले पुष्प व्यवसाय सुरु गरेका थिए । विगत ७ वर्षदेखि खड्का दम्पत्तिले पुष्प व्यवसाय गरिरहेका छन् । खड्काका अनुसार पुष्प व्यवसाय फस्टाउँदै थियो । मिहेनत गरे अनुसार राम्रै भइरहेको थियो । तर अहिले लक डाउनका कारण फूल बजारमा पु¥याउन नसक्दा धेरै नोकसानी भएको उनले सुनाए ।

 

उनले ७ रोपनी जग्गा भाडामा लिएर व्यवसाय गरेका छन् । उनको फार्ममा कार्नेसन, स्टोबेरिया, एलोस्टोमेरिया, जर्बेरा, गोदावारी, सयपत्री, ग्लाडियस लगायत प्रजातीका फूलहरु फुल्छन् । कार्नेसन र स्टोबेरियाको सिजन भएकाले फार्ममा धेरै यी जातका फूल रहेका उनले बताए । ‘यसपाली नै मौसम खराबीका कारण फाल्गुणमा फुल्नुपर्ने फूल चैत्रमा मात्र फुल्यो,’ उनले भने, ‘चैत्र महिनाको पहिलो साताबाटै फूल बजारमा जानुपर्ने, त्यहीँ समयदेखि नै देश लक डाउन भयो । फूल बजारमा जान पाएनन् । सिजनको पहिलो फूलबाटै घाटा हुने भयो ।’ फूल बजार पठाउन नसकेपछि उनीहरुले फूललाई खाल्डोमा हालेर मल बनाउँदै छन् ।

मठ मन्दिरमा पुजिने, घर आँगन सजिने फूल बजार पुग्न नपाएपछि फूललाई मल बनाउन बाध्य भएकोमा उनले दुःख व्यक्त गरे । उनका अनुसार यति धेरै फूल छ, के गर्ने ? कसलाई दिने भएको छ ? देशभर सबै ठाउँमा कोरोनाको त्रास छ । अरुलाई फूल दिदाँ संक्रमण फैलिने हो की भनेर उल्टै शंका गर्ने भन्दै उनले गुनासो गरे । दुई तिन दिन बिराएर उनको फार्मबाट १०देखि १५ हजार स्टिक फूल निस्किन्छ । ‘अहिलेसम्म ४ पटक यहाँको फूल टिपेर फ्याल्यौँ । करिब ५० हजार स्टिक फूल नास भयो । लक डाउनले गर्दा ४ लाख जति घाटा हुन देखिएको छ ।’

आफूले यसरी फूल फ्याल्नुभन्दा अस्पतालमा उपचाररत बिरामीलाई सु–स्वास्थ्यको कामना गर्दै फूल उपहार दिन पाए धेरै राम्रो हुन्थ्यो भन्ने उनलाई लागेको छ । ‘आफैले उब्जाएको फूल आफैले नष्ट गर्दा मन नै चसक्क हुन्छ,’ उनले भने, ‘बरु हामीले बिरामीलाई फूल दिन सके उहाँहरुको मन खुशी हुन्थ्यो । फूल देखेपछि उहाँहरुमा सकारात्मक भावना पनि आउथ्यो ।’ फूललाई अस्पताल लगायतका क्षेत्रसम्म पु¥याउन प्रशासनले सहयोग गरेमा लक डाउन नखोलेसम्म आफूहरु फूल दिन तयार भएको उनले सुनाए । उनका अनुसार फार्मका फूलहरु सबै सुरक्षित रहेको र त्यहाँ काम गर्दा निकै होसीयारी भएर गरिएकाले कुनै शंका मान्नुपर्ने स्थिती छैन ।


रुद्रको जस्तै समस्या छ, जनागालकै अर्का पुष्प व्यवसायी सुष्मा बस्नेतको पनि । विगत ११ वर्षदेखि पुष्प व्यवसायमा आवद्ध उनी अहिले लक डाउनका कारणले निकै चिन्तामा छिन् । सिजनकै बेलामा आफैले उब्जाएको फूल आफैले नष्ट गर्नु परेकोमा उनले दुःख व्यक्त गरिन् । ‘ऋण गरेर लगानी गरियो,’ उनले दुःख व्यक्त गर्दै भनिन्, ‘आम्दानी लिने बेलामा यसरी सबै फूल फ्याल्नु परेको छ ।’ अब ऋण कसरी तिर्ने ? जग्गा भाडा कसरी तिर्ने ? कर्मचारी तलब कसरी दिने भन्ने चिन्ताले उनलाई सताउन थालेको छ । ‘आफ्नो बाल बच्चालाई जत्तिकै स्याहार गरेर हुर्काएर फलाएको फूललाई फ्याल्दा आफ्नै बच्चालाई मारेझैँ लाग्ने रहेछ,’ उनले दुखेसो गरिन् ।

केही समय अघिसम्म फूल देख्दा रमाएको मन, त्यहीँ फूलबाट भएको घाटाले दुःखीत बनाएका पुष्प व्यवसायीसँगको कुराकानीले दुःखी बनायो । समय सधैँ उस्तै रहदैँन । आजभन्दा भोलिको दिन अझैँ राम्रो हुनेछ । परिश्रमी हातहरु कहिल्यै पछि सर्दैनन् । त्यो फूलबारीमा भोली अझै धेरै राम्रा फूलहरु फुल्नेछन् । फूलसँगै त्यहाँ तपाईको जीवन फुल्नेछ र फूल जस्तै मुस्कुराईरहनेछ ।


तपाईको प्रतिक्रिया