काभ्रे (धुलिखेल) – जिल्लाको धुलिखेल नगरपालिका स्थित धुलिखेल अस्पतालमा कोरोना भाइरस सङ्क्रमणसम्बन्धी परीक्षण सेवा सुरु गरिएको छ । आज (आईतवार) ११ जनाको परीक्षण गरिएको अस्पतालले जनाएको छ । हरेक आइतबार र बुधबार कोरोना भाइरसको स्वाव परीक्षण हुने अस्पतालले जनाएको छ ।

आज परीक्षण गरिएको रिपोर्ट भने सोमबार मात्र आउने अस्पतालका डा. सुमन ताम्राकारले जानकारी दिए । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमण परीक्षण तथा उपचारका लागि अस्पताललाई धुलिखेल नगरपालिका मार्फत रु २० लाख उपलब्ध गराएको जानकारी दिए ।

डा. झाका अनुसार सङ्क्रमणको अवस्था अनुकूल परीक्षणको अवधि थपिने गरी पहिलो चरणमा हप्तामा दुई दिन कोरोना भाइरसको परीक्षण सुरु गर्ने बताउदै उनले भने, “आवश्यकताका आधारमा थप गर्दै लैजाने छौँ” ।

झाका अनुसार धुलिखेल अस्पतामा कोरोना सङ्क्रमणको परीक्षण शुरु भएपछि छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा भक्तपुरका केही नागरिकलाई सहज हुनेछ । यसअघि काठमाडौंको टेकूस्थित शुक्रराज सरुवा रोग अस्पतालमा परीक्षण गरिँदै आइएको थियो ।


तपाईको प्रतिक्रिया