काभ्रे (धुलिखेल) – जिल्लाको धुलिखेल नगरपालिका स्थित धुलिखेल अस्पतालमा भोली (आईतबार) बाट कोरोना संक्रमण सम्वन्धी परिक्षण शुरु हुने भएको छ ।

पहिलो चरणमा हप्ताको दुई दिन मात्रै कोरोना संक्रमणको परिक्षण हुनेछ । पिपिई, परिक्षण किट लगायतका सामाग्रीहरुको ब्यवस्थापनका लागि पहिलो चरणमा साताको दुई पटक मात्रै परिक्षको ब्यवस्था मिलाईएको हो ।

बागमती प्रदेश सरकारले उक्त रोगको परिक्षण र उपचारका लागि धुलिखेल अस्पताललाई नगरपालिका मार्फत २० लाख उपलब्ध गराई सकिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताए । उनका अनुसार सामाजिक विकास मन्त्रालयले नगरपालिकाको खातामा उक्त रकम पठाई सकेको छ ।

अस्पतालका संस्थापक एवं काठमाडौ विश्वविद्यालय स्कुल अफ साईन्सका डिन डा. राजेन्द्र कोजुले अस्पतालमा आईतबारबाट उक्त परिक्षणका लागि सबै तयारी पुरा गरिएको बताए । यस अघि राजधानी र आसपासका क्षेत्रबाट समेत राजधानीको टेकुमा मात्रै परिक्षण गरिदै आएको थियो । काभ्रेको धुलिखेल अस्पतालमा परिक्षण शुरु भए पछि सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखा र काभ्रेका नागरिकहरुको परिक्षणमा सहज हुनेछ ।


तपाईको प्रतिक्रिया