मोडलिङ क्षेत्रमा स्थापित नाम हो, उरुषा जोशी । आधा दशकदेखि यही क्षेत्रमा सक्रिय छिन्, उनी । ‘मिस नेपाल कल्चर–२०१६’ बाट उनले मोडलिङ यात्रा सुरु गरेकी हुन् । उरुषाले आधा दशकमा टीजीआईएफ फेसन सो, भारतीय दूतावासको खादी नेपाल फेसन सोसहित आधा दर्जन सोमा मोडलिङ गरिसकेकी छन् ।

पछिल्लो समय ‘रेडियो जक्की’का रूपमा इमेज एफएम र भिजेका रूपमा इमेज च्यानलमा कार्यरत छिन् । एसियन लिडरसिप कन्फ्रेन्समा गत वर्ष नेपालका तर्फबाट उरुषा थाइल्यान्ड बैंककमा सहभागी भइन् । यसक्रममा उनलाई ‘एम्बेस्डर फर पिस’का रूपमा सम्मानित गरियो । उनी हाल एसेसिबल आर्टस एन्ड कल्चर नेपाल च्याप्टर (एसीसीएससी) को गुडविल एम्बेस्डरका रूपमा सेवारत छिन् ।

सन् २०१८ मा ‘मिस ग्रान्ड नेपाल इन्टरनेसनल’ उपाधिसमेत हासिल गरेर यही वर्ष म्यानमारमा सम्पन्न ‘मिस ग्रान्ड इन्टरनेसनल’मा सहभागी भइन् । ८० देशका प्रतिनिधि सहभागी प्रतियोगितामा उरुषा उत्कृष्ट २० भित्र पर्न सफल भएकी थिइन् । यिनै मोडलसँग गरेको संवाद :

0 मोडलिङमा लाग्ने प्रेरणा कसरी मिल्यो ?
ममीले नयाँ कुराका लागि जहिल्यै घच्घच्याउनुहुन्थ्यो । सोही क्रममा मिस नेपाल कल्चरमा सहभागी भएँ । त्यसपछि मिडियाले दिएको स्थानसँगै मिस नेपाल कल्चरका रूपमा परिचित भएपछि मोडलिङ यात्रामा पनि लागें ।

0 मोडलिङसँगै कार्यक्रम सञ्चालनतर्फ पनि लाग्नुको कारण ?
मोडलिङमा आउनुअघि नै तीन वर्षअघिबाट रेडियो कार्यक्रम सञ्चालन र उत्पादन गर्दै आएकी थिएँ । आवाजको शक्तिले जुनसुकै कुरामा पनि सकरात्मक परिवर्तन ल्याउनसक्छ भन्ने मान्यतासँगै म कार्यक्रम सञ्चानमा अघि बढें । जसका कारण माइक्रोफोन नै मेरो पहिलो प्रेम भयो । यही प्रेमले मलाई कोरियालगायतका देश यात्रा गरायो ।

0 माइक्रोफोनबाहेक युवासँगको प्रेम सम्बन्ध नि ?
करिअरमा फोकस भएकाले अहिलेसम्म त्यसका लागि समय पाएकी छैन ।

0 प्रेम गर्ने फुर्सद नभएको हो कि केटा नपाएको ?
मन पराउने हुनुहन्छ होला । तर, भेटाएकी छैन । वैवाहिक जीवनको जिम्मा मैले अभिभावकलाई नै दिएकी छु ।

0 अनि कसैसँग प्रेम बस्यो भने नि ?
त्यतिबेलै सोचौंला ।

0 मोडलिङ र कार्यक्रम सञ्चालनमध्ये कुन सजिलो ?
मोडलिङमा पछिल्लो समय सोजस्टपरका रूपमा प्रस्तुत हुने गरेकी छु । आफैंमा मेहनत गरेर यो स्थान पाएको हो । यता कार्यक्रम सञ्चालन मेरो पेसा हो । यसले मलाई जीवन्त बनाएको छ । त्यसैले दुवैलाई सँगै लैजाने पक्षमा छु ।

0 मोडलिङसँगै ब्युटिपेजेन्ट र कोरियोग्राफ्री गर्दा कतिको गाह्रो हुँदोरहेछ ?
कोरियोग्राफी पनि मोडलिङको एउटा पाटो हो । मैले प्रत्यक्ष अनुभव गरेर आएकाले अरूलाई सिकाउन सजिलो भएको छ । अहिलेसम्म २० भन्दा बढी ब्युटिपेजेन्ट कोरियोग्राफी गरिसकेकी छु । योसँगै पर्सनालिटी डेभलपमेन्ट कोच र मोटिभेस्नल स्पिकरका रूपमा पनि अघि बढेकी छु ।

0 मोडलिङ पेसामा भविष्य कस्तो देखिन्छ ?
आफ्नो कामलाई माया गरेर निष्ठापूवर्क लाग्यो भने जुनसुकै पेसामा पनि सफल भइन्छ । म यो पेसामा निष्ठापूर्वक लागेकी छु । त्यसैले मैले यसमा आफ्नो भविष्य उज्वल देखेकी छु ।

0 मोडल र मोडलिङको अवस्था नि ?
मेरो बुझाइमा आफ्नो क्षेत्रबाट सबैले राम्रो गर्नुभएको छ । पहिलाभन्दा यो क्षेत्रमा अवसर बढेकाले मोडलिङ अवस्था राम्रो हुँदै छ । यसलाई अझ राम्रो बनाउन मोडलको जिम्मा हो ।


तपाईको प्रतिक्रिया