विगत एक सातायता, विश्व नै कोरोना भाइरस (कोभिड–१९)ले आक्रान्त बनिरहेको छ । चीनबाट फैलिएको कोरोना भाइरस नियन्त्रण हुनुको सट्टा बढिरहेको छ । यसैले पनि विश्व खेलकुद गतिविधि ठप्पप्रायः छ । यसै वर्ष आयोजना हुने युरोकप, कोपा अमेरिका कपलगायतका ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित भइसकेका छन् ।

यसै वर्षलाई जापानमा आयोजना हुने तय भएको टोकियो ओलम्पिक २०२० हुने नहुने अन्योल नै रहेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले ओलम्पिक नसर्ने र निर्धारित मितिमै हुने बताइरहेका छन् । कोरोना भाइरसको त्रास बढिरहेको अवस्थामा खेलाडीहरूले पनि आफ्नो स्वास्थ्यबारे सम्बन्धित निकाय गम्भीर नभएको आरोप लगाइरहँदा आईओसीले भने टोकियो ओलम्पिक सार्ने कुनै योजना नभएको दोहो‍¥याएको छ ।

यहीबीच ग्रिसका खेलकुदमन्त्री स्पाइरस क्याप्रालसले एथेन्समा ओलम्पिक टर्च जापानका पूर्वपौडी खेलाडी इमोटो नाओकोलाई हस्तान्तरण गरेका छन् । इमोटो नाओको ओलमिप टर्चसहित शुक्रबार जापान आइपुग्नेछन् । जापानमा २६ मार्चमा ओलम्पिक टर्च -याली हुने तय छ । ओलम्पिक २४ जुलाईदेखि ९ अगस्टसम्म हुने तय छ ।

‘अहिले स्थिति असामान्य छ । त्यसका लागि संयमित उपायहरू अपनाउनुपर्छ,’ खेलाडीहरूले चर्को आलोचना गरेपछि आईओसीका प्रवक्ताले मार्क एडम्सले भने, ‘हामी खेलाडीलाई कुनै असर नगर्ने विकल्पबारे सोचिरहेका छौं । साथै, प्रतियोगिताको स्वाभिमान र खेलाडीको स्वास्थ्यबारे समेत हामी सचेत छौं । अहिलेको अवस्थामा कुनै पनि योजनाले काम नगर्न सक्छ ।’

यस्तै, ओलम्पिकका एक सदस्यले पनि आईओसीको निर्णयप्रति असन्तुष्ट जनाएको छ । उनले आईओसीको व्यवहार असंवेदनशील र गैरजिम्मेवारी रहेको बताउँदै यस भाइरसबाट मृत्युले गर्दा खेलाडी डराएका छन् र अभ्यास गर्न पनि इच्छुक छैनन् । यसैगरी, क्यानडाका आईओसी सदस्य तथा चारपटक आइस हक्कीमा स्वर्णपदक जितेका हेली वाइकन हाइजरले पनि चेतावनी दिएका छन् ।

उनले यो संकट ओलम्पिकभन्दा ठूलो भएको बताउँदै यस्तो संकटमा पनि आईओसीले ओलम्पिक आयोजना गर्नु भनेको असंवेदनशील र गैरजिम्मेवारी रहेको बताएका छन् । तर, आईओसीले लगातार ओलम्पिक आयोजना गर्ने भनेर ढिपी गरिरहे पनि बुधबार मात्रै टोकियोमा हुनुपर्ने जिम्नास्टिकको ओलम्पिक क्वालिफायर इभेन्ट रद्द गरेको छ । अघिल्लो दिन जापानकी ओलम्पिक समितिका उपप्रमुख कोरोना भाइरसबाट संक्रमित भएको पाइएको थियो । यसको बाबजुद आईओसीले डराउनुपर्दैन भनिरहेकोमा सबै आश्चर्यचकित भएको सञ्चारमाध्यमले जनाएको छ ।

ओलम्पिक पोलभल्ट च्याम्पियन कटरिन स्टिफानिडी र इंग्ल्यान्डकी हेपाथलोन खेलाडी कटरिन जोन्सन थोमसले जुलाई २४ बाटै ओलम्पिक सुरु गर्ने आईओसीको तयारीप्रति आपत्ति जनाएका छन् । यता, आईओसीकै एक अधिकारीले भने संक्रमणको त्रासबीच खेलाडीलाई तयारी अवस्थामा बस भन्नु मुर्खता भएको प्रतिक्रियासमेत दिएका छन् । ‘आईओसीले हाम्रो स्वास्थ्यमाथि खेलबाड गरिरहेको छ, साथै हाम्रा परिवार र सर्वसाधारणको स्वास्थ्यमा पनि, हामीलाई सधैं अभ्यास गर्नु भन्नुको अर्थ के ? चार महिनापछि होइन, हामीलाई अहिलेबाट संकटमा पार्ने काम भइरहेको छ ।’ ग्रिसकी सबैभन्दा सफल खेलाडी स्टेफानिडीले ट्वीट गरेकी छिन्, ‘टिममा रहेका अभ्यास गर्ने खेलको हकमा के हुन्छ ? स्विमिङ र जिम्न्यास्टिकमा के हुन्छ ? किनभने त्यहाँ सबै खेलाडीले एउटै सामानको बढी प्रयोग गरिरहेका हुन्छन् ।

खेलाडीको स्वास्थ्यमा सहनशीलता अपनाउनुपर्ने हो तर हामीलाई खतरामा पारिँदै छ ।’ यस्तै इंग्ल्यान्डकी जोन्सन थोम्सनले सम्बन्धित राष्ट्रहरूले खेल गतिविधिलाई बन्द गर्नु भन्दै निर्देशन दिइरहँदा आईओसीले खेलाडीलाई अभ्यासलाई निरन्तरता दिन आग्रह गर्नु त्यसको विपरीत हुने बताइन् । ‘मलाई निरन्तर अभ्यास गर्दा दबाब हुन्छ,’ उनले ट्वीट गरेकी छन्, ‘पहिलेकै जीवनशैलीलाई निरन्तरता दिन कठिन छ ।’

चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण हुनेको संख्या विश्वमा २ लाख नाघिसकेको छ । त्यही मृत्यु हुनेको संख्या करिब ८ हजार पुगिसकेको पनि जनाइएको छ । यस भाइरसको नयाँ केन्द्र युरोप हो । जसमा इटलीमा सबैभन्दा बढी प्रभावित भएका छन् । इटलीमा मर्नेको संख्या २ हजार ५ सयभन्दा बढी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया