हरेक मौसममा कपालको स्याहार गर्न जरुरी हुन्छ । थोरै बेवास्ता गर्नाले पनि कपाल झर्ने, टुक्रिने, रुखो हुने र कपालको चमकमा कमी आउने गर्छ । यसले गर्दा मानिसको सौन्दर्य र व्यक्तित्वमा समेत नकारात्मक असर पर्छ । त्यस कारण हरेक समयमा कपालको स्याहार गर्न जरुरी हुन्छ । हाम्रो दैनिकी र व्यस्त जीवशैलीका कारण पनि कपालमा धेरै खालका समस्या देखिन्छ । कपालको स्याहार कसरी गर्न सकिन्छ भन्ने विषयमा करिब ३ दशकदेखि सौन्र्दयको क्षेत्रमा काम गर्दै आएकी सौन्र्दयविद् एवं पल्स सलुनकी सञ्चालिका लक्ष्मी श्रेष्ठसँग गरेको कुराकानी :

कपालको स्याहार र श्रृङ्गार पनि महिलाहरुको सौन्र्दयसँगै जोडिएको हुन्छ । तर कपालको स्यहार गर्दा गर्दै पनि कपालमा धेरै समस्या देखिएको छ । अहिले प्रायको समस्या भनेको कपाल झर्ने , टुक्रने, कपालमा चायाँ पर्ने नै हो । यो समस्या हामीले प्रयोग गर्ने स्याम्पू र केमिकलले नै हो । पानी र धुलो र धुवाको कारण पनि कपालमा धेरै समस्या देखिन्छन् । यससँगै हाम्रो व्यस्त जीवनशैलीले पनि कपालमा समस्या देखा पर्छ । कपालको स्याहारको लागि कति समय दिन सक्छौँ भन्ने कुराले पनि फरक पार्छ । कपालको क्वालिटि अनुसार नै कपालको स्याहार गर्नुपर्छ । आफ्नो कपाल कस्तो छ ? वोइली हो कि ड्राई हो भन्ने कुरामा सबैभन्दा पहिले जानकारी राख्नुपर्छ । कपालको स्याहार गर्न सबैभन्दा गाह्रो हुने ड्राई कपाललाई नै हो । तर वोइलीमा पनि कपालमा पनि चिपचिप हुने समस्या देखिन्छ नै । आज नुहायो भोलि नै कपाल चिपचिप हुदाँ मान्छेलाई दिक्दारी लाग्छ ।

कपालको स्याहारमा तेल नै सबैभन्दा उपयोगी हुन्छ । तेलमा पनि जैतुनको तेल कपालको लागि फाइदाजनक छ । तोरीको तेल पनि राम्रो नै हुन्छ । तोरीको पिनाले पनि कपालको स्याहारमा राम्रो काम गर्छ । ड्राई कपालको लागि यो धेरै उपयोगी छ । त्यस्तै अन्डाको पहेँलो भाग पनि धेरै राम्रो हुन्छ । यसले कपाललाई प्रोटिन दिन्छ । ग्रान्ड गरेको अर्थात (पसेको) स्याउ र केराले पनि ड्राइ कपाललाई धेरै राम्रो गर्छ । यसले कपालमा साइन दिने काम पनि गर्छ । यो अभ्यास हप्तामा एक पटक गर्दा कपाललाई राम्रो बनाउँछ ।

वोइली कपालको लागि भने सिर्का निकै उपयोगी हुन्छ । सिर्कालाई पानीमा राखेर नुहाउनाले कपालमा भएको चिपचिपलाई हटाउँछ । कपालको प्रोटिनको लागि भनेर कपालमा तेल लगाउने गरिन्छ । तर तेल लगाउँदा आफ्नो कपालको क्वालिटी अनुसार लगाउनुपर्छ । वोइली कपाल भएकाहरुले तेल लगाउनु हुदैन । मेथीले पनि कपालमा भएको चिल्लोपनलाई हटाउने काम गर्छ । वोइली कपाल भएकाहरुले मन तातो पानीले नुहाउँदा नै राम्रो हुन्छ । नर्मल कपालको लागि भने चिसो पानी नै राम्रो हुन्छ ।

कपालको स्याहारको लागि मेहेन्दी
मेहेन्दी हर्बल हुने भएकाले यसले कपालको राम्रो स्याहार गर्छ । तर मेहेन्दी केमिकलयुक्त भने हुनुपर्छ । तर कलर गरेको कपलालाई भने यसले फाइदा गर्दैन । मेहेन्दी र कलर मिक्स गर्नु हुदैन । मेहेन्दीको पात कुटेर नै लगाएमा कपालको लागि भने त्यो झनै राम्रो हुन्छ । तुरुन्तै कलर आउने मेहेन्दी कपालको लागि राम्रो हुदैँन । मेहेन्दी भनेको हरियो रंगकै हुनुपर्छ । कपालमा कलर गर्न मन छ भने अमला भिजाएर त्यसको रस मेहेन्दीमा राखेमा त्यसले कपालमा कलर दिने काम गर्छ । त्यसले कपाललाई कालो बनाउँछ । कलरले मानिसलाई एलर्जी गर्न सक्छ । एलर्जी हुनेहरुले अमलाको रस प्रयोग गर्दा राम्रो हुन्छ । सेतो कपाल हुनेहरुलाई यसले धेरै राम्रो गर्छ । हर्रोबर्रो र सिर्कालाई पनि अमलामा मिसाएर लगाउँदा निकै फाइदाजनक हुन्छ ।

मेहेन्दीमा हर्बल हुने भएकाले यो पनि एक महिनाको अन्तरालमा लगाउँदा राम्रो हुन्छ । मेहेन्दी लगाउँदा पहिले एकदिन अघि मेहेन्दीलाई मनतातो पानीमा भिजाएर राख्ने र राम्रोसँग भिजेपछि, कपालमा लगाउनुपर्छ । मेहन्दीमा मेथीको पेस्ट राखेमा त्यसले टुक्रेको कपालको स्याहार गर्छ । यसले कपलालाई साइनिङ दिने काम पनि गर्छ । मेहेन्दी लगाएपछि त्यसमा सावर क्याप लगाउनुपर्छ । कपाललाई कन्डिसनर गर्ने हो भने २०÷२५ मिनेट राख्नुपर्छ । कलरका लागि हो भने एक घण्टापछि मेहेन्दी पखाल्नुपर्छ । कपालमा देखिएको समस्या भनेकै पानीले गर्दा नै हो । त्यस्तैगरि स्याम्पू र केमिकल भएका कलर पनि अर्को कारण हो । बाइक र स्कुटर चलाउनेहरुलाई भने हेल्मेटले गर्दा पनि कपालका धेरै समस्या देखिएको पाइन्छ । हेलमेटले कपाल (रौँ) मा हावा जान दिदैन । कपाल खुल्ला हुन नपाएपछि धेरै खालका समस्या देखिन्छन् । जस्तै चायाँ पर्ने, कपाल झर्ने, टुक्रने खालका समस्याको कारण पनि यहीँ नै हो । व्यस्त दैनिकीले गर्दा कपालको स्याहार पुग्दैन । दिनभरि कपाललाई डल्लो बनाएर राख्दा पनि कपालका धेरै समस्या देखिन्छ । कपलाको स्याहारको लागि एक महिनामा कपाल काट्ने गर्नुपर्छ । यसले कपलालाई फ्रेस बनाउँछ । दैनिक रुपमा समय मिलाएर कपाल कोर्ने बानीले पनि कपालमा स्याहार पुग्छ ।

आजभोलिको कपालको स्पाबाट स्याहार गर्ने गरिन्छ । यो नुहाउनु अघि र नुहाएपछि पनि गर्न सकिन्छ । कामकाजी महिलाहरुले भने छोटो समयमै पनि स्पा गर्न सक्छन् । स्पाम्पू लगाएर नुुहाएपछि , तातोपानीमा भिजाएको रुमालले कपाललाई बिस्तारै बिस्तारै तान्दै कपालको स्प ागर्न सकिन्छ । यदि फुर्सदमै हो भने कपाललाई मसाज गरेर स्पा गर्न सकिन्छ । यो पनि हप्ताको एक पटक गर्दा कपालमा स्याहार पुग्छ ।

कपालको स्याहार सम्बन्धि जानकारी :
स्टाइलिङ प्रोडक्ट प्रयोग गर्नु हुँदैन । कडाखालको रसायन मिसिएको स्याम्पुले केश ड्यामेज गर्छ । हेयर ड्रायरको प्रयोग पनि कम नै गर्नुपर्छ । यसबाट पनि केश सुख्खा तथा कमजोर हुन्छ । अल्कोहलयुक्त प्रोडक्ट प्रयोग गर्नु हुँदैन । स्ट्रेटनर्स वा हट आइरनबाट जोगिनुपर्छ । यसले पनि केशलाई सुख्खा बनाउँछ । त्यसकारण पनि सातामा एकपटक डिप कन्डिसनिङ ट्रिटमेट गराउनुपर्छ । यसले केशलाई हाइड्रेटेड राख्छ ।

प्रदुषणले पनि हाम्रो कपाललाई खराब बनाईरहेको छ । त्यसकारण पनि धुलो धुवाँबाट कपाललाई जोगाउन बाहिर निस्कदा ह्याट वा स्कार्फले केश कभर गर्नु उपयुक्त हुन्छ ।

धेरैलाई चाँयाको समस्याले सताईरहेको छ । ड्राई कपाल हुनेहरुलाई बढि यो समस्या देखिन्छ । यो समस्याबाट जोगिन कागतीको रसमा नरिवलको तेल मिसाएर स्काल्पमा १०–१५ मिनेटसम्म मालिस गरेर आधा घन्टापछि स्याम्पूले पखाल्नुपर्छ । यसका साथै कागतीको रस तथा दही मिसाएर बनाएको पेस्ट कपालमा लगाएर ४५ मिनेटपछि चिसो पानीले कपाल धुनुपर्छ । दहीले स्काल्प सफा गर्छ भने कागतीले चायाँ तथा मृत छाला हटाउने काम गर्छ ।

कपालमा पोशनको कमीले पनि धेरै समस्या देखिन्छ । कपालको पोशनको लागि एक गिलास काँचो दूधमा एक चिया चम्चा मह मिसाएर केशको जरादेखि टुप्पासम्म लगाएर २५ मिनेटपछि मनतातो पानीले स्याम्पु गर्दा केशले पोषण प्राप्त गर्छ ।

नरिवलको क्रिमलाई हल्का तताउने । त्यसलाई केशको जरादेखि टुप्पासम्म हल्का हातले मालिस गर्ने । तातो तौलियाले केश बेरेर एक घन्टाजति छोड्ने । त्यसपछि माइल्ड स्याम्पुले केश पखाल्ने । यसबाट केश चम्किलो देखिन्छ । त्यस्तै कपालको साइनिङको लागि मेथी पनि निकै उपयोगी हुन्छ । मेथीको दानालाई रातभरि भिजाएर राख्ने । बिहान त्यसलाई पिसेर केही थोपा तोरीको तेल मिसाई आधा घन्टासम्म मसाज गरेर मनतातो पानीले कपाल पखाल्नुपर्छ ।

एलोबेरा जेलमा कागतीको रसको केही थोपा मिसाउने । यसमा एक चम्चा नरिवलको तेल वा ओलिभ आयल पनि हाल्ने । केशको जरादेखि टुप्पोसम्म राम्रोसँग दलेर आधा घन्टापछि स्याम्पु गरेर कपाल पखाल्नुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया