काभ्रे (चौरीदेउराली) – जिल्लाको चौरीदेउराली गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । १५ देखि ६० बर्ष उमेर समुहका ९६.८३ प्रतिशत मानिस साक्षर चौरीदेउराली गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो । बिहीवार अध्यक्ष दिननाथ गौतमले गर्नुभएको प्रस्तावमा नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेल समक्ष प्रस्ताव पेश गरे पश्चात मन्त्री पोखरेलले गाउँपालिकालाइ साक्षर घोषणा गरेका हुन ।

साक्षर गाउँपालिका घोषणासभालाइ सम्बोधन गर्दै मन्त्री पोखरेलले अब स्थानीय सरकार पूर्ण साक्षर घोषणा गर्ने अभियानमा लाग्न आवश्यक रहेको भन्दै उनले भने, ‘मुलुक डिजिटल साक्षरतर्फ अगाडि बढिरहेको बेला अब गाउँ-नगरपालिका साक्षर मात्रै घोषणा गरेर समृद्ध नेपाल निर्माण नहुने बताए ।’ मन्त्री पोखरेलले अब तीन ऐन ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै सबै नेपालीहरुलाई सीप सिकाउनका लागि प्राविधिक र व्यावसायिक शिक्षा नीति ल्याउन लागिएको बताए ।

सो क्रममा मन्त्री पोख्रेलले अहिलेसम्ममा ५१ जिल्लालाई साक्षर घोषणा गरिसकेको र नेपालको साक्षरता ८२ प्रतिशत पुगेको बताउँदै आउने वर्षसम्ममा नेपाललाई साक्षर घोषणा गर्दै शिक्षित नेपाल बनाउने दिशामा मन्त्रिपरिषद्ले निर्णय गरिसकेको बताए । आगामी विसं २०८५ सालसम्ममा आधारभूत शिक्षा नलिने नागरिकले स्थानीय सरकारको सुविधा पनि प्राप्त नगर्ने र बैंकमा खातासमेत खोल्न नपाउने भएकाले स्थानीय सरकार पूर्ण साक्षर अभियानसँगै त्यसलाई निरन्तरता दिँदै सीपसँग जोडेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

उक्त कार्यक्रममा प्रतिनिधि सभाका सांसद गंगाबहादुर दोङ, बागमती प्रदेश सभा सदस्य रत्न ढकाल, भुम्लु गाउँपालिकाको अध्यक्ष गुमानध्वज कुवरलगाएतको उपस्थिती रहेको थियो ।


तपाईको प्रतिक्रिया