सारंगीमा फुलेका कमल

नेपाली समाज आधुनिकतामा गएपनि हाम्रा मौलिक बाजाहरु अझैपनि उत्तिकै लोकप्रिय छ । त्यसमा पनि सारंगीको लोकप्रियता अझ बढ्दो छ । गीत संगीतका वाद्यवादनमा धेरै परिवर्तन भएको देखिन्छ । आधुनिक, पफ, लोकदोहोरी सबै गीतमा सारंगीको स्थान बेग्लै हुन्छ । नेपालमा अहिले सारंगीको भविष्य राम्रो भएकाले सारंगीवाधकहरुको संख्या बढ्दै गएको छ । तर पेसा बनाएर सारंगी बोक्नेको संख्या न्यून भएको पाइन्छ । सारंगीलाई नै जिन्दगी बनाउनेहरुको भिडमा पछिल्लो समयमा एउटा चर्चित नाम हो, कमल कुमार विश्वकर्मा पनि ।

काठमाडौं, थानकोटका ५६ वर्षीय फणिराम विश्वकर्मा (कमलका बुबा)को दैनिकी गएको चार महिनादेखि सारंगीमा व्यस्त छ । कामको सिलसिलामा १५ वर्ष विदेशीएका फणिराम अहिले सारंगीमै रमाउँदै छन् । हरेक दिन उनको दैनिकी सारंगीबाटै सुरु हुन्छ । फुर्सद उनलाई पटक्कै मन पर्दैन । हातमा भएको सीप खेर जानु हुदैँन भन्ने उनको सोच छ । जाडोको समय भएकाले दिउँसो घामको पार लिदैँ सारंगी बनाउँछन् भने बिहान बेलुका सारंगीमा रंग लगाउँछन् । घरमा सांगितीक माहोल भएकाले उनलाई काम गर्ने थप उर्जा मिल्छ ।

बिदेसीनुभन्दा पहिले पनि फणिराम सारंगीकै काम गर्थे । सारंगीको सीप उनमा ४ दशक अघिदेखि नै थियो । गाउँमा खेल्दा खेल्दै जानेको सीपले आज धेरै सफल्ता दिएको उनी बताउँछन् । घर उनको बाग्लुङ, काठे गाउँपालिका वडा नं ३ धम्जा । सानैदेखि ¥याई ¥याई बज्ने सारंगीको धुनमा उनी असाध्यै रमाउथेँ । ‘गन्धर्व बाले बजाएको सारंगी सुन्दा सुन्दै मलाई पनि बजाउने रहर हुन्थ्यो,’ उनी सम्झिन्छन्,‘त्यतिबेला घरमा सारंगी बजाउन त के छुन पनि पाइदैनथ्यो । त्यो समयमा म त्यस्तै १०÷१२ वर्षको थिए होला, दई कक्षामा पढ्थे । किताबमा सारंगीको चित्र देखेर मलाई सारंगी बनाउन मन लाग्यो र काठमा बनाउन कोशिस गरे ।’ किताबको चित्र हेर्दै खेर गएको काठमा उनले सारंगीको आकार कोरे । जानी नजानी काठमा सारङगीको आकार बनाए । गन्धर्वसँग सारंगी बनाउन चाहिने अरु सामाग्री मागेर उनले सारंगी बनाए । सारंगी बनाउने र बजाउने उनको रहर पूरा भयो । अभ्यास गर्दै गएपछि आफूले राम्रा राम्रा सारंगी बनाएको उनले बताए ।

सारंगी बजाउदै कमल
सारंगी बजाउदै कमल

कसैले बनाउन आग्रह गरेमा उनले सारंगी बनाउँथे, नत्र यसैलाई व्यवसाय भने बनाएका थिएनन् । सारंगीको उनको कलालाई छोरा (कमल)ले भने व्यवसाय बनाएका छन् । फणिन्द्रले अहिले एक हप्तामा दुईटा सारंगी बनाउँछन् । ‘सीप हुनेलाई काम खासै गाह्रो छैन,’ उनले भने,‘ घरमा बसेर गर्न सकिने काम हो, काम पनि पहिलेभन्दा अहिले सजिलो भएको छ । यसको बजार पनि राम्रो हुदैँ गएको छ । विभिन्न ठाउँबाट अर्डर आउँछ ।’ बजारमा सारङ्गीको मूल्य १२ हजारदेखि १८ हजार रुपैयाँसम्म पर्ने उनी बताउँछन् । उनले बनाएको सारंगीको बजार व्यवस्थापन कमल गरिरहेका छन् । काममा परिवारका सदस्यहरुले साथ मिलेकाले धेरै सजिलो भएको फणिरामबताउँछन् । उनले अहिले सारंगी मात्र नभएर पञ्चे बाजाका वाद्यहरु पनि बनाउन सुरु गरेका छन् ।

कमलको जिन्दगी नै सारंगी भएको छ भन्दा फरक पर्दैन । उनी बिहानदेखि बेलुकासम्मै सरांगीमा व्यस्त हुन्छन् । विभिन्न रेकर्डिङ स्टुडियो, टेलिभिजनदेखि विभिन्न कार्यक्रममा उनी सारंगीमै व्यस्त हुन्छन् । उनले पछिल्लो समय सांगितिक क्षेत्रमा संगीतदेखि स्वर र गीत रचना समेत गर्दै आएका छन् । सारंगीलाई विशेष बनाएर उनले सारंगी युटुब च्यानल पनि सञ्चालन गरेका छन् । सारंगीको बजार व्यवस्थापन पनि उनी आफैले गरिरहेका छन् ।

अहिलेसम्म करिब ५ हजार गीतमा सारङ्गी रेटेको उनी बताउँछन् । ‘अहिले गीतका विभिन्न विधामा सारंगीको प्रयोग हुन थालेको छ,’ उनले भने, ‘कुनै समय विशेष गरेर लोक गीतका लागि मात्र सारंगीको प्रयोग हुन्थ्यो । लोक, पप, आधुनिक, ब्याटल जस्ता गीतका विधामा सारंगी बजाएको छु ।’ कमलले सारंगीलाई नै व्यवसाय बनाएको एक दशकभन्दा बढि भयो । सारंगीमा उनको रुचि अहिलको होइन, बाल्यकालदेखिकै हो । बुबाले सारंगी बनाएको आँडैमा बसेर कमलले हेरिरहन्थेँ । बुबाले सारंगी बनाएको र बजाएको हेर्दा हेर्दै उनले पनि बनाउन र बझाउन सुरु गरे । ‘अहिले जस्तो सारंगी बनाउन त्यति बेला सजिलो थिएन,’ उनले भने, ‘सामान जुटाउनै गाह्रो हुन्थ्यो । साथीहरुले सामान जुटाउन धेरै सहयोग गर्थे ।’ सारंगी बनाउन सिक्दा आफूले धेरै दुःख पाएको उनी सम्झिन्छन् । पढाईमाभन्दा पनि धेरै उनको ध्यान सारंगीमा नै हुन्थ्यो । सारंगीबाटै उनले धेरै अवसरहरु पाए । यसले सारंगीलाई व्यवसाय बनाउन हौसला दियो ।

सारंगीमा ठूलो भविष्य देखेर उनी बाग्लुङबाट २०६३ सालमा काठमाडौं प्रवेश गरे । कलकारहरुसँग उनको चिनजान बढ्दै गयो र उनीहरुबाट धेरै कुरा सिक्ने अवसर पनि पाए । ‘गाउँका चिनेका दाईहरुले रेकर्डिङ स्टुडियो लानुभयो, दिनभरी रेकर्डिङ स्टुडियोमा अरुले गीतका वाद्यवादन बजाएको हेरेर बस्थे,’ उनी सम्झन्छन्,‘ सारंगी बजाएको चाहीँ विशेष ध्यान दिएर हेर्थे, मेरो रुचिको विषय पनि भएर होला ।’ कमल स्टुडियोमा जाँदाजाँदै गीत सङ्गीतका संघसंस्थामा आबद्ध भए ।

सारंगीमा उनले राम्रो काम गर्न थालेपछि अग्रज कलाकारले खोजी गरेर आफूलाई गीतमा राखेको कमल बताउँछन् । पञ्चेबाजामा उनले कहिल्यै सारंगी रेटेका थिएनन् । बीबी अनुरागीले आफ्नो पञ्चेबाजाको गीतमा सारङ्गी बजाउन आग्रह गरे । पहिलो पटकमै पञ्चेबाजामा राम्रोसँग सारंगी बजाएको प्रतिक्रिया पाएको उनले सुनाए । सबैको साथ सहयोगले सारंगी यात्रामा यहाँसम्म आउन सकिएको उनले बताए ।