मुसा वर्ष शुरु, आज देशभर ल्होछार मनाइँदै

तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ ।  चन्द्रमासमा आधारित मञ्जुश्री पात्रो अनुसार आजदेखि सुँगुर वर्ष विदा भइ मुसा वर्ष शुरु हुने गर्छ । मञ्जुश्री पात्रो शुरु भएको २८५६औँ वर्ष पूरा भएको छ ।

ल्हो अर्थात वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणाली अनुसार गणना गरिने प्राचीन पद्धति हो । ल्होछारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको जानकारहरु बताउँछन् । सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रुपमा मनाउने मौलिक पर्व हो । यो हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन मनाइन्छ ।

हिजोबाट नै ल्होछार शुरु भए पनि आज मुख्य दिन हो । आज घरघरमा पूजापाठ, खानपीन, ठूलाबडाबाट टीका तथा आशिर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामुहिक रुपमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाउने प्रचलन छ । ल्होछारको अवसरमा आज काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होछारले विश्वशान्ति र भ्रातृत्व प्रवर्द्धनमा मदत गर्ने विश्वास व्यक्त गर्नुभएको छ । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताउनुभएको छ ।

ल्होछारको अवसरमा प्रधानमन्त्री केपी ओलीले शुभकामना दिँदै वर्तमान सरकार समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राखेर अघि बढेको र यस यात्रामा देशका सबै जातजाति, धर्म र सम्प्रदायको योगदान अपेक्षित रहेको बताउनुभएको छ । उहाँले विविध सांस्कृतिक परम्परा र संस्कृतिले नेपाललाई विश्वमा अलग पहिचान दिएको उल्लेख गर्नुभएको छ ।