काठमाडौं – सरकारले ‘भ्रमण वर्ष २०२०’ को उद्घाटन समारोहलाई भव्य बनाउने गरी सहभागिता जनाउन उपत्यकाका स्थानीय निकायलाई आग्रह गरेको छ ।

दैनिक जस्तो विभिन्न निकायहरुसँग छलफलमा रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार राजधानीका सबै पालिकासँग छलफल गरेको हो ।

छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हवाइ मार्गबाट आउने पर्यटकहरुलई आकर्षित गर्ने पहिलो गन्तव्य काठमाडौं उपत्यका भएकाले नगरपालिकाको ध्यान जानुपर्ने बताउनुभयो । नगरपालिकाहरुले ७ वटा विश्व सम्पदा सूचीमा परेका क्षेत्रलाई जोड्ने गरी साइकल लेन निर्माण गर्ने, शहरी सुन्दरता कायम गर्ने तथा राजधानीमा ‘भ्याली बाइ नाइट’को अवधारणालाई विकास गर्नुपर्ने उहाँको भनाइ छ । मन्त्री भट्टराईले २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गर्दा २० लाख पर्यटक भित्र्याउने मात्र नभई पर्यटन क्षेत्रको विकास र नयाँ पर्यटकीय गन्तव्यको पहिचान समेत गर्नुपर्ने उल्लेख गर्नुभयो ।

छलफलमा नगरपालिकाका प्रमुखहरुले आफ्नो क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न गरिएका विकासका विषयमा जानकारी गराएका छन् । काठामाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विदेशी पर्यटकहरुलाई आकर्षित गर्न नेपालमा कार्यक्रमहरु गर्ने भन्दा पनि विदेशमा रहेका मुख्य–मुख्य पर्यटकीय शहरहरुमा प्रचारप्रसार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले २०२० मा नेपाल भ्रमण गर्न आउँदा २०१९ मा भन्दा पर्यटकले के फरक पाउँछन्, त्यसको विषयमा पनि आफूहरु स्वयम् स्पष्ट हुनुपर्ने उल्लेख  गर्नुभयाे ।

ललितपुर माहानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुरको पर्यटकीय शहरमा पर्यटकको बसाइ लम्ब्याउन नगरपालिकाले शहरको सुन्दरता निर्माण तथा ऐतिहासिक सम्पदाको तस्बिर विभिन्न ठाउँमा राख्ने तयारी गरिएको जानकारी दिनुभयो ।

भ्रमण वर्ष २०२० को उद्घाटन जनवरी १ का दिन भव्य समारोहबीच दशरथ रंगशालामा दिउँसो ३ बजेदेखि गरिने भएको छ । काठमाडाैंका साथै प्रत्येक प्रदेशका राजधानीमा समेत कार्यक्रम गरी भ्रमण वर्षको शुरुवात गर्न लागिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया