भुम्लुको मुलखर्क भिमसेनस्थानमा २२ र २३ गते महोत्सव हुँदै

नारायण लामा / धुलिखेल – भूम्लु गाउँपालिकामा मुलखर्क भिमसेनस्थानमा साँस्कृतिक महोत्सव हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी कात्तिक २२ र २३ गते दुई दिने महोत्सव हुने आयोजकले जानकारी दिएका छन ।

काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नं. १ सापिङमा रहेको मुलखर्क भिमसेनस्थान मन्दिरमा ‘प्रथम मुलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव–२०७६’ हुने आयोजकले बताएका छन । महोत्सवमा धार्मिक, साँस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वबारे प्रचार गर्ने उद्देश्यले आयोजना गरिएको हो । देशको संघीय राजधानीबाट करिब ७० किमीको दुरीमा रहेको यस क्षेत्रको उचित प्रबद्र्धन र विकास गर्न सके धार्मिक पर्यटन एवं अन्य आन्तिरिक पर्यटनका लागि आकर्षक गन्तव्य बन्न सक्ने प्रचुर सम्भावना रहेको समारोहका संयोजक अनिलकुमार बुढाथोकीले बताए ।

हरियाली सुन्दरताका साथ भौगोलिक रुपले उचाई भुभागमा अवस्थित रमणीय भिमसेनस्थान क्षेत्रबाट सूर्योदय, सूर्यास्तको सुन्दर दृष्य साथै गणेश, जुगल, गौरीशंकार आदि हिमक्षेत्र, काभ्रे र सिन्धुपाल्चोक जिल्लाको भुभागहरुको नजिक रुपमा दुष्यावलोकन गर्न सकिने बताए । भिमसेनस्थान क्षेत्रमा व्यवस्थित रुपमा पर्यटकीय पर्वाधारको विकास गरी आम रुपमा प्रचार प्रसार गर्न सकिएमा महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुने अवस्था रहेको संयोजक बुढाथोकीले बताउनुभयो । यसै कुरालाई मध्यनजर गरी भुम्लुका स्थानीय संघ-संस्था, बुद्धिजीवि, समाजसेवीहरुको प्रयासमा स्थानीय सरकार (भुम्लु गाउँपालिका) को सहयोग, सरसल्लाह, परामर्श एवं स्वीकृतीमा भिमसेनस्थान प्रांगनमा २ दिने प्रथम मुलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव–२०७६ को आयोजना गरेको आयोजकले बताए ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको संगीतिक प्रस्तुति हुने छ भने स्थानीय उत्पादनहरुको विक्रि स्टल, अर्गानिक तयारी खाद्य पदार्थहरुको फुड स्टल रहनेछ ।