हे ! भन भन भाइ हो… पबजी हो

झण्डै वर्ष दिनपछि तिहार आयो । तिहारलाई विशेषगरी दिदीबहिनी र दाजुभाइको पर्व भनेर हेरिए पनि आफन्तसँगको भेटघाट र न्यास्रो मेटाउने एउटा अवसर पनि हो ।

एक वर्षसम्म नाकमुख देख्न धौ धौ दिदीबहिनी र दाजुभाइले भलाकुसारी गर्न पाउँछन् र न्यानो स्नेह साटसाट गर्न पाउँछन् । आफ्नोले स्रोतले भ्याएसम्म मिठोमसिनो खाने र रमाइलो गर्ने यसको अर्काे पाटो हो ।

म पनि दिदीको हातबाट सप्तरंगी टीका लगाउन गाउँतिर हान्निएँ । लक्ष्मीपूजाका दिन साँझतिर म घर पुगेँ । सबैतिर बजारबाट किनेर ल्याएका झिलिमिली बत्तीको बाक्लो उपस्थिति अनि माटोको पालामा घरमै कातेर तयार बनाएको बत्तीको सीमित उपस्थिति देख्दा लाग्थ्यो, संस्कृति र रीतिरिवाज धरापमा पर्दैछ ।

क्रमशः देउसी भैलो खेल्ने टोली आउने क्रम सुरु भयो । झण्डै तीन घण्टाको अवधिमा तीन समूहको भैली टोली देउसी खेल्न हाम्रो घरमा आइपुग्यो । ती समूहमा आउने सबै अन्दाजी २५ वर्षभन्दा माथिका थिए । म अचम्ममा परेँ । केही वर्ष अघिसम्म तँछाडमछाड गर्दै देउसी भैली खेल्न आइपुग्ने केटाकेटी एक जना पनि देख्दिनँ । रातभरि आएका टोलीमा एक जना केटाकेटी देख्न पाइएन ।

बेलुकाको खाना खाएर ओच्छ्यानमा के पल्टिन मात्र लागेको थिएँ माथिल्लो घरको एउटा कोठाबाट आवाज आयो– ‘नछोड् नछोड्, भाग्यो भाग्यो, दायाँ गल्लीतिर पस्यो, मार् मार्, त्यसलाई नछोड् ।’ लौ न के उल्कापात पर्‍याे भनेर म रनभुल्लमा परेँ । म त चाडपर्वको मौका छोपेर घरभित्र चोर पसेछ क्यारे भन्ने सम्झिएँ ।

केही बेरपछि माथिल्लो घरका काका चिच्याएको सुनेँ– ‘पख् त आज म यिनीहरुलाई छोड्दिन । होइन यो पबजीले पनि सत्यानाश पार्‍याे । चाडपर्वको बेलामा पनि मोबाइल एकछिन खाली राख्न नसक्ने ।’ धेरै नै हल्ला भएपछि काका दौडिएर कोठामा पुग्नु भयो अनि तिनीहरुको चर्तिकला देखेर तीन छक हुनुभयो । त्यसपछि उहाँ भाटा खोज्दै गोठतिर दौडिएर जानुभयो । काका हातमा सिमलीको गतिलो लौरो लिएर आइपुग्दासम्म सबै केटाकेटी गायब, एक हुल भएर कर्सा पछाडि पुगिसकेछन् ।

धन्न लक्ष्मीपूजाको भोलिपल्ट चाहिँ देउसी भैलीको एउटा समूह हाम्रो घरमा देउसी खेल्न आइपुग्यो । त्यो समूहमा चाहिँ २० वर्ष मुनिका केटाकेटीहरुको उपस्थिति थियो । अनि मैले मनमनै सोच्न थालेँ, ‘लौ अचम्म यिनीहरुलाई त पबजीबारे केही पनि थाहा छैन क्यारे, कि यिनीहरुसँग मोबाइल छैन या स्टोरेज कम छ अथवा पबजी सपोर्ट गर्दैन ।’

संस्कृतिको संरक्षण गर्ने आफैले नै हो, अरु कसैले गरिदिएर हुने होइन । घरघरबाट एक–एक जना उभिनुपर्छ । संस्कृति धरापमा पर्यो भनेर नारा लगाउने अनि वर्षको एक दिन पनि पबजी छोड्न नसक्ने हो भने संस्कृति अतिक्रमण भयो भनेर रोइलो गाउनु व्यर्थ छ । सबैले आ–आफ्नो क्षेत्रबाट संस्कृतिको विकासमा एउटा इँटा भए पनि थप्नैपर्छ ।

ती केटाकेटीहरुलाई तिहार भनेको पटाका पड्काउने, सेल रोटी/मिठाइ/मसला खाने, नयाँ नयाँ लुगा लगाउने, झिलिमिली बत्ती बाल्ने, तासको पत्ता तेर्साउने, लङ्गुर बुर्जा र जुवाको खालमा पैसा थाप्ने, ठूला ठूला स्पीकरमा हिन्दी र अङ्ग्रेजी गीत घन्काउनेसम्म मात्र थाहा छ । देउसी भैलो भन्यो भने कुन चराको नाम हो यो भन्ने रिप्लाइ आउँछ ।

उनीहरुलाई तिहार सुरु भएको र सकिएको मात्र थाहा हुन्छ । यी बीचमा के हुन्छ, केही थाहा हुँदैन । गाउँभरका साथीहरु बटुल्यो, एउटा कोठामा थुप्रियो अनि, ओइ हान् हान्, नछोड् नछोड् भन्यो सक्कियो । अनि सरकारलाई गाली गर्‍याे, पबजी जिन्दावाद भनेर बस्यो हाइसञ्चो ।

अनि दशैँ आओस्, तिहार आओस् या जुनसुकै चाडपर्व आओस्, आएको र गएको पत्तै हुँदैन । ujyaaloonline