काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भैरहवा विमानस्थल सञ्चालनका लागि जर्मनीको म्युनिख विमानस्थलसँग कुरा अन्तिम चरणमा पुगेको दावी गर्नुभएको छ ।

सरकार-सरकार अर्थात जी टु जी मोडलमा विमानस्थल सञ्चालन गर्ने निर्णय भए अनुसार म्युनिखले आवेदन दिएको र उसँग धेरै नजिक रहेर कुराकानी भैरहेको भट्टराईले बताउनुभयो । आएका प्रस्तावमध्ये म्युनिखको प्रस्ताव ठोस छ, उनीहरुसँगको कुरा धेरै नजिक पुगेको छ, उहाँले भन्नुभयो ।

भैरहवा विमानस्थल यसै वर्षको डिसेम्बरसम्म तयार भैसक्ने ठेकेदारले जानकारी गराएको मन्त्री भट्टराईले बताउनुभयो । यस्तै भैरहवा विमानस्थलका लागि एअर रुटको विषयमा भारतसँग सहमति भैसकेको उहाँको दावी छ । तर अब बन्दै गरेका अरु विमानस्थलको लागि भैरहवाभन्दा पश्चिमको एअर रुट दिन भारतलाई आग्रह गरिएको र छलफल भैरहेको उहाँले जानकारी दिनुभयाे । भैरहवाको लागि कुरा मिलेको छ, नेपालगनञ्ज र महेन्द्रनगरको रुट दिन भारतसँग कुरा भैरहेको छ,चाँडै टुंगिएला, उहाँले भन्नुभयो ।

मंसिरभित्र त्रिभुवन विमानस्थलको अध्यागमन विश्वकै राम्रोमध्ये एक हुने

मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको व्यापक सुधार भएको बताउनुभएको छ । उहाँले विश्वका राम्रा मानिएका विमानस्थलमा भएका जस्तै उपकरण र सेवा दिनेगरी काम भैरहेको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, ‘कात्तिकदेखि मंसिरसम्म विमानस्थलको अध्यागमन कार्यालको सुधार हुनेछ, विश्वकै राम्रा अध्यागमनमा भएकै उपकरण र प्रक्रिया अब हामी लागू गर्छाैँ ।’ उहाँले भिसा प्रणाली सहज बनाउने दावी गर्दै अनलाइन आवेदनसँगै भुक्तानी पनि अनलाइनबाटै गर्न मिल्ने बनाउने बताउनुभयो ।

मन्त्री भट्टराईले युरोपेली युनियनले नेपाली जहाजलाई कालोसूचीमा राखेको विषयमा यूरोपमा रहेका नेपाली दूतावासमार्फत कुरा भैरहेको पनि जानकारी दिनुभयो । युनियनको सर्तअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायमा छुट्याउने गरि कानुन निर्माण भैरहेको बताउनुभयो । यस्तै मन्त्री भट्टराईले नेपाल वायुसेवा निगमको सुधार छिट्टै हुने पनि दावी गर्नुभयो ।

‘नेपाल एअरलाइन्स थला परेको अवश्य हो तर यसलाई हामी मर्न दिन्नौँ, यसको सुधार गर्ने नै हो, यसको लागि प्रधानमन्त्रीसँग पनि सल्लाह भएको छ’, मन्त्री भट्टराईले भन्नुभयो । निगम सुधारको लागि अध्ययन समितिले पनि सुझावसहित प्रतिवेदन दिइसकेकाले त्यसै अनुसार काम गर्ने उहाँको दावी छ ।

काम गर्न नसक्नेले नेतृत्व छाडे हुन्छ

भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक ल्याउने प्रतिबद्धताबाट सरकार पछि नहटेको र नहट्ने उहाले बताउनुभयाे । २० लाख पर्यटक ल्याउन भ्रमण वर्ष २०२० को सचिवालय  नै बनाइएको तर अपेक्षाअनुसार काम नभएको मन्त्री भट्टराईको दावी छ । भ्रमण वर्षका कार्यक्रम संयोजक सुरज वैद्यतर्फ संकेत गर्दै मन्त्री   भट्टराईले भन्नुभयो, ‘हाम्राे लक्ष्य पूरा गर्न उहाँहरुले नेतृत्व लिनुभएको हो, नसक्ने भए ठाउँ खाली गर्नुपर्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया