रातभरी जागेर जनतालाई ढुक्कले निदाउने बनाएका छौं : सापकोटा

कुनै पनि प्रहरीले रकम लिने र कानुन विपरित काम गर्याे भने मलाई मेरो व्यक्तिगत फोन नंम्बर ९८५१२३५५५ र जिल्ला प्रहरी कार्यालय काभ्रेको फोन नं ९८५१३५५५५५ मा फोन गरेर सिधै जानकारी गराउन सक्नु हुन्छ । सो सूचना म गोप्य रुपमा राखेर तत्कालै रिजल्ट पनि तत्कालै दिनेछु ।

जयराज सापकोटा,प्रमुख
जिल्ला प्रहरी कार्यालय काभ्रे
अधिकाशं निजामती कर्मचारीका लागि राजधानी काठमाडौ पछिको रोजाइको जिल्ला हो काभ्रे । त्यो रोगवाट नेपाल प्रहरी पनि ग्रसितनै छ । नेपाल प्रहरी भित्र पनि काभ्रे आउन अलि कसरत नै गर्नु पर्छ भन्छन्, सिनियिर प्रहरी अधिकृतहरु । यसको खास कारण भनेको राजधानी संगै जोडिएको नजिकैको जिल्ला । यसो हेर्दा, मोफसल तर नजिकैको । के कति कसरत गरेर काभ्रे आए जयराज सापकोटा, त्यो उनको कामले निर्धारण गर्छ । उनी काभ्रेमा प्रमुख भएर आएको भर्खरै तीन महिनामात्रै पुरा भएको छ । उनी पछिल्लो समय निक्कै एक्सनमा समेत देखिएका छन् ।

२०५४ सालमा प्रहरी निरिक्षकका रुपमा नेपाल प्रहरीमा प्रवेश गरेका सापकोटाले विभिन्न जिल्ला र ट्राफिक महाशाखाको मुख्य जिम्मेवारमा बसेर काम गरेको अनुभव छ । प्रहरीले दिने सेवा, चाडवाड विशेष सुरक्षा योजना, राजमार्गका सुरक्षा चुनौती प्रहरीमा थुप्रै छन् । उनलाइ काभ्रे जिल्लाको सुरक्षा चुनौती बाहिरबाट देखे भन्दा निक्कै फरक अनि जटिल पनि लाग्छ । चीनसँगको तातोपानी नाका सञ्चालन देखि विपि राजमार्गबाट भारत सम्म हुने तस्करीहरुको सामाना गर्न हम्मे हम्मे हुन्छ । अवैध उद्योग, हत्या, आत्महत्या, महिला हिंसा पनि प्रहरीका चुनौती हुन् । विशेष गरी चाडवाडको सिजनमा विभिन्न चोरहरुको समुह नै जिल्लाका मुख्य बजारमा सक्रिय हुने गरेका यस अगाडीका घटनाले पनि देखाएका छन् । साइवर अपराध समस्याको रुपमा रहेको छ । यो प्रहरीका लागि ठुलो चुनौती भएको देखिन्छ ।

यी चुनौती पार लगाउने हिम्मत गरेर काभ्रेको प्रमुख भएका सापकोटाले दावी गर्दै आएका छन् । उनै सापकोटासंग जिल्लामा भएका सुरुक्षा चुनौती र भावि योजनाका बारेमा गरेको कुराकानी :

० काभ्रेमा आउनु भएको तीन महिनाको समयमा के–के काम गर्नु भयो ?
राजधानी नजिकै रहेको जिल्ला काभ्रे हेर्दा सुगम देखिएपनि यहाँ धेरै विकट क्षेत्रहरु रहेका छन् । काभ्रेमा म जिल्ला प्रहरी प्रमुख भएर आएको तीन महिनाको समयमा सुधारका प्रयासहरु गरेको छु । मलाई विभागले कति समय जिम्मेवारीमा राख्छ । त्यो समयमा काभ्रेली जनतालाई ढुक्कले निदाउने अवस्था सृजना गराउने प्रयास रहनेछ ।

० काभ्रेमा खास समस्या के रहेको छ ?
काभ्रेको सबैभन्दा ठूलो समस्या भनेको सामाजिक विकृती विसंगतीनै हो । यसवाट उब्जिन सक्ने घटनाहरुनै प्रमुख समस्याको रुपमा रहेका छन् । काभ्रेमा महिला हिंसाको घटनाहरु,बालबालिकाहरु बिरुद्ध हुने अपराधहरु, घरेलु हिंसाका घटनाहरु, मदिरा सेवन गरेर उत्पन्न हुने घरायसी झैझगडाहरु प्रमुख रहेका छन् ।
काभ्रेका सबै भुगोलमा उम्रने गाँजाहरुको कारणले युवा तथा बालबालिकाहरु त्यसमा प्रभावित भएर हुने सक्ने घटनाहरु काभ्रेमा प्रमुख रहेका छन् । त्यसका साथै सवारी दुर्घटना पनि समस्याको रुपमा रहेका छन् ।

० जिल्ला प्रहरी कार्यालय काभ्रेलाई तपाईले अवसर र चुनौतीका रुपमा कसरी लिनु भएको छ ?
मेरो करियरमा धेरै जिल्लामा जाने, ट्राफिक प्रहरीमा रहेर काम गरेको अनुभव छ । राजधानी नजिकैको जिल्ला त्यहाँ हुने अपराधसँगै अपराधी लुक्ने जिल्लामा काम गर्न सहजसँगै अप्ठारो समेत रहेको छ । हाम्रोमा जनशक्तिको कमी,भौतिक स्रोत र साधनको अभाव भएपनि हामीले उपलब्ध जनशक्तिको आधारमा काम गरिरहेका छौ । हाम्रो क्षेत्राधिकार भित्र शान्ति सुरक्षालाई सक्षम रुपमा राख्न सकेका छौ । हाम्रो समस्या भनेको राजमार्गकै हो । हामीले दुर्घटनाका धेरै समस्या रहेका छन् । ती समस्याहरुको समाधान गराउनको लागि हामीले काम गरेका छौ । बलात्कार, महिला हिसाका घटनाहरु कम गराउन काम गरिरहेका छौ ।

हामीले समुदाय प्रहरी साझेदारी ,महिला हिंसा न्यूनिकरणका लागि जनप्रतिनिधीसँग मिलेर काम गरिरहेका छौ । हामी चेतनामूलक कार्यक्रम गर्ने र अपाराध भएपछि अपराधी खोज्न हिड्ने भन्दा पनि अपराधनै कसरी कम गर्न सकिन्छ भनेर काम गरिरहेका छौ ।

समस्या छ भनेर हामी चुप लागेर बसेका छैनौ । हामीले नियमित रुपमा गर्ने सवारी,चेकजाँच, समुदाय प्रहरी साझेदारी कार्यक्रम संचालन गरिरहेका छौ । खास गरेर काभ्रेमा गरेर हुने घटनाहरुलाई विश्लेषण गरेर हामीले त्यसको निराकरण कसरी गर्ने भनेर उपायकोे खोजी गरेका छौ । हाम्रोमा गत बर्षकोभन्दा मुद्धाहरु घट्दो अवस्थामा रहेको छ । हामीले अबका दिनहरुमा यस्ता घटनाहरुलाई थप हुन नदिनको लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत समुदायसँगै मिलेर विभिन्न क्षेत्रमा सचेतनामूलक कार्यक्रमहरु संचालन गरेका छौ । हामीले समुदायका विद्यालयहरु,युवा समुह, महिला समुहसँगै बालबालिकासँग मिलेर सामुदायिक साझेदारी कार्यक्रम संचालन गरेका छौ । हामीले स्थानीय तहसँग मिलेर अपराध कम गर्न प्रयासको थालनी समेत गरेका छौ । त्यसका लागि स्थानीय सरकारले साझेदारी समेत गर्नु भएको छ । बिहिवार मात्रै पनि काभ्रेको भुम्लु गाँउपालिकाले त्यहाँका प्रहरीचौकीलाई मोटरसाईकल हस्तान्तरण गरेको छ ।

चाडपर्वहरु नजिक आएको समयमा अझ सुरक्षा अवस्थालाई मजबुत बनाउनु पर्ने भएकाले हामीले त्यसतर्फ समेत ध्यान दिएका छौ । खास गरेर सडक सुरक्षालाई अझ मजबुत बनाउने अवस्था रहेको छ । हाम्रो उत्तरी नाका चीनको नाका दशै अगावै खोल्ने भएकाले त्यसवाट हुने सक्ने कृयाकलाप रोक्नको लागि हामीले सुक्ष्म ढंङ्गवाट काम गरिरहेका छौ । यसका अलावा समाजमा हुने संम्भावित जोखिम कम गर्नको लागि नियमित रुपमा गस्ती पेट्रोल गर्ने, समुदायमा पुगेर नागरिकसँग अन्तरकृया कार्यक्रम आयोजना गर्ने कार्यमा हामी कृयाशिल बनेर लागेका छौ । समाजमा हुने अशान्ति कम गर्दै जनचेतना जगाउँदै शान्ति कायम गराउने प्रयासमा हामीले अघि बढ्ने योजना बनाएका छौ ।

० चाडपर्वमा हुने चोरी तथा आपराधिक घटना कम गर्न प्रहरीले कस्तो योजना बनाउँदै छ ?
अपराध न्यूनिकरणको लागि अपराध घटेपश्चात प्रहरी पुग्ने कुरा छँदैछ । तर अपराध घट्न नदिन राजमार्गको सुरक्षा कसरी गर्न सकिन्छ भनेर काम गरिरहेका छौ । दुर्घटना न्यूनिकरण, चोरीलाई कसरी निरुत्साहित गर्न सकिन्छ योजना बनाउने काम भैरहेको छ ।

हामी प्रहरी एक्लैले मात्र अपराध नियन्त्रण लिन नसक्ने भएकाले हामीले सबै क्षेत्रको सहयोग लिएर काम गरिरहेका छौ । हामीले विद्यालयस्तरदेखि समुदायस्तरसम्मका सचेतना कार्यक्रम संचालन गरेका छौ । हाम्रो दायित्व शान्ति सुरक्षा कायम गराउने हो । तर सबैको सहयोगले मात्रै सामाजिक रुपमा शान्ति कायम हुन्छ । अपराध हुँदैन । त्यसका लागि हामी सबैको सहयोग लिएर अपराध कम गर्ने प्रयासमा छौ । विशेष गरेर ठूला घटनाहरु, ठूला–ठूला चोरीका घटनाहरु, संगठित अपराधहरु मैले नेतृत्व लिएपछि काभ्रे जिल्लामा भएका छैनन् । हुन सक्ने संम्भावित घटनाप्रती हामी निक्कै सजक र सचेत छौ । हाम्रो जिल्लामा सामान्य खालको चोरीका घटनाहरु रहेका छन् ।

सडक बालबालिकाहरुले केही बिजुलीका ट्रान्सफर्मरहरुमा तार चोरी गर्ने गरेका छन् । त्यो निक्कै मंहगो भएपनि निक्कै सस्तो मूल्यमा बेचिरहेका छन् । त्यसलाई कमी कसरी गर्न सकिन्छ भनेर हामीले प्रयास थालेका छौ । त्यस बाहेक घरमा कोही नभएको समयमा घर फोरेर चोरी हुने गरेका छन् । त्यसका लागि म सबै काभ्रेबासीहरुलाई के अनुरोध गर्न चाहन्छु भने आफूले छाडेर जाने घरमा राम्रोसँग ताला लगाउने र प्रहरीलाई खबर गर्नुपर्छ । पसलहरु, बैंक वित्तिय संस्थाहरु चोरीहरु हुन सक्ने भएकाले हामीले त्यसलाई कडा सावधानी अपनाएका छौ ।

० सवारी साधनहरुभित्र हुने चोरीहरुलाई कसरी नियन्त्रण गर्नुहुन्छ ?
बसमा धेरैजसो हुने भनेको पाकेटमारी हो । त्यसका लागि सबैभन्दा पहिला यात्रु आफै चनाखो बन्नु पर्छ । आफूले आफूलाई सुरक्षित लागेको सवारी साधनको प्रयोग गर्नु आवश्यक रहेको छ । त्यसका लागि चाडपर्वमा हामीले सादा पोशाकमा समेत प्रहरी खटाउने काम गरेका छौ । नियमित अनुगमन गर्ने काम गरेका छौ ।

० सामाजिक संञ्जालको प्रयोगवाट समेत चोरीका घटनामा बृद्धि भएको हो ?
अहिले हामीलाई सामाजिक संञ्जालले समेत धेरै कुरा राम्रो दिएपनि चोरी र अपराध हुने कुरालाई प्रोत्साहन दिने गरेको छ । घरमा ताला लगाएर स–परिवार युरोप भ्रमणमा भनेर पोष्ट गरेको घरमा चोरी भएका छन् । त्यसैले हामीले हाम्रो कारणले पनि चोरीका घटनामा बृद्धि भएका हुन् । हामी सानोभन्दा पनि सानो कुरा पनि सामाजिक संञ्जालमा राख्ने गरेकाले चोरीका घटनामा बृद्धि भएको हो ।
दशै तिहारको अवसरमा हामी घुम्न निस्कने गरेका हुन्छौ । घुम्न निक्लिएको फोटो सामाजिक सञ्जालमा राखेको कारण समेत अपराध घट्न सक्छन् । त्यसमा हामी निक्कै चनाखो बन्न आवश्यक रहेको छ ।

० चाडपर्व नजिकदै गर्दा प्रहरीले अलिक धेरै देखाउन खोज्यो भन्ने आरोप पनि लाग्छ नी ? अघिपछि केही पनि नगर्ने अनि चाडपर्वमा मात्रै धेरै गरेको जस्तो देखाउन खोजेको हैन ?
हामीले सबै समयमा काम गर्ने गरेका छौ । तर सामान्य अवस्था र विशेष अवस्थामा धेरै कुराको फरक हुन्छ । सामान्य अवस्थामा समेत काम भैरहेको हुन्छ । तर चाडपर्वको समयमा अलि धेरै सकृयता देखाएन भने दुर्घटना हुन सक्छ । त्यसैले समाजमा अपराध हुनु पूर्वनै प्रहरीको सकृयता राम्रो बिषय हो जस्तो लाग्छ । हामीले चाडपर्वको मुखमा देखाउन गरेको हैन सबैले यो कुरा बुझ्नु आवश्यक रहेको छ । तर प्रहरीले तपाइहरुकै सुरक्षाको लागि गरेको चेकजाँचलाई दुख दियो भन्न मिल्दैन ।

० प्रहरी व्यापारीबिच साठगाठ हुन्छ भन्छन् नी ?
त्यस्तो केही पनि छैन । जिल्ला प्रहरी कार्यालय काभ्रेले अपराधी, आपराधिक मनोवृत्ति भएकाहरुसँग तस्करी,गुण्डागर्दी गर्नेसँग हामी सम्बन्ध विस्तारको कल्पना समेत गर्न सक्दैनौ । त्यो आरोप हो । हामीले साना ठूला जस्तोसुकै अपराधी हुन् । राजनीतिक संरक्षणमा लुकेकाहरु हुन् । अपराध गरेको छ र अपराधमा संम्लग्न रहेको छ भने कानुनी कठघरामा ल्याउने छौ । काभ्रेमा केही समय अघि अख्तियारले छापा मारेर केही प्रहरीलाई नियन्त्रणमा लिएर मुद्धा समेत चलायो । त्यो दुभाग्र्यपुर्ण घटना हो । एकदुईओटा घटनाहरुलाई लिएर प्रहरी व्यापारीबिच साठगाठ हुन्छ भनेर आरोप लगाउनु खासै न्याय संगत समेत हुँदैन ।

प्रहरीले प्रशासनिक क्षेत्रमा काम गर्दा कसैसँग आशा गरेर समेत काम गरिदैन । हामीले निस्वार्थ भावनाले काम गरिरहेका हुन्छौ । मेरो कार्यकालमा केही भएको प्रमाण ल्याउनु भयो भने म आफू पनि मेरा मातहतका प्रहरीलाई कारवाही गर्न तयार छु ।  हामीले सबैसँग मिलेर मात्रै सुरक्षा गतिविधी गर्न सक्छौ । हामीले व्यवसायीसँग के कुराको आशा गर्न सक्छौ भने सुरक्षाको लागि प्रचारात्मक सामाग्री बनाउँदा मात्रै सहयोग मागेका हुन्छौ । फ्लेक्स र होडिङ बोर्डको सहयोग रहला । तर हामी सुरक्षा प्रदान गर्नको लागि हामी कसैसँग केही कुरा माग गर्दैनौ ।

० जिल्लामा आउने वित्तिकै खानी र क्रसरमै अनुगमन हुने अनि केही समयपछि रोकिन्छ किन होला ?
क्रसर र खानीलाई व्यवस्थित बन्ने काम भएका छन् । स्थानीय तहलाई अधिकार प्रदान गरिएको छ । अनुगमनको जिम्मेवारी जिल्ला समन्वय समितिको छ । प्रहरीको भुमिका भनेको सम्बन्धित निकायले हामीलाई निर्देशनको आधारमा भएका छन् । हामीले एक्लै अनुगमन गरेको छैन । सम्बन्धित निकायको निर्देशन पालना मात्रै गरेका छौ । हामीलाई त्यो अधिकार समेत छैन । यो हामीलाई लगाएको कहिल्यै प्रमाणित नहुने आरोप मात्रै हो । प्रहरीले एक्लै गएर कसैलाई धम्काउने गरेको छैन । शून्य सहनशिलताको अवस्थामा छौ ।

० जनशक्तिको अवस्था कस्तो रहेको छ ?
हाम्रो जनशक्तिको अवस्था एकदमै नाजुक रहेको छ । हाम्रो जिल्लामा कुल ५ सय ८० जनशक्ति हुनु पर्नेमा २ सयको कमी रहेको छ । यो खाली भएको कारणले भएको हो । राजिनामा खाली भएर दरबन्दी पुर्ती नभएको कारणले समस्या सृजना भएको छ । जनशक्तिको कमी भएको कारणले हामीले दैनिक रुपमा कार्यसम्पादन गर्नु पर्ने काम हुन सकेको छैन ।

० के के अप्ठारो परेको छ कार्य सम्पादनको लागि ?
हुनु पर्ने जनशक्ति नभएपछि हरेक चौकीमा काम गर्न समस्या परेको छ । १३ जना दरबन्दी भएको चौकीमा ५ जना प्रहरी बसेका छन् । ५ जनाले सारा गाँउलाई गस्ती गर्नु पर्ने अवस्था रहेको छ । पाँच जनाले गस्तीसँगै कार्यालय सुरक्षा समेत गर्न अप्ठारो रहेको छ । यो समस्या ५÷७ महिनामा समाधान हुने विश्वास लिएको छु ।

० काभ्रेमा अरनिको राजमार्ग र बिपी राजमार्ग रहेको छ ? यो राजमार्गवाट हुन सक्ने अपराध रोक्न जिल्ला प्रहरी कार्यालयले के योजना बनाएको छ ?
हामीले दैनिक चेकजाँच गरेका छौ । हामीले सम्बन्धित चौकी मार्फत गर्नु पर्ने सबै चेकजाँच गरेका छौ । त्यसमा दैनिक रुपमा अरनिको राजमार्ग र बिपी राजमार्गमा चेक भैरहेको छ । हामीले अवैध रुपमा आएका सामान बरामत भएको छैन ।

दशैको समयमा त्यस्ता सामान आउन सक्ने भएकाले दशै तिहार लक्षित सुरक्षा योाजना बनाएर काम गरिरहेका छौ । हामीले अब दशै तिहारमा प्रहरीको संख्या बढाएर सुरक्षाको प्रत्याभुती दिलाउने छौ ।  जिल्ला प्रहरी कार्यालय काभ्रे आम नागरिकहरुलाई ढुक्क भएर चाडपर्व मनाउन अनुरोध गर्दछ । हामीले हजुरहरुको सुरक्षा प्रदान गर्नेछौ ।

० काभ्रेमा दिएको सुरक्षामा सन्तुष्ट हुनुहुन्छ ?
जती काम गर्नु पर्ने हो । त्यो काम गर्न सकिएको छैन होला । काम भनेको कुरा अझ राम्रो काम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । अहिले सम्म ठूला घटना घटेको छैन । एकाध बाहेक सबै कामहरु सन्तोषजनक काम भैरहेको छ ।

० तपाईका मातहतका प्रहरीचौकी,जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयवाट कैफियत भएमा कसरी सिकायत गर्न सकिन्छ ?
हेर्नुहोस प्रहरीले जनताको सेवा गर्ने हो । जनतालाई ढुक्क भएर निदाउन सक्ने वातावरण सृजना गर्ने सक्नुनै एक असल प्रहरीको कर्तव्य हुन जान्छ । हामी देश र जनताको सुरक्षाको लागि काम गर्ने भनेर यो पेशामा आबद्ध भएका हौ । प्रहरीले नजानेर समेत गल्ती गर्नुहुन्न । अझ जानेर गल्ती गर्ने प्रहरीलाई उसले गरेको गल्तीको आधारमा कारवाही गर्न सकिन भने म जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुख भएको अर्थ रहन्न । प्रहरीले एक रुपैया समेत लियो भने त्यो कारवाहीको भागिदार हुन्छ ।

मेरो मातहतको कुनै पनि प्रहरीले रकम लिने र कानुन विपरित काम ग¥र्याे भने मलाई मेरो व्यक्तिगत फोन नंम्बर ९८५१२३५५५ र जिल्ला प्रहरी कार्यालय काभ्रेको फोन नं ९८५१३५५५५५ मा फोन गरेर सिधै जानकारी गराउन सक्नु हुन्छ । सो सूचना म गोप्य रुपमा राखेर तत्कालै रिजल्ट पनि तत्कालै दिनेछु ।

० प्रहरीचौकीहरु अझै पनि टहरा र पाटीमै बसेका छन् ? तिनीहरुलाई भवन निर्माण कहिलेसम्म गर्नुहुन्छ ?
हेर्नुस् प्रहरीको सबैभन्दा समस्या भनेको भवनहरुको अभाव होे । हामीले आवश्यक रहेको भवनहरुको माग गरेका छौ । प्रहरीको भवन बनाउँदा आवश्यक जग्गा आवश्यक पर्ने भएकाले जग्गाको माग स्थानीय सरकारसँग गरेका छौ । जग्गाको प्राप्ती हुने भएपछि यो बर्षमात्रै हामीले इलाका प्रहरी कार्यालय बनेपा र डाँडापारिको प्रहरी कार्यालयको भवनको बजेट विनियोजन भैसकेको छ ।
हामीले जग्गा पाएसँगै भवनहरु निर्माण गर्नेछौ । काभ्रेका धेरै प्रहरीचौकीहरु भाडामा बस्ने अवस्था रहेको छ । यो बिषय परिस्थितीमा रहेर पनि हाम्रा प्रहरीहरुले उच्च मनोवलका साथमा काम गरिरहनु भएको छ । क्रमिक रुपमा हामीले भवनसँगै सवारी साधनहरुको समेत व्यवस्थापन गर्नेछौ ।

० अन्त्यमा  ?
हामी सबै मिलेर काभ्रे जिल्लालाई शान्ति सुरक्षा राम्रो भएको जिल्लाको रुपमा विकास गराउने हो । त्यसमा प्रहरीलाई आवश्यक सूचना दिएर सहयोग गर्नु हुन अनुरोध छ । हामी तपाइको सुरक्षाको लागि दिनरात नभनी सेवा प्रदान गर्नेछौ ।