होमस्टेले फेरिएको पात्लेखेत

(सुरज श्रेष्ठ) धुलिखेल – काभ्रको धुलिखेलबाट करिब १२ कि.मी पार गरेपछि सुन्दर अनि रमणिय स्थल पात्लेखेतमा पुगिन्छ । केही वर्ष यता यो ठाउँ निकै चर्चामा आएको छ । यहाँका प्राकृति सौन्र्दय र भूगोलले गर्दा पनि पर्यटकीय गन्तव्य बन्दै आएको छ । पात्लेखेतको यहीँ विशेषताले बाहय र आन्तरिक दुवै पर्यटकलाई लोभ्यएको छ ।

पात्लेखेतको डाडाँगाउमा पात्लेखेत सामुदायिक होमस्टे छ । १३ घर धुरी रहेको यस होमस्टेमा पहुना कहिल्यै टुट्दैनन् । विगत ८ वर्षदेखि यस होमस्टेले पर्यटन क्षेत्रमा मात्र टेवा पु¥याएको छैन, यस क्षेत्रको भौतिक पूवाधार विकासमा सहयोग गरेको स्थानीय बताउँछन् । ‘होमस्टेले यहाँ धेरै क्षेत्रमा परिवर्तन गराएको छ, एक स्थानीय भन्छिन्,’ हामीलाई राम्रोसँग बोल्न समेत आउँदैनथ्यो । होमस्टे आएपछि पर्यटकहरुसँगै बोलीचाली गर्न थालेपछि हामी पनि अलि जान्ने भयौँ जस्तो लाग्छ ।’

केही वर्ष अघिसम्म चुलो चौकोमा सिमित हुने त्यहाँका महिलाहरु अचेल आतिथ्य सत्कारमा व्यस्त छन् । विदेशीले अंग्रेजीमा केही सोधी हाले भने अलमल्ल पर्ने उनीहरु अहिले उनीहरुसँगै गफगाफ गर्ने र आफ्नो बारेमा केही भन्न सक्ने भएका छन् । अहिले महिलाहरुमा भएको प्रतिभा बाहिर आउन थालेको छ । पहिले मेलापात र घाँस दाउरा गर्दा मात्र उनीहरुमा भएको प्रतिभा प्रस्फुटन हुन्थे । अहिले न त मेलापात उनीहरुका गीत सुनिन्छन् न त घाँस दाउरामै । तर अहिले त्यहाँका महिलाहरु होमस्टेमा आबद्ध भएदेखि उनीहरु आफूसँग भएको प्रतिभा पर्यटक माझ प्रस्तुत गर्ने गर्छन् । आफूसँग भएकोल सीप र कला पनि पर्यटकहरुलाई सिकाउने गरेको होमस्टेका कोषाध्यक्ष कमली तामाङ बताउँछिन् ।

अरुभन्दा यहाँ एउटा नौलो कुरा के छ भने, यहाँ आएका पर्यटकले नेपाली जीवनशैलीको बारेमा व्यवहारिक ज्ञान आजर्न गरेर फर्कछन् । उनीहरुले विशेष गरेर टपरी बनाउने सीप सिक्ने, दुध दुहुन सिक्ने, घाँस काट्न, डोको बोक्न, तरकारी खेतीका बारेमा लगायत नेपाली जीवनशैलीको बारेमा व्यवहारिक ज्ञान आर्जन गर्ने छन् । ‘उनीहरुले यहाँ व्यवहारिक ज्ञान आर्जन मात्र गर्दैनन् सामाजिक कार्यमा पनि सघाउँछन्,’ होमस्टेका संयोजक एवं होम स्टे एशोसिएसनका प्रदेश नं ३ का सदस्य नारायण बहादुर लामाले भने,‘ यहाँको विकास निमार्ण कार्यमा पनि उनीहरु सघाउँछन् । बाटो, घाटो, शैचालय, विद्यालय निमार्णका क्षेत्रमा उनीहरुले काम गर्ने गर्छन् ।’

त्यसकारण पनि यो ठाउँमा होम स्टे मौलाउँदै छ । होमस्टेले समुदायलाई पनि विकास गराएको छ । विदेशी र स्वदेशी पर्यटकको आगमनले धेरै क्षेत्रमा परिवर्तन भएको होमस्टेका अध्यक्ष एवं होम स्टे एसोसिएसनका केन्द्रिय अध्यक्ष केशव प्रसाद बडालले बताए । उनका अनुसार यहाँका स्थानीयले पर्यटकलाई धेरै कुरा सिकाएका छन् र पर्यटककहरुबाट पनि उनीहरुले धेरै कुरा सिक्न पाएका छन् । विदेशी पर्यटककहरुसँगकको अन्र्तक्रियाले यहाँका स्थानीयहरुको क्षमतामा बृद्धि हुनुको साथै अतिथि सत्कारमा समेत परिवर्तन आएको छ । ‘पर्यटनले पनि ऐतिहासिक संरचना र संस्कार संस्कृतिको जर्गेना गर्ने बताउँदै उनले भने,‘ पर्यटकहरुले यहाँ सिकेको कुरा आफ्नो ठाउँमा गएर पनि प्रस्तुत गर्ने हुदाँ यहाँका रीतिरिवाज,कला संस्कृतिको पनि प्रचार भईरहेको छ । संस्कृतिको आदन प्रदान भईरहेको छ ।’ वार्षिक १५ सय विदेशी र ८ सय आन्तरिक पर्यटक भित्रिने होमस्टेले जनाएको छ । होम स्टेका अनुसार त्यहाँ विशेष गरे अमेरिका, ताइवान, नेदरल्याण्ड, जापान लगायतका देशहरुबाट विदेशी पर्यटकहरु आउने गर्छन् ।